• ३१ असार २०८१, सोमबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

भूउपग्रहमा आधारित प्रणालीको अध्ययन हुँदै

blog

काठमाडौँ, जेठ ३० गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भूउपग्रहमा आधारित प्रणालीको सम्भाव्यता अध्ययन अघि बढाइएको छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि जडान गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले झन्डै एक अर्ब रुपियाँ खर्चेर जडान गरेको आइएलएस उपकरण अन्तरदेशीय उडानमा देखिएको समस्याका कारण सञ्चालनमा आउन नसकेपछि यसको विकल्पमा भूउपग्रहमा आधारित आरएनपी–एआर प्रविधि जडान गर्ने तयारी भइरहेको छ ।

गौतम बुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आरएनपी–एआर प्रविधिबाट पनि आइएलएस प्रविधिजत्तिकै कमजोर भिजिबिलिटीमा उडान अवतरण गर्न सकिने छ । 

उहाँले भन्नुभयो, “विमानस्थलमा जडान भएका उपकरणको पहुँच भारतीय भूमिमा पर्ने समस्याका कारण नयाँ प्रविधि जडान भएर पनि सञ्चालनमा ल्याउन नसकेपछि त्यसको विकल्पमा आरएनपी–एआर प्रविधि जडानबारे अध्ययन थालेका छौँ । आरएनपी–एआर प्रविधिका लागि जमिनमा कुनै पूर्वाधार बनाउनु नपर्ने र अन्तर्राष्ट्रिय उडानका जहाजमा अनबोर्ड नै हुने भएकाले उडान विधि बनाए मात्रै पुग्छ । यसमा कुनै खर्च पनि लाग्दैन ।”

आरएनपी–एआर प्रविधि आन्तरिकतर्फका उडानमा प्रयोग नहुने र अन्तर्राष्ट्रियतर्फका जहाजलाई मात्रै काम गर्ने उहाँले बताउनुभयो । आरएनपी–एआर प्रविधि सञ्चालनका लागि प्राधिकरणले उडान विधि बनाउने र सम्बन्धित विमान कम्पनीले विमानचालकलाई तालिम र सम्बन्धित नियामक निकायबाट उडानको स्वीकृति दिए मात्र पुग्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यो विमानस्थलमा उडान अवतरणका लागि हाल परम्परागत (भिओआर डिएमई) पद्धति अनुसार एक हजार आठ सय मिटर दृश्य क्षमता चाहिन्छ । आरएनपी–एआर प्रविधि लागु भएमा आइएलएस जत्तिकै आठ सय मिटरभन्दा कम दृश्य क्षमतामा उडान अवतरण गर्न सकिने भएकाले यसबारे गृहकार्य गरिरहेका छौँ ।”

प्राधिकरणले तयार पारेको आइएफआर प्रोसिड्युर अनुसार यो विमानस्थलमा जडान भएको आइएलएस उपकरणको पहुँच भारतीय भूमिमा परेका कारण दुई वर्षदेखि उपकरण सञ्चालनमा आउन सकेको छैन ।

नेपालको आइएफआर प्रोसिड्युरमा न्यूनतम एक नटिकल माइलदेखि अधिकतम दुई नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको छ । भारतीय पक्षले अन्तरदेशीय उडानको अन्तर्राष्ट्रिय मापदण्डविपरीत कायमै राखेको अवरोध हटाउन सरकारी तवरबाट समेत पहल भए पनि अड्चन कायमै छ ।

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि विसं २०७९ जेठ २ गते सञ्चालनमा आएको यो विमानस्थलमा हालसम्म अन्तर्राष्ट्रियतर्फ ३६ हजार ९५६ यात्रुले ओहोरदोहोर गरेका छन् ।

विमानस्थल सञ्चालनका लागि वार्षिक आठ करोड ८१ लाख रुपियाँ खर्च हुने र दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान आवश्यक पर्छ । बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्न सक्ने भनिएको यो विमानस्थलमा यात्रु अभाव र मौसम खराबीका कारण देखाउँदै अन्तर्राष्ट्रिय हवाई कम्पनी आकर्षित हुन सकेका छैनन् । 

दृश्य क्षमता, धावनमार्गको अवरोधलगायतका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजसमेत भैरहवामा अवतरण नभई भारततर्फ डाइभर्ट हुँदै आएका छन् ।

 

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।