• १२ पुस २०८१, शुक्रबार

तीन शीर्ष वामनेताको दन्तबझान

blog

मोहन दाहाल

नेपाली राजनीतिका शीर्षस्थ नेताले सर्वसाधारण जनता र प्रेसमार्फत उठे÷उठाइएका संवेदनशील एवं गम्भीर प्रकृतिका प्रश्नको वस्तुपरक चित्तबुझ्दो उत्तर दिएर गुम्दै गरेको साख, विश्वास र प्रतिष्ठा जोगाउनुपर्ने बेला भएको छ । चुनावी  राजनीतिका नाममा एकले अर्काविरुद्ध अतिरञ्जित तवरबाट गालीगलौजको वर्षा गर्दा हिजोका दिनमा सगरमाथाजस्तै अग्ला देखिने कतिपय खासगरी कम्युनिस्ट नेताहरूको कद र काँट आज लिलिपुट मानवमा रूपान्तरित हुँदै गएको प्रतित हुन्छ । लोकतन्त्रको सुदूरभविष्यको निम्ति जुन गम्भीर चिन्ताको विषय हो । विशेषतः नेपाली कम्युनिस्ट जगत्का शीर्ष नेतात्रय– एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले एकअर्का विरुद्ध गालीगलौजका जेजस्ता दोहोरी–तेहरी चलेका छन् । तिनले नेताजीहरूको उचाइ र आयतन मात्र घटाएको नभई जनतालाई निःशुल्क मनोरञ्जनसमेत प्रदान गरेको अवस्था छ । 

नेपाली कम्युनिस्ट आन्दोलनले नौलो जनवादी चरण पार गर्दै गरेर समाजवादतर्फ अघि बढ्दै गरेको विश्लेषण वाम विश्लेषक र बुद्धिजीवीले गरिरहँदा र नेपालमा कम्युनिस्ट जनमत कुल मतदाता सङ्ख्याको दुईतिहाइ नजिक रहेको तथ्य उजागर भएको चार वर्ष हुँदा नहुँदै तिलस्मी ढङ्गले कम्युनिस्ट कित्ता रणनीतिक र राजनीतिक रूपमा रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । परिस्थितिमा अपेक्षित सुधार भएन भने वाम कित्तालाई आफ्नो जीवन्त अस्तित्व र प्रभावकारी उपस्थिति कायम राख्न धौधौ नपर्ला भन्न सकिन्न । नेपालमा उत्कर्षमा पुगेको कम्युनिस्ट शक्तिलाई करिब दुई तिहाइ नजिकको बहुमतको बलमा सत्तामा आसीन रहेकै बेला आजको नाजुक एवं टिठलाग्दो  अवस्थामा पु¥याउनेमा अरू कोही नभएर स्वयं शीर्ष नेतृत्व अर्थात् तत्कालीन सत्तारुढ नेकपाका अध्यक्ष द्वय ओली र दाहाल हुन् । कम्युनिस्ट भाषाका कथित प्रतिक्रियावादी, विस्तारवादी, संशोधनवादी वा साम्राज्यवादीले सत्तरी वर्ष बढीको अथक प्रयास र सङ्घर्षको परिणाम स्वरूप नेपाली राजनीतिको मूल प्रवाह बनेको कम्युनिस्ट शक्तिलाई निमेषभरमै क्षतविक्षत तुल्याएका होइनन् यो परिस्थितिका जिम्मेवार स्वयं शीर्ष नेता नै छन् । कतिपय अरू मुलुकमा कम्युनिस्ट राजनीतिलाई कमजोर तुल्याउन शक्तिशाली कम्युनिस्टविरोधी बाह्य शक्तिको निर्णायक भूमिका रहेका उदाहरण छन् । 

