• २२ वैशाख २०८१, शनिबार

ह्याङओभर हटाउने चक्की

blog

बेलायतले रक्सीको ह्याङओभर हटाउने चक्की बनाएको छ । रक्सीका पारखीहरूले यो चक्की निकै मन पराएका छन् । यो चक्की रक्सी सेवन गर्नुअघि खाइन्छ । बेलायतमा यसको बिक्री सुरु भएको छ । बिक्री सुरु हुनुअघि बेलायतमा यसको परीक्षण गरिएको थियो ।

पिएको रक्सीमध्ये ७० प्रतिशतलाई यो चक्कीले ६० मिनेटभित्रमा शरीरभित्रै नष्ट गरी कलेजोसम्म पुग्न दिँदैन । शाकाहारी तथा शतप्रतिशत प्राकृतिक उत्पादनका रूपमा रहेको यो चक्कीले पेटमा ब्यासिलस कोगुलान्स तथा ब्यासिलस सबटिलिस ब्याक्टेरियाका साथै एल सिस्टाइन एमिनो एसिड र भिटामिन बी १२ लाई सक्रिय बनाउँछ । यसले पिएको रक्सीमध्ये ७० प्रतिशतलाई कलेजोमा पुग्नुअघि पेटमै पानी र कार्बनडाइअक्साइडमा टुक्राइदिन्छ । जसले गर्दा रक्सी पिए पनि खासै त्यसको नशा लाग्दैन र ह्याङओभर पनि हुन पाउँदैन ।

हाल बेलायतमा यो चक्की अनलाइनमा उपलब्ध छ र ३० वटा चक्कीको मूल्य ३० पाउन्ड रहेको छ । त्यसमा दुई खालका चक्की छन्, जसमध्ये एउटा रक्सी पिउनुभन्दा १२ घण्टा अगाडि खाने खालको छ भने अर्को एक घण्टाअघि ।

यो चक्कीले शरीरमा ऊर्जा तथा प्रतिरक्षाको स्तरलाई पनि बढाउँछ । जुन चिजबाट यो औषधि बनेको छ त्यसलाई युरोपेली खाद्य सुरक्षा एजेन्सी तथा अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट स्वीकृति प्राप्त छ र सुरक्षित पनि छ तर गर्भवती तथा स्तनपान गराइरहेका महिला र १८ वर्षभन्दा कम उमेरका व्यक्तिका लागि यो चक्कीको सेवन हानिकारक मानिएको छ ।