• २ मंसिर २०८२, मङ्गलबार

आन्दोलनमा अख्तियारको ४२ करोडको क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २ गते । जेनजी समूहले आयोजना गरेको आन्दोलन तथा प्रदर्शनका क्रममा आपराधिक समूहको आगजानी तथा तोडफोडबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ४१ करोड ७२ लाख एक हजार दुई सय रुपियाँ बराबरको क्षति भएको छ । 

आन्दोलनका क्रममा आयोगको टङ्गालस्थित केन्द्रीय कार्यालयसहित आठ वटा कार्यालयमा आगजानी तथा तोडफोड भएको थियो । आयोगले तयार पारेको विवरण अनुसार सबैभन्दा धेरै क्षति टङ्गालस्थित केन्द्रीय कार्यालयमा भएको छ । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार केन्द्रीय कार्यालयमा २४ करोड पाँच लाख १६ हजार २०१ रुपियाँ बराबरको क्षति पुगेको छ । सवारीसाधनतर्फ २० करोड ३३ लाख ३० हजार रुपियाँ बराबरको क्षति पुगेको छ । त्यस्तै भवनतर्फ ११ करोड रुपियाँ बराबरको क्षति पुगेको छ भने चोरी तथा आगजानीबाट दुई करोड ६१ लाख ८६ हजार रुपियाँ बराबरको क्षति पुगेको छ । आन्दोलनकारीले कार्यालयबाट दुई वटा बस आफैँ चलाएर बाहिर लगेर जलाएका थिए । आन्दोलनकारीले १६ वटा चारपाङ्ग्रे तथा ४५ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजानी तथा तोडफोड गरेका थिए । 

आन्दोलनबाट आयोगको इटहरी कार्यालयमा पाँच करोड ६९ लाख ४३ हजार रुपियाँ बराबरको क्षति पुगेको छ । महोत्तरीको बर्दीबास कार्यालयमा २६ लाख २३ हजार ८०४ रुपियाँ बराबरको क्षति पुगेको छ । त्यस्तै मकवानपुरस्थित हेटौँडा कार्यालयमा तीन हरोड ६९ लाख ९९ हजार दुई सय रुपियाँ, पोखरा कार्यालयमा पाँच करोड आठ लाख २९ हजार रुपियाँ, बुटवल कार्यालयमा दुइ करोड ६९ लाख ५५ हजार चार सय रुपियाँ, सुर्खेत कार्यालयमा १३ लाख ३४ हजार ७०७ रुपियाँ तथा कञ्चनपुर कार्यालयमा १० लाख रुपियाँ बराबरको क्षति पुगेको आयोगले जनाएको छ । आयोगले सम्बन्धित कार्यालय रहेको जिल्ला प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको सामग्रीको विवरणसहित जाहेरी दिएको छ ।