• ८ असार २०८१, शनिबार

पूर्वाधार विकासमा नयाँ ढोका

blog

काठमाडौँ, वैशाख २७ गते । मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ छिचोलिएको हो भने अर्को सिँचाइ र जलविद्युत्सँग सम्बन्धित बहुउद्देश्यीय सुरुङ हो । २०८१ सालको पहिलो महिनामा नै दुई वटा सुरुङ छिचोलिएसँगै मुलुक सुरुङमार्गको नयाँ ढोका उघार्दै पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको हो । 

मुलुककै सडक यातायातको पहिलो आधुनिक र सबभन्दा लामो सडक यातायात सुरुङका रूपमा निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजना अन्तर्गतको मुख्य सुरुङ वैशाख ३ गते छिचोलिएको थियो । त्यसै गरी तराई, पहाड र हिमाललाई मुलुकको समृद्धिसँग जोडिने उद्देश्यसहित सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजना अन्तर्गतको सुरुङ बुधबार छिचोलिएको हो ।

यी दुई वटै सुरुङ मुलुकको समग्र विकासका लागि आशा जगाउने योजनाका रूपमा अगाडि बढिरहेको छ भने मुलुकको पूर्वाधार विकासको सुरुङ यात्रा सुरु भएको हो । त्यसै गरी निर्माणाधीन यी सुरुङहरूको प्रविधि र सिप मुलुकको पूर्वाधार विकासका लागि एउटा दस्ताबेज पनि हो, उपहार पनि हो ।

सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण भइरहेको छ भने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग ‘न्यु अस्ट्रियन टनेलिङ (एनएटिएम) मेथड’ बाट निर्माण भइरहेका छन् । यस प्रविधिमा सुरुङमा ‘ड्रिल’ गरेर ‘बलास्ट’ गराइन्छ । यसअघि यस सुरुङमार्ग आयोजना अन्तर्गतको आपत्कालीन सुरुङमार्ग साउन २२ गते छिचोलिएको थियो ।

सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय बहुउद्देश्य आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण गरिने दोस्रो परियोजना हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्न यो प्रविधिको प्रयोग गरिएको थियो ।

सो सुरुङमार्गले मुलुकलाई नयाँ सडक पूर्वाधार मात्र दिने छैन त्यससँग सम्बन्धित जापानी उच्च प्रविधिसमेत नेपाल भित्रिने छन्, किनकि सुरुङ खन्न जापानका प्राविधिक साथै नेपाली प्राविधिकसमेत काम गर्दै आएका छन् ।

चुरियामाईपछि रोकिएको सुरुङमार्गको नयाँ यात्रा सुरु

यी दुई वटै सुरुङमार्ग छिचोलिएसँगै चुरियामाईपछि रोकिएको मुलुकको सुरुङमार्गको यात्रा पुनः सुरु भएको हो । विसं १९७४ मा चुरियामाई सुरुङमार्ग निर्माणपछि मुलुकमा सडक सुरुङमार्गको यात्रा ठप्प नै भएको देखिन्छ । बाराको चुरियामाईदेखि अमलेखगन्जसम्म निर्माण गरिएको चुरियामाई सुरुङलाई एसियाकै पहिलो सडक सुरुङका रूपमा मान्ने गरिन्छ । यसको लम्बाइ २३९ मिटर छ । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको थियो । यो सुरुङमार्ग इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइनमा निर्माण भएको थियो ।