• ४ मंसिर २०८२, बिहिबार

उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको शिष्टाचार भेटवार्ता

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेट गर्नुहुँदै नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सी। तस्बिरः उपराष्ट्रपतिको कार्यालय

काठमाडौँ, मङ्सिर ४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा शुभकामना आदान–प्रदानपछि नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण संवाद भएको उपरारष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र यूएईबीच मित्रता, सहयोग, आपसी विश्वास र समझदारीका बलियो आधारमा सम्बन्ध विकसित हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले २०२५ अप्रिलमा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानको नेपालको राजकीय भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्वपूर्ण कोशेढुंगाको रूपमा स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमणले सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले रमजान महिनाको अवसरमा यूएई सरकारले २८६ नेपाली नागरिकलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै रोजगारीका अवसर उपलब्ध गराएकोमा युएई सरकारलाई धन्यवाद दिनुभयो ।  उहाँले आइटी, इन्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापन लगायतका क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको बताउँदै वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपाल र यूएईबीच आर्थिक सहकार्यलाई विस्तार गर्ने सम्भावना उच्च रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानी क्षेत्रमा सहकार्य गर्न यूएईको इच्छाशक्ति नेपालको विकास प्राथमिकतासँग मेल खाने बताउनुभयो । उहाँले नेपालले लगानीका लागि कानुनी तथा संस्थागत व्यवस्था तयार पारेको र प्राथमिक क्षेत्रहरूमा विदेशी लगानीलाई स्वागत गर्ने जानकारी दिनुभयो ।