• ९ मंसिर २०८१, आइतबार

कथ्य भाषाको तागत

blog

यमबहादुर दुरा

 तपाईं–हाम्रो जीवनशैली जति मौलिक हुन्छ, हाम्रो सांस्कृतिक पहिचान पनि त्यति नै चहकिलो हुन्छ । हाम्रो मौलिक पहिचानलाई चम्काउने अनेकन् पक्षमध्ये एउटा पक्ष कथ्य भाषा (जनबोली) पनि हो । कुनै पनि समुदायको पहिचान निर्माणमा स्थानीयपन मगमगाएको कथ्य भाषाको बेजोड भूमिका हुने तथ्यलाई सबैले स्वीकार्दै आएका छन् ।

कथ्य भाषा कुनै भूगोलका निवासी वा समुदायको आत्मा त हुँदै हो, दरिलो पहिचान पनि हो । यसबाट उनीहरूको भाषिक भूगोल तथा सांस्कृतिक पृष्ठभूमि छर्लङ्ग उघ्रिन्छन् । कुनै पनि भाषाको उच्चारण र शब्द चयनमा जति रैथानेपन रहन्छ, त्यति नै सम्बन्धित भाषा शक्तिशाली र वैभवशाली बन्न पुग्छ । भाषिक भूगोल जगमाएको कथ्य भाषामा साङ्गीतिक झङ्कारयुक्त मिठास भेटिन्छ ।नेपाली समाज श्रुतिपरम्परामा आधारित छ । भाषा विज्ञान र श्रुतिपरम्पराबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । हरेक भाषा श्रुतिपरम्पराकै उपज हो । अरूले बोलेको सुनेर नै भाषा सिकिन्छ । भाषा सिकाइको सहज प्राकृतिक नियम नै सुनाइ र बोलाइ हो । हाम्रो समाजले लोककाव्य, लोकोक्ति, लोकगीतजस्ता लोकअभिव्यक्तिलाई बहुधा आत्मसात् गर्छ । जसरी एउटी ममतामयी आमाले आफ्नो बच्चालाई स्नेहपूर्वक ख्वाउँछिन्, त्यसरी नै ग्रामीण परिवेशमा हुर्किएको वक्ताले श्रुतिपरम्परायुक्त अभिव्यक्तिलाई आत्मसात् गर्छ । यसले भाषालाई रसिलो, भरिलो र जीवन्त बनाउँछ ।

कथ्य भाषाले लोकसाहित्यलाई उर्वरभूमि प्रदान गर्छ । अहिले समृद्ध ठहरिएको लेख्य भाषा (मानक भाषा)को उद्गमबिन्दु कथ्य भाषा नै हो । कथ्य भाषाबाट टुसाएका उखान–टुक्का, लोककथा, लोकगाथा आदिले नै लिखित साहित्यको आधारभूमि तयार पार्छ । कथ्य भाषा र लेख्य भाषाको दोभानबारे चूडामणि खनालले साहित्यकार वासुदेव त्रिपाठीको भनाइ अघि सार्दै लेख्नुभएको छ, “सम्पूर्ण क्लासिकल साहित्य लोकसाहित्यकै जगमा उठेको छ । लोककथा र लोकगाथा नभएको भए वाल्मीकि, व्यास र होमरका गगनचुम्बी साहित्यिक पिरामिड उभिने थिएनन्” (गण्डकीका लोकपद्य, २०६४, पृ.११) ।

स्थानीय लवज र भावाव्यक्तिलाई केन्द्रमा राखेर रचिएका कृति मानक भाषामा लेखिएका कृतिभन्दा पनि उच्च हुनसक्छ, जुन तथ्य मैथिलीमा रचित कविता विद्यापतिका रचना वा अवधीमा रचित रामचरितमानसले पुष्टि गर्छन् । यी दुवै कृति कथ्य भाषामा रचिएको भए पनि कुनै परिनिष्ठित भाषाभन्दा कुनै पनि अर्थमा कमसल छैनन् भन्ने चर्चा सुनिन्छ ।

