टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर २ गते । गुल्मीको शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले मङ्गलाबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बालचर्तुदशी अर्थात् सतबिज छर्ने दिन मङ्सिर ३ गते चन्द्रकोट गाउँपालिकाकै सवैभन्दा ठुलो शान्तिपुर चक्रेश्वर मेला लाग्नेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो ।
शान्तिपुर चक्रेश्वर मेलामा दुई लाख राशीको पालिका स्तरीय भलिवल प्रतियोगीता र ४० हजार राशीको लोक भजन प्रतियोगीता हुने भएको छ । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लवको आयोजनामा चक्रेश्वर मेलामा भलिवल र भजन प्रतियोगीता आयोजना गरिएको हो ।
भलिवलका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमश: दुई लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार मेडल, ट्रफी र प्रमाणपत्रको व्यावस्था गरिएको उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो । थापाका अनुसार उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षकका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै भजन प्रतियोगीतामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमश: ४०, २० र १० हजार रुपियाँको व्यावस्था गरिएको क्लवले जनाएको छ । साढे दुई दशकदेखि उदय शान्ति युवा क्लवले चक्रेश्वर मेला आयोजना गदै आएको छ । बाल चर्तुदशीमा धार्मिक कार्यक्रम बाहेक खेलकुद, बालउद्यानसहितको मनोरञ्जनात्म खेल, चर्चित इन्द्रेणी कार्यक्रमको प्रस्तुती र राष्ट्रिय लोक दोहोरी गायिका शान्ति श्री परियारसहितका बेजोड सांगीतिक कार्यक्रम रहने क्लव अध्यक्ष थापाले बताउनुभयो ।
बाला चर्तुदशीका दिन मङ्सिर ३ गते चक्रेश्वर मन्दिरमा विशेष पूजा हुने गर्दछ । मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र भजनकृतन गर्नेसहित साँस्कृतिक कार्यक्रम गरिने चक्रेश्वर मन्दिर व्यावस्थापन समित गोपाल प्रसाद शर्माले बताउनुभयो ।