• १३ मंसिर २०८१, बिहिबार

पृथ्वी राजमार्ग विस्तार, पाँच महिना म्याद थप

blog

पूर्वी खण्डको काम गरिँदै ।

अमरराज नहर्की

तनहुँ, जेठ ४ गते । विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक अन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरेबमोजिम समय थप गरिएको हो ।

निर्माण आरम्भमा ढिलाइ गर्नु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् लाइन सार्न समस्या हुनु जस्ता कारणले काम प्रभावित भएको थियो । आयोजनाका पूर्वीखण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले पाँच महिना म्याद थप भएको जानकारी दिनुभयो । सदरमुकाम दमौलीमा सडक सीमाभित्र रहेका घर भत्काउन ढिलाइ भएकाले पनि काम प्रभावित भएकाले म्याद थप गर्नुपर्ने भएको यादव बताउनुहुन्छ । यादवका अनुसार हालसम्म समग्र भौतिक प्रगति ५९ प्रतिशत छ । 

पूर्वीखण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता, २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद २०८१ वैशाखसम्म थियो । पश्चिमखण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । 

यस खण्डको म्याद २०८१ भदौसम्म छ । २०२६ सालमा रेखाङ्कन गरिएको यो सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वीखण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिमखण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुने छ भने सहरी क्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने छ । सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुने छ ।