• ४ मंसिर २०८२, बिहिबार

गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य

blog

जेनेभा, मङ्सिर ४ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्वाकांक्षी लक्ष्य राखेको छ । 

सङ्गठनका उच्चाधिकारीले यस अभियानले गाजाको गम्भीररूपमा कमजोर बनेको स्वास्थ्य प्रणालीलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन् । डब्लुएचओ र यसका साझेदार संस्थाले नोभेम्बर ९ देखि सुरु गरिएको खोप अभियानको प्रारम्भिक चरणमा पहिलो आठ दिनभित्र तीन वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकालाई खोप दिन सफल भएको जानकारी दिए ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससका अनुसार अभियानको पहिलो चरण शनिबारसम्म विस्तार गरिएको छ र यसमार्फत बालबालिकालाई दादुरा, गलफुलो, रुबेला, डिप्थेरिया, टिटानस, लहरे खोकी, हेपाटाइटिस बी, क्षयरोग, पोलियो, रोटाभाइरस तथा निमोनिया जस्ता गम्भीर रोगबाट जोगाउने लक्ष्य राखिएको छ ।

अभियानको दोस्रो र तेस्रो चरण क्रमशः डिसेम्बर र जनवरी महिनामा सञ्चालन हुने तय गरिएको छ । यी अभियानलाई युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी सहायता संस्था (युएनआरडब्लुए) तथा हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अघि बढाइने छ । महानिर्देशक गेब्रेयससले युद्धविरामले निरन्तरता पाइरहेको देखेर आफू प्रोत्साहित भएको बताउँदै यसले डब्लुएचओ तथा साझेदारलाई गाजामा आवश्यक स्वास्थ्य सेवा विस्तार गर्न तथा ध्वस्त भइसकेको स्वास्थ्य पूर्वाधारको पुनः उपकरण र पुनर्निर्माणमा सहयोग पुर्याउन सहज भएको उल्लेख गर्नुभयो ।

यसैबिच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित योजनालाई समर्थन जनाउँदै मतदान गरेको थियो । सो योजनाले इजरायल र हमासबिच गत अक्टोबर १० मा लागू भएको युद्ध विराम कायम राख्न सघाएको बताइन्छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गराइएको रक्तपातपूर्ण आक्रमणपछि सुरु भएको दुई वर्षभन्दा लामो शत्रुताले गाजालाई अत्यन्त क्षतिग्रस्त बनाएको छ । 

उक्त आक्रमणमा एएफपीद्वारा सङ्कलित आधिकारिक तथ्याङ्कअनुसार एक हजार २२१ जना इजरायली नागरिकको मृत्यु भएको थियो, जसमा अधिकांश सामान्य नागरिक थिए । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणको प्रतिक्रियामा हालसम्म ६९ हजार ५०० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । मन्त्रालयले मृतकमध्ये कति लडाकू थिए भन्ने खुलाएको छैन, तर आधाभन्दा बढी मृत्यु हुने महिला र बालबालिका रहेको सङ्केत गरेको छ । संयुक्त राष्ट्रसङ्घले यी तथ्याङ्कलाई भरपर्दो मानिएको जनाएको छ । रासस/एएफपी