धीरज दाहाल
विराटनगर, चैत १० गते । विराटनगर महानगरपालिकाका चोकदेखि गल्लीसम्म निर्वाचनका चहलपहल बढ्न थाल्दा महानगरकै एउटा बस्ती भने सुनसान छ । महानगरको पूर्वतर्फ कटहरी गाउँपालिकासँगको सिमाना छुट्याउँदै अविरल बगेको सिङ्घिया खोलाको डिलमा रहेको सुकुम्बासी बस्तीमा भने निर्वाचनको रौनक पुगेकै छैन । दैनिक ज्यालादारीबाट बिहान बेलुकीको गाँस टार्ने बाध्यतामा रहेका बस्तीका स्थानीयलाई निर्वाचनको वास्तासमेत छैन । बस्तीमा दिउँसो केटाकेटी र अशक्त मात्र भेटिन्छन् । युवा र घरका मूूली बिहानै स्थानीय हाटखोला चोकमा काँधमा कोदालो बोकेर उभिन्छन् भने महिला स्थानीयका घरघरमा काम गर्न सबेरै निस्कन्छन् ।
दैनिक ज्यालादारीका लागि घरबाट ननिस्कने हो भने चुलो नबल्ने बाध्यतामा रहेका स्थानीयसँग चुनावको चर्चा गर्न कुनै दलका प्रतिनिधि पनि पुगेका छैनन् । निर्वाचनमा कुन दलबाट को उम्मेदवार बन्ने हो केही जानकारी छैन । गठबन्धनका बारेमा काममा जाँदा अरूले कुरा गरेको सुनेको बताउने स्थानीय रामलाल साह भन्नुहुन्छ,“घण्टौँ उभिएर भोट दिए पनि के गर्नु, हाम्रा दुःख र समस्या नेताका भाषणमा मात्र सीमित छन् ।” नेताले केवल वाचा मात्रै गर्ने गरेको तर काम भने कसैले नगर्ने भन्दै साह चुनाव केवल बस्तीका केही टाठाबाठालाई लाग्ने बताउनुहुन्छ । बस्तीमा अधिकांश निरक्षर रहेको र मतदाता शिक्षाका बारेमा जानकारी दिनसमेत कोही नपुगेको उहाँको भनाइ छ ।
खोला डिलमा करिब १७० घर सुकुम्बासीका छन् । पराल र पुराना खिया लागेका जस्ताले बेरेर घामसम्म छेल्ने घरमा आकाशमा बादल कालो हुनासाथ भागदौड मचिन्छ । भाँडाहरू आँगनमा असरल्ल छरिएका छन् । केटाकेटी चामल कतिबेला आउँछ र खाना पाक्छ भन्दै बाटोमा नियालिरहेका भेटिन्छन् । “अघिल्लो वर्षामा सिङ्घियामा बाढी आउँदा बस्ती उजाड बनाएको थियो, आँगनमा खाना बनाउँदै गर्नुभएकी ललिता पासवान भन्नुहुन्छ,” रातिको समयमा बल्लतल्ल ज्यान जोगाउन पायौँ । अर्कै ठाउँमा घर बनाइदिन्छु भन्छन् तर खोइ कहिले ? चुनावका बेला त नेताले भोट दियौँ भने पक्की घर नै बनाइदिन्छु भन्छन् तर चुनावपछि कोही पनि आउँदैनन् । नेताबाट खाली झुठा आश्वासन मात्र पाएको उहाँको भनाइ छ ।
परिवर्तनका नारा घन्काउँदै अनेकौँ दलहरू बस्तीमा आउँछन् तर स्थानीयको जीवनमा कुनै परिवर्तन आएको छैन । महानगरको वडा नं. ८ को सुकुम्बासी बस्ती वर्षौंदेखि शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीबाट वञ्चित छ ।
आर्थिक रूपमा विपन्न बस्तीका अधिकांशलाई चुनावले छुनसमेत सकेको छैन । स्थानीय समाजसेवी विनायक पन्त भन्नुहुन्छ, “सखारै घरबाट निस्किएका उनीहरू राति मात्र बस्तीमा पुग्छन् । दिनभरिको मेहनतले कमाएर ल्याएको थोरै चामलले पेट भरेपछि सपना देख्छन् – कुनै दिन हाम्रो पनि आफ्नै एउटा सानो घर होला ।”