• १३ साउन २०८१, आइतबार

कास्कीका स्थानीय तहका खर्च निराशाजनक

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ १५ गते । आर्थिक वर्ष २०८०/८१ मा कास्कीका स्थानीय तहको खर्चको अवस्था निराशाजनक देखिएको छ । आवको डेढ महिना मात्र बाँकी रहँदा अधिकांश पालिकाको बजेट आधा मात्र खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका अनुसार पोखरा महानगरले तीन अर्ब ८० करोड ७३ लाख ३१ हजार खर्च गरेको छ । त्यसमध्ये चालुतर्फ दुई अर्ब आठ करोड ८६ लाख ३५ हजार र पुँजीगततर्फ एक अर्ब ७१ करोड ८६ लाख ९६ हजार खर्च भएको हो । यो ५३.७९ प्रतिशत हो । यो वर्ष महानगरको चालु बजेट तीन अर्ब २८ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ तीन अर्ब ८९ करोड ६९ लाख ५० हजार छ ।

महानगरका वित्त महाशाखा प्रमुख जयराम पौडेल यसपालि ७० प्रतिशतभन्दा बढी खर्च हुने अवस्था नरहेको बताउनुहुन्छ । पोखरा महानगरले चालु आवमा आन्तरिक आम्दानी दुई अर्ब २७ करोड हुने अनुमान गरेकोमा आइतबारसम्म करिब ९० करोड मात्र सङ्कलन भएको छ । राजस्व बाँडफाँटबाट पनि अनुमानितभन्दा आधा मात्रै रकम प्राप्त भएको उहाँले बताउनुभयो । गत वर्ष महानगरले बजेटको ६६ प्रतिशत खर्च गरेको थियो । 

कास्कीका पाँच स्थानीय तहमध्ये मादी गाउँपालिकाले ५२ प्रतिशत बजेट खर्च गरेको छ । रुपा गाउँपालिकाले साढे १० महिनामा चालुतर्फ १९ करोड २१ लाख १६ हजार र पुँजीगततर्फ दुई करोड ४७ लाख खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका कोष नियन्त्रक चन्द्रशेखर सापकोटाले माछापुच्छ«े गाउँपालिकाले यो अवधिमा ३७ करोड ८९ लाख ७८ हजार खर्च गरेको जानकारी दिनुभयो । 

कास्कीको अन्नपूर्ण गाउँपालिकाको यो वर्ष ६४ करोड ६४ लाख ९० हजार बजेट छ । यसमध्ये चालुतर्फ २८ करोड ८८ लाख ९४ हजार र पुँजीगततर्फ १३ करोड ६५ लाख ५४ हजार बजेट खर्च भएको देखिन्छ । कास्कीका एक महानगर र चार गाउँपालिका सबैले अनुमानित आन्तरिक आम्दानी सरदर आधा गर्न सफल भएका छन् भने राजस्व बाँडफाँटबाट पनि बजेट आउँदा योजना प्रभावित हुने र दायित्व अर्काे वर्षलाई रहने अवस्था देखिएको छ ।