नेपाली कम्युनिस्ट आन्दोलनमा यसको अपवाद देखियो, स्रष्टा नै संहारक बने । भन्छन्, माकुराका बच्चाले माउलाई खान्छन् तर नेपालमा माउ (स्रष्टा नेता) ले बच्चा (कम्युनिस्ट आन्दोलन) खाइरहेको विचित्रको अवस्थाको अनुभव भएको छ । अर्को खट्किँदो पक्ष के छ भने कम्युनिस्ट कित्ताका शीर्ष नेताद्वय–ओली र दाहालबीच जुन बेमेल र द्वन्द्व थियो र अद्यावधि पर्यन्त छ त्यसमा वैचारिक एवं सैद्धान्तिक भिन्नता खासै देखिँदैन ।  गैर कम्युनिस्ट आँखाबाट हेर्दा नेताद्वय बीच व्यक्तित्वको टकराव, नेपाली कम्युनिस्ट आन्दोलनको प्राधिकारी बन्ने होडबाजी र जुँगाको लडाइँभन्दा बढी देख्न सकिँदैन भने स्वयं कम्युनिस्टका आँखाले त झन् के पो देख्लान् र ! यहाँसम्म कि दुई नेता र तिनका गुटबीचका घोचपेच र गाली गलौजमा कम्यनिस्टले प्रयोग गर्ने शब्द मात्रै हुन्थे भने पनि कम्युनिस्ट सिद्धान्त मन पराउने नयाँ पुस्ताले कमसेकम शब्दसम्म सिक्ने अवसर पाउँथ्यो । आश्चर्य, कथित अग्रगामीले कथित प्रतिगामीविरुद्ध प्रयोग गरिने गरेका शब्द र शैली ओली–दाहाल वाक्युद्धमा प्रयोग भएका छन् । समाजवादउन्मुख संविधानलाई आदर्श र मार्गदर्शक मानेर अघि बढेका नेताले, कम्युनिस्ट शब्द सापटी लिएर भन्दा, बुर्जुवाले प्रयोग गर्ने गालीगलौजका भाषा प्रयोग गरेको सुन्दा र देख्दा सिद्धान्त र राजनीतिमा मात्र नभई नेपालमा माक्र्सवादी भाषा र साहित्यमा नै पो खडेरी परेर सङ्कट उत्पन्न भएको हो कि क्या हो भन्ने भान पर्छ ।

राष्ट्रिय समस्या वा जनताका समस्याको चित्रण, तिनको समाधानका लागि दल वा नेताहरूबीच नीतिगत, वैचारिक, सैद्धान्तिक वा कार्यक्रमिक विवाद वा मतभेदका सन्दर्भमा यो गालीगलौज केन्द्रित हुन्थ्यो भने एक हदसम्म स्वाभाविक मानिन्थ्यो होला । नेताहरूबाट जनताले गरेको अपेक्षा यो होइन । जनता चाहन्छन्–आफ्ना नेता जनजीविकाका सवालमा दन्तबझान गरुन्, नीतिगत र कार्यगत भ्रष्टाचारका फेहरिस्त पस्किएर जनतालाई सजग र सचेत तुल्याउँदै हरेक निकाय र क्षेत्रमा सुशासनको अनुभूित गराउन्, विभिन्न निकायमा क्रियाशील प्रशासनिक संयन्त्रलाई व्यवहारमै जनताप्रति उत्तरदायी एवं संवेदनशील तुल्याउन्, राज्य प्रणाली र जनताबीच सघन कुहिरोको रूपमा विकसित बिचौलिया प्रथालाई जरैदेखि उखेलेर निर्मूल गरी राज्य प्रणाली र यसका सञ्चालन संयन्त्रप्रति जनतामा अपनत्व र स्वामित्वको भाव कायम हुन सकोस् आदि आदि । लाग्छ, वाम नेतात्रयको दृष्टिमा राष्ट्र र जनता पूराका पूरै समस्या रहित छन् र उनीहरूको विषयलाई लिएर कसैले टाउको दुखाउन आवश्यक छैन ।

समस्या छ त केवल उहाँहरूबीचमा जुन समस्याको माग एकले अर्कोलाई पूर्ण निषेधमा केन्द्रित रहेको प्रतित हुन्छ । एउटाको जरो किलो गरेर अर्कोलाई औषधि बनाउनेजस्ता कुरा वर्तमान राज्य प्रणाली र यसलाई परिभाषित एवं निर्देशित गर्ने संविधानको आशय, भाव र मर्म होइन ।  अपितु सहअस्तित्व, एक अर्काप्रतिको सम्मान तथा सहकार्य हो । निषेधको सोच, प्रवृत्ति र व्यवहारमा लोकतन्त्र फस्टाउन सक्दैन । यस्तो विचार र व्यवहार झाँगिदै जाँदा अन्ततः यसको गर्भबाट अधिनायकवाद प्रादुर्भावको खतरा हुन्छ । निषेधको सोच र व्यवहार अहिले जसरी राष्ट्रिय संस्कार, चरित्र र संस्कृतिका रूपमा विकसित भइरहेको छ भोलिका दिनमा यसले राष्ट्रिय एकताको भावनामा नै 

आघात नपु¥याउला भन्न सकिन्न । लोकतान्त्रिक प्रणालीको भाव र मर्म राष्ट्रिय एकता र सामाजिक सद्भाव बिथोल्ने वा खलल पु¥याउने निश्चय नै होइन । जोड्ने हो तोड्ने होइन, गाँस्ने हो मास्ने होइन ।  राजनीतिका नाममा नेकपाका शीर्ष नेतात्रयले एकअर्का विरुद्ध जुन हदसम्मका गाली गलौजका शब्दको अपव्यय गरिरहनु भएको छ त्यसले नेपाली समाजलाई थप छिन्नभिन्न र कमजोर बनाउँदै लगेको छ ।

