• १२ असार २०८१, बुधबार

लापसे गर्ने छ चालक पक्राउ

blog

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २३ गते । अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा पुतलीबजार नगरपालिका –४ नौडाँडालगायत सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको बताउनुभयो । ड्रग टेस्ट किटले लापसे गरे-नगरेको चेकजाँचका क्रममा १८ जना सवारीसाधन चालकमध्ये छ जना चालकले लापसे गाँजा सेवन गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको डिएसपी रानाले बताउनुभयो । 

पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय टिपर चालक गुमनबहादुर दर्लामी, पुतलीबजार नगरपालिका वडा नं. ३ का ३८ वर्षीय बसचालक किरणबहादुर हमाल, २७ वर्षीय अटो चालक अमन अलि मिया, वडा नं. ७ का २९ वर्षीय अटो चालक दिलीपसिंह ठकुरी, वडा नं. १ का ४२ वर्षीय ट्याक्सी चालक राम श्रेष्ठ र वडा नं. ७ का ३८ वर्षीय जिप चालक मङ्गलबहादुर दर्जी रहेको डिएसपी रानाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट लापसे गरी सवारीसाधन चलाउने चालकहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको डिएसपी रानाले बताउनुभयो । 

यस अधि पनि पटक पटक प्रहरीले लापसे गर्ने चालक तथा सहचालकलाई पक्राउ गर्दै आएको छ ।