कथ्य भाषाले नै लोकसाहित्यलाई सुम्सुम्याएर–पुल्पुल्याएर अथाह स्नेहभाव पोख्छ । युगौँदेखि अस्तित्वमा रहेको कथ्य भाषाका अगाडि लोकजीवनमा राम्रो पहिचान नबनाइसकेको औपचारिकता–प्रधान मानक भाषा कताकता आडम्बरी प्रतीत हुन्छ । यही भएर होला, लोकजीवनमा कथ्य भाषा नै बढी लोकप्रिय छ । कतिपयलाई कथ्य भाषा निरक्षर व्यक्तिको अभिव्यक्ति (इलिट्रेट एक्सप्रेसन)जस्तो लाग्नसक्छ । यसैगरी केही विद्वत्जनलाई कथ्य भाषा अपरिष्कृतझैँ लाग्नसक्छ तर कसैलाई अपरिष्कृतजस्तो प्रतीत भए पनि कथ्य भाषाको तागत भने अपिरिमित छ । कथ्य भाषाको भाषा वैज्ञानिक धरातल तथा लोकसांस्कृतिक साइनो बडेबडे अनुसन्धाताका लागि पनि विशद अध्ययनको विषय बन्दै आएको छ ।

ग्रामीण समाजमा कथ्य भाषा बढी सरस र सहज जँच्छ । जनजिब्रोले कथ्य भाषालाई बडो गजबले मातृवात्सल्यपूर्ण लवजमा पुल्पुल्याउँछ । उनीहरू अग्लोलाई अल्को, अमेरिकालाई अम्रिका, ‘इयर रिङ’लाई यार्लिङ, गुणलाई गुन, चरणलाई चरन, हृदयलाई हिर्दय र मोटरलाई मटर भनी उच्चारण गर्छन् । यस्ता लवजमा आफ्नै किसिमका सरलता र मिठास पाइन्छन् । रैथानेपनले ओतप्रोत यस्ता शब्दको सूची लामो छ । हाम्रो जनजिब्रो शरणलाई सरन, रावणलाई रावन, समाचारलाई सम्चार र कर्मलाई करम, तन्त्रमन्त्रलाई तन्तरमन्तर, मन्त्रीलाई मन्तरी, रक्सीलाई रौसी र रिक्रुटलाई रिकुट (रिकुटे) भनी उच्चारण गर्न जनजिब्रो अभ्यस्त छ । यस्ता रैथानेपनयुक्त लवज सांस्कृतिक पहिचानका दृष्टिले अमूल्य रत्न हुन् ।

कहिलेकाहीँ मानक भाषाको कसीमा जनजिब्रोमा उच्चारित यस्ता रैथाने शब्दको आधिकारिकताबारे प्राज्ञिक जगत्मा प्रश्न उठ्छ । यद्यपि प्राज्ञिक जगत्बाटै यस प्रश्नको चित्तबुझ्दो उत्तर आइसकेको छ । जनजिब्रोमा उच्चारित रैथाने शब्दको आधिकारिकताबारे लोकसाहित्यका अध्येता डा. हंसपुरे सुवेदीले बडो घतलाग्दो प्रसङ्ग अघि सार्नुभएको छ । 

उहाँको भनाइ छ, “जनजिब्रो व्याकरणका पछि नलागी व्याकरणले नै जनजिब्रो पछ्याउने कुरा सर्वमान्य छ । जनजिब्रो सदा सरलता र छिटो छरितोको पक्षपाती हुन्छ । अतः हाम्रो जनजिब्रो उपरोक्त बोल्छ, सर्खार बोल्छ, मिर्ग बोल्छ इत्यादि । लोकजीवन–लोकपद्यको सन्दर्भमा यी सबै सान्दर्भिक मानिन्छन्’ (नेपाली लोकपद्यः परिचय—विवेचना, २०६०, पृ. ७) । 

