• ६ भदौ २०८२, शुक्रबार

सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेकाे चाप

blog

जिल्ला प्रशासन कार्यालय सप्तरीमा सेवाग्राहीको चाप । तस्बिर : विनय कर्ण

विनय कर्ण 

कल्याणपुर (सप्तरी), भदौ ६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेको छ । सामाजिक सुरक्षा भत्ता र बैंक खाता नवीकरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुई महिनादेखि चाप बढेको हो ।

बिहानदेखि साँझसम्म जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको हुन्छ भने पालो कुर्ने कतिपय जेष्ठ नागरिक कार्यालयको वरण्डामा सुत्ने समेत गरेका छन् ।

राजविराज नगरपालिका १३ का सुनीता चौधरी आफ्नो सासु आमा ७० वर्षीया सावित्री चौधरीको राष्ट्रिय परिचयपत्र बनाउन दुई दिनदेखि जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइराख्नुभएको तर पालो नआएकोले कुरेर बसेको उहाँ बताउनुहुन्छ । 

छिन्नमस्ता गाउँपालिका ६ की ७४ वर्षीया भगीयादेवी पनि बिहानैदेखि हातमा कागज लिएर पालो आजै आउँछ कि आशामा बस्नुभएको छ भने राजविराज ९ की ७५ वर्षीया भुटीदेवी र राजविराज १४ परसाहीका ८० वर्षीय शत्रुघन मण्डल पनि दुई दिनदेखि पालो कुरेर बस्नुभएको छ ।

सेवाग्राहीको चाप बढेपछि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । उहाँले दैनिक पाँचसयदेखि सातसय सेवाग्राहीको परिचयपत्र बनाउने कार्य भइरहेको बताउनुभयो ।

"बैंक र समाजिक सुरक्षा भत्ता नवीकरणका कारण भिड बढेको छ, सकेसम्म कार्यालयमा आएको व्यक्ति नफर्काउने हिसाबले काम भइरहेको छ," उहाँले भन्नुभयो ।