• ३ असार २०८१, सोमबार

तापक्रम सन्तुलनमा हिमालको महत्वपूर्ण भूमिका

blog

काठमाडौँ, जेठ ११ गते । हिमाल र हिमालको स्वच्छ पानीले विश्वव्यापी तापक्रम सन्तुलनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्नेगरेको हुँदा हिमाल संरक्षणको विषय विश्व समुदायको एजेण्डा भएको कुरालाई स्वीकार गरिएको छ । दुई दिनसम्म चलेको हिमाल, मानव र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सो स्वीकार गरिएको हो ।  

हिमाल र हिमालमा विद्यमान प्राकृतिक स्रोत मानव सभ्यताको विकास र जीविकोपार्जनका महत्वपूर्ण स्रोत भएको कुरालाई पनि विज्ञ, वैज्ञानिक तथा अध्यता सहभागी भएको सो अन्तर्राष्ट्रिय सम्मेलन उपलब्धिपूर्ण भएको बताइएको छ । 

यति महत्वपूर्ण भूगोलको पारिस्थितीकीय प्रणालीलाई पछिल्ला दिनमा जलवायु परिवर्तनले आक्रान्त पारिरहेको भन्दै हिमाली क्षेत्रमा देखिएको सङ्कटलाई समाधानतिर लैजानुपर्ने कुरामा सम्मेलनले जोड दिएको छ । 

सम्मेलनले पर्वतीय मुलुकका समस्याहरु केवल पर्वतीय मुलुकका मात्र नभएर यसको प्रभाव तल्लो तटीय टापु मुलुकसम्म पुगिरहेको कुरालाई स्वीकार गर्दै यसले  विश्वव्यापी रूपमा दूरगामी प्रभाव पार्न सक्नेतर्फ सचेत हुन र थप क्षति हुन नदिने कुरामा कदम चाल्न विश्व समुदायलाई सम्मेलनले आग्रह गरेको छ ।  

सम्मेलनले जलवायु सङ्कटलाई सम्बोधन गर्न र हिमाली वातावरणको संरक्षण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको कुरालाई प्रमुख रुपमा उठाएको छ । सम्मेलनले  ‘समरी अफ दि चियर’ सार्वजनिक गर्दै विकासोन्मुख देशहरूको वित्तीय खाडल कम गर्न जलवायु वित्तलाई तत्काल सम्बोधन गर्न आवश्यक रहेको कुरामा जोड दिएको छ ।   

वैज्ञानिक, विज्ञ तथा अध्येता सम्मिलित सम्मेलनले विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न अझ सम्भव छ भन्दै यसका लागि प्रभावकारी रुपमा आवश्यक सबै कामको थालनी गरिहाल्न ढिलाइ गर्न नहुने कुरामा जोड दिएको छ । यस्तो कामलाई निकै महत्वाकांक्षी र सामूहिक कार्यको आवश्यकता भएको कुरामा पनि सम्मेलनले स्पष्ट पारेको छ ।  

विश्वको तापक्रमलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न अझ सम्भव छ भन्दै यसका लागि प्रभावकारी रुपमा आवश्यक सबै कामको थालनी गरिहाल्न ढिलाइ गर्न नहुने कुरामा जोड दिएको छ ।

सम्मेलनले पर्वतीय एजेन्डालाई अगाडि बढाउँदै विश्वव्यापी सहयोग र क्षेत्रीय साझेदारीको आवश्यकतालाई जोडदार ढङ्गले उठाएको छ । हिमालको मुद्दा कुनै एक देश र भेगको नभ क्षेत्रीय र अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा प्रमुख विषय बनाएर छलफल र बहस गर्न पनि सम्मेलनले आग्रह गरेको छ । 

सम्मेलनले स्वीकार गरेका प्रमुख सिफारिसका बुँदामा हिमाललाई साझा मुद्दा बनाउने समझदारीलाई समृद्ध बनाउन, जलवायु वित्तको पहुँच र वितरणलाई गति दिन र विकास लगानीको संरक्षण गर्न क्षेत्रीय साझेदारी र विश्वव्यापी सहयोगको आवश्यकता महसुस गरेको छ । 

हिमाली अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई कम गर्न अनुकुलन, न्यूनीकरण लगायतका कामहरु गर्न विश्वव्यापी सहयोग प्राप्त गर्ने विभिन्न माध्यमको परिकल्पना सम्मेलनले गरेको छ । त्यसका लागि विशेषज्ञ सञ्जालको स्थापनालाई जोड दिएको छ । 

पर्वतीय मुलुकको तर्फबाट बलियो वार्ता टोली निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । हिमाल र समुन्द्रको सम्बन्ध बारेमा पर्याप्त वैज्ञानिक अध्ययन, अनुसन्धान हुनुपर्ने, एजेण्डा मिल्ने मुलुकसँग हातेमालो गर्नुपर्ने र त्यस्ता मुलुकबाट समर्थन प्राप्त गर्न कोशिस गर्नुपर्ने लगायतका कुराहरु गर्न सम्मेलनले सिफारिस गरेको छ । 

२३ मुलुकका वैज्ञानिक, जलवायु विज्ञ, सरकारी अधिकारीको सहभागिता रहेको सम्मेलनले टापु मुलुकहरु आफ्ना समस्या उजागर गर्न सङ्गठित भएझै पर्वतीय मुलुकबिच पनि साझा मुद्दामा ऐक्यबद्धता हुनुपर्नेमा जोड दिएको छ ।