• १२ साउन २०८१, शनिबार

पाँच वर्षमा ठूला पूर्वाधार निर्माण

blog

नवीनशिशिर विक

बागलुङ, वैशाख ७ गते ।  बागलुङको बलेवा विमानस्थल २०४८ सालदेखि बन्द भयो । त्यस यता पटक–पटक भएको निर्वाचनमा विमानस्थल नियमित सञ्चालन गर्ने विषयले सबै राजनीतिक दलको घोषणपत्रमा प्राथमिकता पायो । चुनावी मसला बन्यो तर जहाज चलेन । 

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता सबै राजनीतिक दलका उम्मेदवारले समावेश गरे । बागलुङ नगरपालिकामा जनप्रतिनिधि आएपछि २६ वर्षसम्म बन्द रहेको विमान सञ्चालनमा आएको छ । 

बागलुङ सदरमुकामदेखि विमानस्थलसम्मको पहुँच मार्ग, विमानस्थलमा आवश्यक पूर्वाधारलगायत प्राविधिक दृष्टिले कठिन हुँदाहुँदै पनि बागलुङ नगरपालिकाले सुरुवाती दिनमा विमान कम्पनीलाई आर्थिक बोझ नपर्ने गरी १२ जना यात्रुको सुनिश्चित गरी व्यावसायिक उडान थाल्यो । बन्द भएको २६ वर्षपछि २०७४ चैत ५ गते पहिलो पटक बलेवाको आकाशमा तारा एयरको जहाज उड्यो । सोही महिनाको ९ गतेदेखि हप्तामा दुई व्यावसायिक उडान सुरुवात भएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो । 

अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ । विमानस्थल नियमित सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बागलुङ बजारदेखि विमानस्थलसम्म जोड्न कालीगण्डकी कोरिडोर सडक मार्ग हो । सो खण्डको सडक कालोपत्रेको तयारी भइरहेको छ । नगरपालिकाले जोखिम उठाएर १२ जना यात्रुको सुनिश्चित गरेको भए व्यावसायिक उडान गर्न कठिन थियो । बागलुङ नगरपालिकाले २०७४ सालको पुस २१ गते नगर कार्यपालिकाको बैठकबाट विमानस्थल सञ्चालन गर्न थप आर्थिक व्ययभार बेहोर्नुपर्ने अवस्थामा आएपछि नगरपालिकाले बेहोर्ने निर्णय गरेको थियो । बागलुङ नगरपालिकाले पाँच वर्षको अवधिमा अन्य ठूलो विकास पूर्वाधार पनि निर्माण गरेको छ । 

विश्वकै लामो पुल निर्माण 

सुरुवातको दिनका प्राविधिक दृष्टले असम्भव भनिएको बागलुङ–पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल पाँच वर्षकै अवधिमा सम्पन्न भएको छ । नगरपालिकाले गौरवको योजना विश्वकै लामो (५६७ मी.) झोलुङ्ले पुल निर्माण गरेर बागलुङलाई विश्वसामु चिनाउने काम गरेको छ । हाल झोलुङ्गे पुलको नाम ‘गण्डकी सुनौलो झुला’ गण्डकी ‘गोल्डेन ब्रिज’ भनेर नामकरण गरिएको छ । उक्त पुललाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखाउने प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । पुल निर्माण भएपछि पुल तर्न र अवलोकन भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन वृद्धि हुँदै गएको छ ।

बागलुङ बसपार्क 

बागलुङ बजारमा व्यवस्थित बसपार्क नहुँदा लामो समयदेखि ठूलो समस्या भोग्नुप-यो । सहरीकरण बढ्दै गरेको बागलुङ बजार अव्यवस्थित हुँदा व्यवस्थित बसपार्क निर्माणका लागि २०५९ सालदेखि नै प्रक्रिया शुभारम्भ भएको थियो । तर, काम हुन सकेको थिएन । बागलुङको विकास र व्यवस्थित बजारका लागि बागलुङ नगरपालिकाका स्थानीय ५२ जनाले उपलब्ध गराएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गामा बागलुङको उपल्ला चौरमा बसपार्क निर्माणको काम सम्पन्न भएर हस्तान्तरण भएको छ । 

स्वास्थ्य क्षेत्रमा महìवपूर्ण काम 

बागलुङ नगरपालिकाले विश्वभर फैलिएको कोरोना भाइरसको समयमा विभिन्न रचनात्मक कार्यक्रमहरू गरेर देशव्यापी रूपमा ठूलो प्रशंसा बटुलेको थियो । कोरोना महामारीको समयमा धौलागिरि अस्पतालमा शव व्यवस्थापन नभएको समयमा बागलुङ नगरपालिकाले शव व्यवस्थापनका लागि शव वाहनको व्यवस्थापन गर्नका लागि निकै उत्कृष्ट भूमिका खेलेको थियो ।

