• ४ मंसिर २०८२, बिहिबार

भलमन्सा नै चौकीदारको भूमिकामा

blog

बरघर प्रथाबारे छलफलमा जुटेका भलमन्सा । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, मङ्सिर ४ गते । थारु समुदायमा सदियोंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्ने क्रम सुरु भएको छ ।  

गाउँको सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कतिपय गाउँमा भलमन्साले नै आफैं चौकीदारको भूमिका निर्वाह गर्न थालेका हुन् । चौकीदारलाई अनिवार्य पारिश्रमिक दिने चलन छ । त्यो पारिश्रमिक खर्च कटौती गर्न भलमन्सा बन्नेले नै चौकीदारको भूमिका पनि निर्वाह गर्नेक्रम बढिरहेको धनगढी उपमहानगरपालिका –७ देवहरियाका भलमन्सा भौनीदेवी चौधरीले बताउनुभयो । 

३० घरधुरीको नेतृत्व गरिरहनुभएकी उहाँले चौकीदारले गर्ने काम पनि आफैंले गरिरहेको जानकारी दिनुभयो । “गाउँमा भलमन्सा बन्न चिट्ठा हाल्ने गरिएको छ” चौधरीले भन्नुभयो, “भलमन्साले नै सबै घरमा बैठक लगायत बेगारी (सार्वजनिक काम) को खबर गर्ने निर्णयअनुसार मैले गाउँको नेतृत्व र सन्देश बाहकको काम गरिरहेको छु ।”

गाउँको नेतृत्व र सन्देशबाहक दुवै काम गरेवाफत गाउँवासीले प्रतिघरधुरीबाट वार्षिक चारसय रुपियाँ टिहाइ (पारिश्रमिक) दिने गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका भलमन्सा बिन्तीराम चौधरीले पनि आफैले चौकीदारको रुपमा घर–घर खबर गर्ने कार्य गरिरहनुभएको छ । 

छ वर्षदेखि गाउँको नेतृत्व गर्दै आइरहनू भएका उहाँले त्यति नै समयदेखि चौकीदारले गर्ने काम पनि गरिरहेको सुनाउनुभयो । “भलमन्सा र चौकीदारको भूमिका निर्वाह गरेवाफत प्रतिघरधुरीबाट वार्षिक ४० केजीको दरले बाली (धान) पाउने गरेको छु” उहाँले भन्नुभयो । 

भलमन्सा प्रथामा भलमन्सा (नेतृत्वकर्ता), अघरिया (सहायक भलमनसा), देशबन्धिया गुरुवा, केसौका र चौकीदार रहने चलन छ । पछिल्लो समय पारिश्रमिक वापत दिइने आर्थिक भार कटौतीका लागि गाउँवासीकै निर्णयमा भलमन्साले नै खबरबाहकको काम गरिरहेका छन् । त्यसैगरी, चौकीदार कोही बन्न नचाहेका कारणले पनि बाध्य भएर भलमन्साले नै चौकीदारले गर्ने काम गर्नुपरिरहेको छ । 

गाउँमा चौकीदारको रुपमा कोही पनि काम गर्न इच्छुक नभएपछि चौकीदारको भूमिका पनि आफैंले निर्वाह गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिका –४ मोतीपुरका भलमन्सा वीरबहादुर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई चौकीदारको आवश्यकता छ, कोही बन्न चाहेका छैनन् । त्यसैले नेतृत्व र सन्देश गर्ने काम म आफैंले गरिरहेको छु ।”

गाउँमा भलमन्सा र चौकीदारको रुपमा काम गरेवाफत आफूले प्रतिघरधुरीबाट वार्षिक पाँच केजी बाली (धान) र एक बेगारी पारिश्रमिक पाउने गरेको चौधरीले जानकारी दिनुभयो । 

थारु समुदायमा सहायक अन्य नभए पनि भलमन्सा र चौकीदार रहनुपर्ने अनिवार्य छ । गाउँको नेतृत्व गर्न तथा खबर गर्न यी दुई नभई हुँदैन । पछिल्लो समय चौकीदार बन्न कोही अगाडि नबढ्ने समस्या देखिएको छ । 

कोही चौकीदार बन्न इच्छुक नभएपछि बेलौरी नगरपालिका –१० सडकघाटमा लट्ठी चौकीदारको अभ्यास गर्न थालिएको छ । सो गाउँका भलमन्सा हरिलाल चौधरीका अनुसार एक घरका व्यक्तिले १० दिन चौकीदारको भूमिकामा काम गर्नुपर्दछ । १० दिन पुगेपछि सो भूमिकामा रहेको व्यक्तिले नदोहोरिने गरी आफ्नो छिमेकको घरमा लट्ठी पुर्‍याउने गरिएको छ । 

“लट्ठी पाएको परिवारका व्यक्तिले १० दिन चौकीदारको रुपमा काम गर्नुपर्छ । यसरी नै पालैपालो चौकीदार बन्ने क्रम चलिरहेको छ” उहाँले भन्नुभयो ।