• १२ असार २०८१, बुधबार

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर

blog

काठमाडौँ, जेठ ८ गते । बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो । 

गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्ति कोटा वितरणमा मनपरी हुन लागेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफूले छानेका विद्यार्थीलाई मात्रै छात्रवृत्ति उपलब्ध गराउन नेपालस्थित बङ्गलादेशी दूतावासलाई आग्रह गरेको थियो । यस घटनाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छिमेकी तथा मित्रराष्ट्रहरूले प्रदान गर्ने छात्रवृत्ति कोटा अझै पनि पहुँचको भरमा वितरण हुने गरेको उजागर गरेको छ । 

बङ्गलादेश मात्र होइन अन्य मुलुकबाट प्राप्त हुने छात्रवृत्तिमा यस्तो समस्या रहेको छ । छात्रवृत्ति कोटामा अध्ययनका लागि शिक्षा मन्त्रालयमा पत्राचार गरेर विद्यार्थीको विवरण माग गर्ने र सोही कोटामा आफैँ विद्यार्थीसँग छुट्टै आवेदन मागेर छनोट गरेपछि छात्रवृत्तिमा अध्ययन गर्न छानिएका विद्यार्थी समस्यामा पर्ने गरेका छन् । 

गरिब, जेहनदार र पढाइमा तीक्ष्ण विद्यार्थीलाई लक्षित गर्दै प्रदान गरिने यस्ता छात्रवृत्ति आफूखुसी वितरण गरिँदा लक्षित वर्गसम्म पुग्न सकेको छैन । अझै पनि केही मुलुकले सरकारलाई जानकारी नै नदिई नेपालस्थित आफ्नो दूतावासमार्फत आवेदन आह्वान गरेर विद्यार्थीलाई वितरण गर्ने गरेका छन् ।

यसरी विद्यार्थी छनोट गर्दा अपनाइने आधार तथा मापदण्ड पनि स्पष्ट हुँदैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार केही मुलुकले सरकारी संयन्त्रमार्फत सीमित कोटाको छात्रवृत्ति वितरण गरेर बाँकी छात्रवृत्ति कोटा भने आफैँ वितरण गर्ने गरेका छन् । मन्त्रालयको उच्च शिक्षा महाशाखाका अनुसार बङ्गलादेश, पाकिस्तान, रुस, चीन, इजिप्टलगायतका मुलुकले नेपाल सरकारमार्फत छात्रवृत्ति वितरण गर्ने गरेका छन् । 

चीन सरकारले मन्त्रालयलाई उपलब्ध गराएकोबाहेक विभिन्न कोटा अन्तर्गत आफैँ छनोट गरेर उच्च शिक्षा अध्ययनका लागि थप विद्यार्थी लैजाने गरेको छ । यस्तो कोटा राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा वितरण हुने गरेको छ । भारतले कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीलाई नगद वितरण गर्नेदेखि एमबिबिएस, इन्जिनियरिङलगायतका उच्च तहमा अध्ययनका लागि पनि छात्रवृत्ति आफ्नै प्रणाली अनुसार प्रदान गर्दै आएको छ । यसरी  वार्षिक कति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छ भन्ने विषयमा जानकारी नभएको मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव कमल पोख्रेलले बताउनुभयो । 

त्यस्तै बङ्गलादेशले पनि सरकारी संयन्त्रमार्फत र आफैँ विद्यार्थी छनोट गरेर छात्रवृत्ति कोटा वितरण गर्ने गरेको छ । दुई थरी तरिकाबाट छात्रवृत्ति प्रदान गर्न खोज्दा  यस पटक समस्यासमेत आएको छ तर मन्त्रालयको अनुरोधमा सकारात्मक भएको दूतावासबाट अहिलेसम्म जवाफ नआएको मन्त्रालयले जनाएको छ ।

छात्रवृत्ति कोटा अन्तर्गत विदेश तथा स्वदेशमा उच्च शिक्षामा चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थी छान्ने काम चिकित्सा शिक्षा आयोगले गर्ने गर्छ तर छिमेकी मुलुकसँग परराष्ट्र मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बलियोसँग प्रस्तुत हुन नसक्दा उनीहरूले प्रदान गर्ने छात्रवृत्ति कोटालाई पारदर्शी बनाउन सकिएको छैन । मन्त्रालयका एक अधिकारीले भने, “यो विषय कूटनीतिक तथा राजनीतिक पहलबाट मात्रै सम्भव हुन्छ । हामीले मात्रै केही गर्न सक्दैनौँ ।”

के थियो बङ्गलादेशको घटना ?

बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत सन् २०२३/२४ अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारलाई २४ वटा कोटा प्रदान गरेको थियो । उक्त कोटामा विद्यार्थी छनोट गरेर पठाइदिन बङ्गलादेशले नेपालस्थित आफ्नो दूतावासमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गरेको थियो तर दूतावासले मन्त्रालयबाहेक छात्रवृत्तिमा अध्ययनका लागि नेपाली विद्यार्थीबाट व्यक्तिगत रूपमा छुट्टै आवेदन पनि लिएको थियो । 

दूतावासको अनुरोध अनुसार शिक्षा मन्त्रालयले विद्यार्थी छनोट गरेर पठाए पनि बङ्गलादेशको चिकित्सा शिक्षा निर्देशनालयले भने छात्रवृत्तिमा अध्ययनका लागि शिक्षा मन्त्रालयबाट छनोट भएका भन्दा फरक विद्यार्थीको सूची सार्वजनिक गर्‍यो । उक्त सूचीमा मन्त्रालयले चिकित्सा शिक्षा आयोगमार्फत छनोट गरेर पठाएको २२ जनामध्ये १२ जनाको मात्रै नाम समावेश भएको थियो ।     

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।