अन्तर्राष्ट्रिय समाज बागलुङ, प्रवासी नेपाली सङ्घ बेलायत शाखाको सहकार्यमा बागलुङ नगरपालिकामा टेलिमेडिसिन सेवासमेत सञ्चालनमा ल्याएको छ । बागलुङ नगरपालिका तथा यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य क्षेत्रमा अझै उत्कृष्ट सेवा प्रदान गर्नका लागि विशेषज्ञसहितको टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका–१४ मा १५ बेडको नगर अस्पताल सञ्चालन गरेको छ । वडा तहका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी नभएको वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ । 

चोक सुधार

बागलुङ बजारका चोकहरू साँघुरा हुँदा नगरवासीले सधैँ सास्ती खेप्नुपरेको थियो । नगरपालिकाले पहिलो वर्षदेखि नै बजारका महत्त्वपूर्ण चोक सुधारका कार्यक्रम सञ्चालनमा ल्यायो । जिल्ला प्रशासन कार्यालयअघिको चोक, ट्राफिक चोक, हुलाक चोक, क्याम्पस चोकलगायतका चोकहरू उदाहरण हुन् । चोक सुधारसँगै वर्षाको समयमा बागलुङ बजारमा खोलाजस्तै बग्ने सडक नालीको व्यवस्थापन अर्को महत्त्वपूर्ण काम हो ।

वातावरणीय चिडियाखाना

बागलुङको मालिका क्षेत्रलाई वन्यजन्तु संरक्षण क्षेत्र निर्माणको तयारी गरेको छ । बागलुङ नगरपालिकाले बागलुङको मालिका क्षेत्रमा फैलिएको जङ्गललाई संरक्षण क्षेत्र घोषणा गरी ‘वातावरणीय चिडियाखाना’ निर्माणको कामलाई अगाडि बढाएको हो । बागलुङ नगरपालिका ५, ६ र ७ को उपल्लो भेगमा रहेको जङ्गललाई संरक्षित क्षेत्र घोषणा गरी वातावरणीय चिडियाखानाका रूपमा विकास गर्नका लागि नगरपालिकाले सङ्घीय सरकार, प्रदेश सरकारसँगको सहकार्यमा यो योजनाले मूर्त रूप पाउने क्रममा रहेको नगरपालिकाले जनाएको छ । 

सडक तथा अन्य विकासका योजना 

स्थानीय सरकार स्थापना भएयता बागलुङ नगरपालिकाभित्र प्रदेश सरकारको लगानीमा १५ किलोमिटर र सङ्घीय सरकारको लगानीमा नौ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरेको छ । नगरपालिकामा हालसम्म २३ दशमलव ६६ किलोमिटर कालोपत्रे र ढलान भएको छ । त्यस्तै १३.३५ किलोमिटर पक्की नाली निर्माण सम्पन्न हुनुका साथै १३९ किलोमिटर सडक निर्माण भएको छ । १४.७७ किलोमिटर पैदल मार्ग निर्माण भएको छ भने तीन किलोमिटर तार जाली लगाउने काम सम्पन्न भएको छ ।

पार्कको व्यवस्थापन

जङ्गलका रूपमा विकास भइरहेका शहीद पार्क र वीरेन्द्र ऐश्वर्य पार्कले मुहरा फेरेका छन् । उक्त पार्कलाई आधुनिक र सुविधायुक्त बनाउन थालेको मेयर पौडेलको भनाइ छ । 

फोहोर व्यवस्थापन र राजस्व वृद्धि

बागलुङ नगरको फोहोर व्यवस्थापनको विषयमा नगरका जनप्रतिनिधि आएपछि सबैभन्दा धेरै प्रश्न उठेको विषय हो । जिम्मेवारी पाएको धौलागिरि फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारीले काम नगरेका कारण आएका प्रश्न तथा सुझावको मनन गर्दै नगरले आफैँले फोहोर व्यवस्थापनको काम थालेको छ । जनप्रतिनिधि आउनुपूर्व दुई करोड २२ लाख रुपियाँ रहेको बागलुङ नगरपालिकाको आन्तरिक राजस्व अहिले पाँच करोड १० लाख लक्ष्यमा छ । 

तामाखानी 

बागलुङ नगरपालिकाको पहलमा वडा नं. ९ तित्याङमा तामा खानीको सम्भाव्यता अध्ययनको काम सकिएको छ । चिनिया कम्पनीसँग शुभम् ग्रुपले सहकार्य गरेर गरेको अध्ययनमा तामाको खानी रहेको पत्ता लगाएको छ । खानी विभागको अनुमति कुरी रहेको कम्पनीले काम थाल्दा उत्पादन, राजस्व, स्थानीय वस्तुको व्यापार र रोजगारी सिर्जनालगायतका अवसरहरू प्राप्त हुनेछन् ।