अमरराज नहर्की
तनहुँ, मङ्सिर ४ गते । कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा आलु उत्पादन बढाइ कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘कमन आलु उत्पादन प्रवर्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।
उन्नत जातका आलुका बीउ, आवश्यक कृषि औजार तथा सिँचाइको सामग्री वितरण गर्दै उक्त अभियानको थालनी गरेको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।
तनहुँमा अन्य नगदेबालीको उत्पादन तुलनात्मक रूपमा कम भएकाले आलु खेतीलाई प्राथमिकतामा राखिएको केन्द्रले बताएको छ । हरेक घरको दैनिकीमा अनिवार्य रूपमा प्रयोग हुने भएकाले आलुको बजार सहज र स्थायी रहेको तथा यसबाट कृषकले मनग्य आम्दानी गर्न सक्ने भएकाले जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको प्रमुख लामिछानेको भनाइ छ ।
उहाँका अनुसार किसानलाई प्रोत्साहन गर्दै केन्द्रले उन्नत बीउ वितरणदेखि उत्पादित आलुको बजारीकरणसम्म निरन्तर सहयोग गर्दैआएको छ । कार्यक्रमका लागि ४८ लाख १० हजार रुपियाँ बजेट विनियोजित गरिएको छ । केन्द्रका अर्थ विज्ञ सुरज गैह्रेका अनुसार आलु उत्पादन क्षेत्र पहिचान गरिएका किसान, समूह र सहकारी संस्थालाई ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ ।
आलु उत्पादनमा सङ्लग्न समूह तथा सहकारीलाई निःशुल्क विषादी, ढुवानी, तालिम तथा प्राविधिक सेवा उपलब्ध गराइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष तनहुँमा एक हजार ८७२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो भने उत्पादन ३२ हजार ३१० मेट्रिक टन पुगेको थियो । नयाँ अभियानले उत्पादनमा वृद्धि भइ तनहुँ चाँडै नै आलुमा पूर्ण आत्मनिर्भर बन्ने केन्द्रले अपेक्षा गरेको छ ।