गाली गलौज वा नकारात्मक आलोचना–प्रत्यालोचनाले परिस्थितिलाई कहाँबाट कहाँ पु-याउँदोरहेछ भन्ने दृष्टान्त खोज्न टाढा जान पर्दैन । निकट अतितमा सचिवालयका नाममा तत्कालीन सत्तारुढ नेकपाका अध्यक्षद्वयमध्येका एक अध्यक्ष दाहालले नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसँगको सहकार्यमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध अघि सार्नु भएको आरोप पत्रले निम्त्याएको अकल्पनीय घटना नै पर्याप्त छ । तत्कालीन सत्तारुढ नेकपाका शीर्ष नेताबीचको त्यति बेलाको झगडा र गाली गलौज पनि अहिलेको जस्तै गैरराजनीतिक गुटगत, व्यक्तिवादी र निजात्मक थियो, कुनै वैचारिक–सैद्धान्तिक वा राज्य सञ्चालनका विषयमा केन्द्रित थिएन । विचार र सिद्धान्त गौण तथा व्यक्ति र गुटका निहित स्वार्थले प्रधान्यताप्राप्त विवादको परिणाम प्रायः नकारात्मक रहने गरेका छन् । मूलतः ओली र दाहालबीचको निजात्मक द्वन्द्वले करिब दुईतिहाइ नजिकको कम्युनिस्ट सरकार मात्र ढलेन सात दशक लामो सङ्घर्षको परिणाम स्वरूप निर्मित कम्युनिस्ट किल्लालाई स्वयं निर्माताले नै ध्वस्त तुल्याए, एकीकृत पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो । यस घटनालाई नेपाली राजनीतिक इतिहासको दुःखद अध्याय मान्दा अत्युक्ति हुँदैन तर यति ठूलो क्षति व्यहोरी सक्दा पनि नेताहरूबाट तिनै नकारात्मक चरित्र, प्रवृत्ति र व्यवहारको पुनरावृत्ति भइरहँदा उहाँहरूबीचको विद्यमान द्वन्द्वले आसन्न निर्वाचनलाई प्रतिकूल प्रभावित तुल्याउने हो कि भन्ने चिन्ता बढेको छ । त्यसै पनि दल र उम्मेदवारबीच मित्रवत प्रतिस्पर्धा हुँदा पनि ठाउँठाउँमा शान्ति सुरक्षाको प्रश्न उठ्दै आएको हो ।

निर्वाचन राजनीतिक दलका नेता, कार्यकर्ता र दलका समर्थक मतदाताका लागि इज्जत, प्रतिष्ठा, भाग्य र भविष्यको अहं प्रश्न बन्ने भएकाले उम्मेदवार आफू विजयी बन्न नेता, कार्यकर्ता र पक्षधर मतदाता निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राख्दैनन् । यसर्थ जहिल्यै पनि निर्वाचनको समयमा शान्ति–सुरक्षाको स्थिति निकै संवेदनशील एवं नाजुक रहने गरेका घटना र प्रवृत्तिसँग प्रायः हामी सबै परिचित नै छौँ । आसन्न निर्वाचन, शत्रुतापूर्ण अन्तर्विरोधको कारण,  कम्युनिस्टका तीनवटा घटकका लागि प्रतिष्ठाका लागि मात्र नभई राजनीतिक जीवन–मरणको विषय भएको छ । तीनवटै घटकका नेता कार्यकर्ताको मानसिकता आफ्ना उम्मेदवार जिताउने भन्दा सगोत्रीविरोधी उम्मेदवारलाई हराउनेमा बढी केन्द्रित रहने रुझान रहलाजस्तो आशङ्का बढेको छ । निर्वाचनमा यदि यस्तो रुझान विद्यमान रहेमा शान्ति–सुरक्षाको प्रश्न अहिले सोचेभन्दा पनि नाजुक नहोला भन्न सकिन्न । 

यो वर्ष तीनवटा निर्वाचन हँुदैछन्, तीनवटै निर्वाचन दलहरूको भाग्य र भविष्यसँग मात्र होइन राष्ट्र र लोकतान्त्रिक प्रणालीको भाग्य तथा भविष्यसँगसमेत जोडिएका छन् । तीनवटा कम्युनिस्ट घटकबीचको चरम नकारात्मक सम्बन्धको वातावरणमा आफूले जित्नेमा भन्दा अर्कोलाई हराउने मानसिकतामा सहभागी हुने दललाई कस्तो परिणाम हात लाग्ला ? यस्तो वातावरणमा सम्पन्न हुने निर्वाचनमा कति हौसला र उत्साहसाथ मतदाता सहभागी होलान् र आएको परिणाम देशमा राजनीतिक स्थायित्व कायम गर्न र विकास, शान्ति तथा समृद्धिको जनचाहनालाई पूरा गर्न सफल होला ? तीन शीर्ष वाम नेताले यी सामान्य लाग्ने तर आधारभूत प्रश्नको उत्तर आफैँसँग मागेर अब उताका दिनमा तदनुरूप नीति र व्यवहार अवलम्बन गर्न आवश्यक छ ।