• ४ मंसिर २०८२, बिहिबार

पाँचथरमा थपिए १७ सय ३१ मतदाता

blog

जिल्ला निर्वाचन कार्यालय पाँचथरमा फोटो सहितको नामावलीमा नाम दर्ता गराउँदै नयाँ मतदाता । तस्बिरः राधा लुइटेल

राधा लुइटेल

फिदिम, मङ्सिर ४ गते । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लामा एक हजार सात सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरबाट नामावलीमा नाम दर्ता गर्ने नयाँ मतदाता मध्ये पुरुष आठ सय ९४ र महिला सात सय ५९ जना रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका कम्प्युटर अप्रेटर अशोक घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७८ जना अन्तर जिल्लामा मतदान गर्ने मतदाताले पाँचथरबाट फोटो खिँचाएका हुन् । यी सबै गरेर एक हजार सात सय ३१ जना मतदाता थपिएका हुन् ।

यसअघि कात्तिक १६ गतेसम्म १८ वर्ष पुरा भएर मतदान गर्न पाउने उमेर समूहका कुल मतदाताको सङ्ख्या एक लाख ४० हजार ६ सय १६ जना थियो ।

जसमा पुरुष ७४ हजार तीन सय ३२ र महिला ६६ हजार दुई सय ८८ जना छन् ।

यो जिल्लामा २०७९ सालको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एक लाख ३८ हजार ९ सय ३२ जना मतदाता थिए ।