अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । पृथ्वीराजमार्गको दमौली–डुम्रे खण्डको अवरोधलाई जिल्ला प्रशासन कार्यालयले बल प्रयोग गरेर हटाएको छ ।
तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले गरेको अवरोधलाई प्रशासनले हटाएको हो ।
लामो समय बन्दा हुँदा यात्रुलाई समस्या परेकाले बल प्रयोग गरेर राजमार्ग सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । घटनास्थल व्यास नगरपालिका–१ मुसेखोलामा स्थानीय जम्मा भएका दिउँसो दुई बजेदेखि नै बन्द गरेका थिए । प्रशासनले साँझ ६ बजे बल प्रयोग गरेर हटाएको हो । आन्दोलनकारीले कारबाही र उचित क्षतिपूर्तिको माग राखेका छन् ।
दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल माटो थुपार्न लगाउनेलाई कारबाही र क्षतिपूर्तिको सुनिश्चित हुनुपर्ने माग पीडितको छ । घटनाको छानबिन र अनुसन्धान गरी छानबिनको नतिजा अनुसार प्रचलित कानुन बमोजिम दोषीलाई हदैसम्मको सजाय र मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग सुचारु गरिएको भए पनि सोमबार रातिबाट यातायात सूचारू गरिएपनि माग पुरा नभएको मङ्गलबार दिउँसोबाट यातायात बन्द गरेका थिए ।
व्यास नगरपालिका–१२ कमलबारी निवासी इन्जिनियर कैनीलाई चालकले ब्याक गरेर मारेको भन्दै स्थानीय तथा व्यास नगरपालिकाका कर्मचारी आन्दोलित भएका थिए।
डुम्रेबाट दमौली जाँदै गरेको बा. प्र. ०१ –००१ नम्बरको पानी ट्याङ्कर र सोही दिशातर्फ आउँदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो दुई बजे ठक्कर दिँदा इन्जिनियर कैनीको मृत्यु भएको थियो ।