• ८ मंसिर २०८२, सोमबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउन आह्वान

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, मङ्सिर ८ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।

मन्त्रालयले साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाउँदै सबै निकायलाई लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्यताका साथ मनाउन आह्वान गरेको छ ।

मन्त्रालयअन्तर्गत लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख महिला विकास अधिकृत ममता विष्टले मन्त्रालय अन्तरर्गतका सबै निकायलाई परिपत्र गर्दै हरेक वर्ष जस्तै यस वर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गर्नुभएको हो ।     

उक्त अभियान देशभर तीनै तहका सरकार, विद्यालय, सङ्घसंस्था र सरोकारवाला निकायहरूको सहभागितामा मनाउन आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले मन्त्रालय र मातहातका निकायमा विभिन्न कार्यक्रम सञ्चालन गरी अभियानलाई सफल बनाउन मन्त्रालयले अनुरोध गर्नुभएको छ । 

मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भनेर तय गरेको छ ।

अभियानको मुख्य उद्देश्य लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने रहेको छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको अभियान दिवसको रुपमा मनाउँदै आइरहेको छ ।