सुवेदीको ठम्याइ छ, “लोकमा जनजिब्रोको ठूलो महत्त्व छ, मान्यता छ । किनभने लोकभाषाको शुद्धता जनजिब्रोले पाएको लोकमान्यता हो । अतः लोककविताको भाषा जनजिब्रोको भाषा हो, बोलीचालीको अभिव्यक्ति हो । यहाँ सम्मानको कृत्रिमता र बौद्धिक कसरतको आडम्बर देखापर्दैन (उही) ।‘मै गीत गाउँ कि, सुनखानीमा पितलु मिसाउँ कि’– यस लोकगीतमा विनयशीलता र रैथानेपनको बिछट्टै सुन्दर दृष्टान्त भेटिन्छ । हुन पनि लोकगीत तथा लोकपद्यमा पितल नभनी पितलु, पीपल नभनी पीपलु, दरबार नभनी दरिबार, घरबार नभनी घरिबार भनेर उच्चारण गरिँदा अभिव्यक्तिमा हुनसम्म मिठास थपिन्छ, जसले भाव सम्प्रेषणमा जादु नै गरिदिन्छ । यस्ता अभिव्यक्तिमा उच्चकोटीको रैथानेपन झल्किन्छन् । लोकचेतना यस्तै अभिव्यक्तिमा बढी लोभिन्छ, लहसिन्छ । यसो हुनुका पछाडि कथ्य भाषामा मगमगाउने माटोको सुवास र भाव–व्यञ्जना नै हुन् । कथ्यभाषाको प्रयोगले लोकअभिव्यक्ति केबराको फूलजस्तो मगमगाउँदो, रैथाने बेलौतीजस्तो तिख्खर र कोइलीको भाकाजस्तो सुमधुर बन्न पुग्छ । लोकअभिव्यक्तिमा मानक भाषा बलात् मिसिँदा यसले मिठास थप्नुको सट्टा आडम्बर मात्र डकार्छ । जबरजस्ती मानक भाषा भित्रिँदा लोकअभिव्यक्ति ढुकढुकीविहीन बन्न पुग्छ । कसैले अङ्ग्रेजी लवजमा ‘आई लभ यु’ भन्नुभन्दा कुनै ग्रामीणजनले हृदयको गहिराइबाटै ‘तिमै मया लाउँच’ भनेको कता हो कता सुन्दर र मार्मिक बन्न पुग्छ । यसबाट हुने भावसञ्चार कैयौँ गुना तागतिलो बन्न पुग्छ । कथ्य भाषाले बाहिरिया शब्द पचाउँछ । उसले आगन्तुक शब्दलाई वर्णशङ्करीकरणको प्रक्रियामार्पmत आफ्नो बनाउँछ । कथ्यभाषामा वर्णशङ्करीकरणको अभ्यास पनि कम रोचक छैन । यसले आगन्तुक शब्दलाई न्यानो काख दिएर अपनत्व प्रकट गर्छ ।

आधुनिकताको छालसँगै भित्रिएका आगन्तुक शब्दलाई जनबोलीले अपनत्वपूर्ण आँचल ओढाएर ममता पोख्छ । अनि भित्रिसकेका आगन्तुक शब्दलाई आफ्नोपनको पाइन चढाएर ममताले सुम्सुम्याउँदै वर्णशङ्करीकरणको अभ्यास अगाडि बढाउँछ । 

हामीकहाँ वर्णशङ्करीकरणको दृष्टान्त अनेकन् छन् । लोकमनले चाउचाउलाई बनेलु च्याउसँग नाता गाँसिएको वस्तु ठानेकाले जनजिब्रोले ‘च्याउच्याउ’ भनी न्वारान ग¥यो । ‘भलिबल’ खेलसँग सम्बन्धित अङ्ग्रेजी शब्द हो । यसलाई लोककण्ठले समयचरो भालेसँग जोडेर ‘भालेबल’ भनी उच्चारण ग¥यो । अङ्ग्रेजी शब्द ‘सर’ लोककण्ठमा रमाइलो गरी ‘सहर’ भई उच्चारित हुन पुगेको छ । यस्ता शब्दले लोकजीवनमा एकमनापूर्ण अनुमोदन पाइसके । 

अङ्ग्रेजी शब्द सर्टिफिकेटलाई साठी अङ्क नाता जोडेर ‘साठीपिकेट’ र आधुनिक (सपिङ) ‘मल’ लाई ‘महल’को समकक्षमा बुझेर ‘महल’ भन्ने चलन पनि स्थापितझैँ छ । जस्तै– बिजी मलको सट्टामा ‘बिजी महल’ भन्ने चलन छ । यसैगरी ग्रामीण जनजिब्रोले सिनेमालाई ‘स्यानिमा’ भन्न रुचाउँछ । त्यही भएर नै होला, काँचको पर्दामा जुनसुकै नृत्याङ्गना नाचे पनि लोकनेत्रले ‘स्यानिमा’ नाचेको देख्छ ।  यी र यस्ता शब्द–शब्दावलीमा आफ्नै भाषिक लय, सौन्दर्य र तागत छन् । हरेक डाँडा र खोल्सामा लवज फेरिने हाम्रो भाषिक सम्पदालाई यिनै विविधतायुक्त रैथानेपन बोलीले बचाएका छन् । यस्ता रसिला जनबोली हाम्रा लागि आँखैभरि झल्को बस्ने माया र कानैभरि गुञ्जिरहने मोहनी बोली हुन् ।

मायाले सजिएको घरपरिवार जति सुन्दर र मनमोहक हुन्छ, कथ्यभाषाले सजिएको लोकअभिव्यक्ति पनि उति नै सुन्दर र मनमोहक हुन्छ । अब यस प्रकारको भाषिक सौन्दर्यलाई हेर्ने नजर लोकबोलीजस्तै सुन्दर हुनैपर्छ । अनि मात्र हाम्रो विविधतापूर्ण कथ्य भाषा लोकजीवनमा ज्योति बनेर जुनकिरीवत् चम्किरहनेछ ।