अर्लियन्स (फ्रान्स), मङ्सिर ४ गते । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमता परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् ।
कोभिड-१९ खोपमार्फत विश्वभर चर्चित बनेको एमआरएनए प्रविधि अहिले क्यान्सरविरुद्धको नयाँ आशाका रूपमा उदाउँदै छ । एमआरएनए अणुले शरीरका प्रत्येक कोषमा डिएनएबाट आनुवंशिक सन्देश बोकेर विशिष्ट प्रोटिन उत्पादन गराउँछन् । “क्यान्सरको हकमा, यही सन्देशले बिरामीको शरीरलाई ट्युमरविरुद्ध प्रभावकारी रूपमा लड्ने क्षमता दिन सक्छ”, फ्रान्सेली अनुसन्धान संस्थान आइएनएसइआरएम अन्तर्गतको एआरटी प्रयोगशालाका परियोजना प्रबन्धक दिमित्री सिम्जाकले भन्नुभयो ।
एमआरएनए सन् १९६० को दशकमै खोजिएको भए पनि कोभिड महामारीका बेला यस प्रविधिले नयाँ पुस्ताका खोप अत्यन्त छिटो विकास गर्न मद्दत गरेपछि विश्वव्यापी रूपमा चर्चित बन्यो । यस महत्त्वपूर्ण उपलब्धिका कारण सन् २०२३ मा चिकित्साशास्त्रमा नोबेल पुरस्कारसमेत प्रदान गरिएको थियो । अहिले एमआरएनएसम्बन्धी अनुसन्धानको ठुलो हिस्सा क्यान्सरविरुद्ध खोप विकासमा केन्द्रित छ ।
“तर यो प्रविधिसँग धेरै अन्य सम्भावना छन्”, एआरटी प्रयोगशालाका प्रमुख चान्टल पिचोन भन्नुहुन्छ, “प्रतिरक्षा प्रणाली सुदृढ पार्न, क्षतिग्रस्त कोषको पूर्ति गर्न, आनुवंशिक तथा दुर्लभ रोग लक्ष्य गर्न वा एलर्जी नियन्त्रणमा पनि यसको उपयोग हुन सक्छ ।” पिचोनका अनुसार विश्वका अग्रणी फार्मास्युटिकल कम्पनीदेखि स्टार्टअपसम्मका संस्थाले हाल २०० भन्दा बढी एमआरएनए क्लिनिकल परीक्षण सञ्चालन गरिरहेका छन्, जसको ठुलो हिस्सा अमेरिका, चीन र जापानमा केन्द्रित छ ।
तथापि, फ्रान्ससँग पनि एमआरएनए प्रविधिमा कार्यरत उत्कृष्ट आधारभूत अनुसन्धान टोली रहेको उहाँ बताउनुहुन्छ । एआरटी प्रयोगशालामा वैज्ञानिकले विभिन्न प्रकारका एमआरएनए तयार गरेर तिनीहरूको विषाक्तता र प्रभावकारिताको जाँच गरिरहेका छन् । प्रायः प्रयोगशालामा उत्पादन गरिने आरएनए परीक्षण ट्युबमै निर्माण हुन्छ, जुन महँगो प्रक्रिया हो र धेरैजसो अमेरिकी कम्पनीको पेटेन्टमुनि पर्छ ।
यसै कारण प्रयोगशालाको अर्को टोलीले खमीर प्रयोग गरी आरएनए उत्पादन गर्ने लागत-कम विधि विकास गरिरहेको छ, जसले खर्च १० देखि ५० गुणासम्म घटाउन सक्ने अपेक्षा गरिएको छ । तर यस्तो आरएनए औषधी उद्योगको उच्च मापदण्ड पूरा गर्न पर्याप्त शुद्ध र सुरक्षित हुन आवश्यक छ ।
उता, अर्को विशेषज्ञ टोलीले अग्नाशय (प्यान्क्रियास) क्यान्सरको उपचारमा नयाँ विधि खोजिरहेको छ-जसको निदान भएपछि बाँच्ने दर ऐतिहासिकरूपमा अत्यन्त कम रहँदै आएको छ । “सन् २००० मा पाँच प्रतिशत रहेको यो दर आज १० प्रतिशत पुगेको छ”, एआरटीका ग्यास्ट्रोएन्टेरोलोजिस्ट बिराने बेये भन्नुभयो । उहाँका अनुसार दुई दशकको यो सानो प्रगतिले परम्परागत उपचार-जस्तै केमोथेरापी वा इम्युनोथेरापी-ले राम्रोसँग काम नगरेको देखाउँछ ।
फ्रान्सेली वैज्ञानिकले अहिले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गर्दै नवीन उपचारप्रति आशा जगाइरहेका छन् । “अत्यन्त आक्रामक क्यान्सरसँग जुध्न प्रतिरक्षा कोषलाई सिकाउन एमआरएनए प्रयोग गर्ने हाम्रो धारणा हो”, बेयेले स्पष्ट पार्नुभयो । यस विधिमा पहिलो चरणका रूपमा शक्तिशाली अल्ट्रासाउन्ड मार्फत तन्तुभित्र कम्पन पैदा गरिन्छ, जसले ग्यासका साना फोका बनाउँछ ।
“जब ती फोका फुट्छन्, तिनीहरूले अग्नाशय वरिपरि रहेको कडा अवरोध-एक प्रकारको ‘बङ्कर’-लाई भत्काइ दिन्छन्, जसले एमआरएनए खोपलाई ट्युमरसम्म सहजै प्रवेश गर्न मद्दत गर्छ”, बेये भन्नुहुन्छ । हालसम्मको प्रारम्भिक परीक्षणले अल्ट्रासाउन्ड प्रविधि सुरक्षितरूपमा अग्नाशयमा प्रयोग गर्न सकिने र यसले मौजुदा उपचारको प्रभावकारिता सुधार गर्न सक्ने सङ्केत दिएको वैज्ञानिकहरूको दाबी छ ।
अबको चरणमा उनीहरूले यस संयोजनमार्फत अग्नाशय क्यान्सर बिरामीको जीवनदर बढाउन सकिने आशा राखेका छन् । यसैबिच, बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसको उद्देश्य यो अत्यन्त घातक क्यान्सरबारे विश्वव्यापी जागरण बढाउनु रहेको छ । रासस/एएफपी