• ८ जेठ २०८१, मङ्गलबार

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

blog

काठमाडौँ, वैशाख १९ गते । दशकौँसम्म सङ्घर्ष गरेर उदाएका प्रमुख राजनीतिक दलको विरासतको लडाइँ, पहिचान पक्षधरको बलियो जनमतको उदय र नयाँ दलको परीक्षण गर्दै इलाम र बझाङको उपनिर्वाचन सम्पन्न भएको छ । 

संविधान सभा अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष सुवासचन्द्र नेम्वाङको विरासतलाई जनअनुमोदन, कम्युनिस्ट पार्टीबिच सहकार्य गर्नुपर्ने सन्देश, नेपाली कांग्रेसलाई अझै प्रभावकारी साङ्गठनिक संरचना निर्माण र पहिचान पक्षधरको आवाजको सम्बोधनको सन्देश वैशाख १५ गते सम्पन्न निर्वाचनले दिएको छ । 

राजनीतिक दलका नेता एवं राजनीतिक विश्लेषकले इलाम र बझाङमा दलहरूको हैसियत देखिएको बताउनुभएको छ । विश्लेषक अरुणकुमार सुवेदीले राजनीतिक रूपमा प्रमुख दलमै आएको रूपान्तरणको अभ्यासले पनि चुनावी परिणाममा प्रभाव पारेको बताउनुभयो । 

दलहरूको जनमत परीक्षण 

इलाम–२ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले उम्मेदवारी दिएन एमालेलाई सघायो । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीसहित १९ उम्मेदवारबिच प्रतिस्पर्धा भयो । 

इलाम–२ मा संविधान सभा अध्यक्ष नेम्वाङका छोरा सुहाङ नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी विजयी हुनुभयो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभयो । स्वतन्त्र डकेन्द्रसिंह लिम्बूले ११ हजार ४५७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बूको जमानत जफत भयो । उहाँले पाँच हजार ५० मत प्राप्त गर्नुभयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्लामा उहाँको पार्टी एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले ४०८ मत प्राप्त गर्नुभयो । 

२०७९ को आवधिक निर्वाचनमा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएको थियो । उपनिर्वाचनमा विजयी उम्मेदवारको मत घटेको छ । 

पहिचान पक्षधरले स्वतन्त्र उम्मेदवारलाई मत दिँदा २०७९ मा कांग्रेसले पाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मत एमालेले प्राप्त गरेको छ । बझाङ क्षेत्र नं. १ (१) मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा एमाले नेता दमनबहादुर भण्डारी ११ हजार ६१३ मत प्राप्त गरी विजयी हुनुभयो । कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६, माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८३१ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत प्राप्त गर्नुभयो । उहाँहरूसहित ११ उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले इलाम र बझाङमा दलहरूको शक्ति परीक्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “इलाममा एमाले–माओवादीको तालमेल हुँदा बझाङमा सबै दलले आफ्नो हैसियत थाहा पाएका छन् । कांग्रेसलाई प्रस्ट सन्देश प्राप्त भएको छ कि अब कांग्रेस साङ्गठनिक रूपमा सशक्त अभियान चलाउनु पर्छ । जनतालाई सुन्ने कांग्रेस र जनताले बुझ्ने कांग्रेस बनाउनै पर्छ ।”

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले इलाममा कम्युनिस्ट पार्टीको सहकार्यलाई जनअनुमोदन प्राप्त भएको बताउनुभयो । एमाले नेता गुरुङले सबै दलको साङ्गठनिक अवस्थालाई उपनिर्वाचनले स्पष्ट गरेको बताउनुभयो । 

माओवादी केन्द्रका महासचिव गुरुङले देशमा एउटै कम्युनिस्ट पार्टी बन्नुपर्ने मतलाई उपनिर्वाचनले बल पु¥याएको बताउनुभयो । उहाँले नेपालमा विविधतापूर्ण ढङ्गले अघि बढेका कम्युनिस्ट पार्टीबिच सहकार्यको बलियो आधार पनि यसबाट निर्माण गर्न सकिने बताउनुभयो । 

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले उपनिर्वाचन साङ्गठनिक अवस्थाको जाँच भएको बताउनुभयो । नेता परियारले रास्वपाले पूर्वी पहाडमा आफ्नो साङ्गठनिक अवस्था बुझ्ने अवस्था पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बझाङमा उम्मेदवारी दिएनौँ । इलाममा नागरिक आफैँ स्वतःस्फुर्त सङ्गठित भएर रास्वपालाई उल्लेख्य मत दिनुभएको छ । अब सङ्गठन निर्माणमा लाग्छौँ ।”

उपमहासचिव खतिवडाले ठुला दलको आर्थिक र साङ्गठनिक चेपुवामा साना दल परे पनि अब यो भाष्य अन्त्य हुने बताउनुभयो । उहाँले विचार र सङ्गठनभन्दा भावनामा मत प्राप्त हुने परिपाटी देखिएको बताउनुभयो । 

कम्युनिस्ट शक्तिबिच सहकार्य 

सत्ता साझेदार एमाले र माओवादीका नेताले इलाम र बझाङको उपनिर्वाचनको परिणामले कम्युनिस्ट पार्टीबिच सहकार्यको सन्देश दिएको बताउनुभयो । एमाले उपमहासचिव गुरुङ र माओवादी केन्द्रका महासचिव गुरुङले उपनिर्वाचनले वामपन्थीबिच सहकार्यको सन्देश दिएको बताउनुभयो । 

एमाले नेता गुरुङले माओवादी नेतृत्वको दूरदर्शी र सकारात्मक निर्णयका कारण पनि इलाममा एमालेलाई जित्न सहज भएको बताउनुभयो । उहाँले एमाले–माओवादीको सहकार्यलाई दूरगामी बनाउन जनमतमार्फत दबाब सिर्जना भएको बताउनुभयो । 

स्टन्ट र प्रचारबाजीलाई धक्का

कांग्रेस महामन्त्री शर्मा, एमाले उपमहासचिव गुरुङ र एकीकृत समाजवादीका नेता खतिवडाले सहरकेन्द्रित स्टन्ट र प्रचारबाजीलाई इलामले धक्का दिएको बताउनुभयो । महामन्त्री शर्माले भन्नुभयो, “पहिचानको पक्षमा मत देखिँदै गर्दा कांग्रेसलाई व्यवस्थित गर्नु पर्छ भन्ने देखियो साथै नयाँ दल भनेर मात्रै हुँदैन, थिति र विधिमा विश्वास गर्नु पर्छ भन्ने सन्देश जनमतमार्फत प्राप्त भएको छ ।”

एमाले नेता गुरुङले राजनीतिक स्थिरताका पक्षमा, समृद्धि र समुन्नतिको पक्षमा नागरिकको मत व्यक्त भएको बताउँदै प्रचारबाजी प्रवृत्तिविरुद्ध जनमत आएको दाबी गर्नुभयो । 

नेता खतिवडाले सहरबजारतिरको फन्डा र स्टन्टले उपनिर्वाचनमा काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर एउटा सन्देश प्रस्ट छ– रूपमा र सारमा दलहरूबिच भएको सहकार्यलाई सैद्धान्तिक, साङ्गठनिक र वैचारिक रूपमा प्रतिबद्धता जनताले खोजेका छन् ।”