डा.अर्जुनकुमार खड्का
आर्थिक तथा सामाजिक विकास एवं व्यापारिक उन्नतिको दृष्टिकोणले सन् १९९० को दशक एक महìवपूर्ण उपलब्धि भएको शताब्दीका रूपमा स्थापित हुन पुग्यो । यसै दशकमा नै प्रजातान्त्रीकरण, उदारीकरण, निजीकरणजस्ता कार्यको थालनी हुन गयो भने विश्व व्यापार सङ्गठनले पनि सन् १९९५ बाटै कार्य प्रारम्भ गर्न सफल रह्यो । यी कार्यको प्रतिविम्ब नेपालमा समेत प-यो ।
देशको आर्थिक गतिविधि तथा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महìव दिँदै उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्नका लागि महìवपूर्ण भूमिका निर्वाह गर्न सुरुवात ग-यो । यसै सन्दर्भमा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले यस ऐनको माध्यमबाट धितोपत्र बजारका क्षेत्रमा हुने सबै गतिविधिमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था गर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रोत्साहन गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा गरियो ।
हुन त नेपालमा पुँजी बजारको विकासक्रम वि.सं. १९९३ को कम्पनी ऐन जारी भएपछि सुरुवात भयो । यसैगरी वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडको सेयर निष्कासन भएपछि यसमा थप कोसेढुङ्गा थपिन गयो । यसै प्रकार वि.सं. २०२१ मा संशोधित कम्पनी ऐन जारी भयो भने वि.सं. २०३३ मा सेक्युरिटी खरिद–बिक्री केन्द्र स्थापना गरियो । पुँजी बजारको विकासक्रमकै सन्दर्भमा वि.सं. २०४० मा धितोपत्र कारोबार ऐन तर्जुमा गरियो । यस्तै वि.सं. २०४१ मा धितोपत्र कारोबार ऐनअन्तर्गत सूचीकृत धितोपत्रको कारोबार सुरु भयो ।
यसको अतिरिक्त वि.सं. २०४९ मा धितोपत्र कारोबार ऐनमा प्रथम संशोधन गरी वि.सं. २०५० मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्थापना गर्नुका साथै वि.सं. २०५० मा नेपाल धितोपत्र बोर्डको स्थापना गरी सोही सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड सञ्चालन भयो र वि.सं. २०६३ मा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरी सोही वर्ष धितोपत्रसम्बन्धी ऐन, २०६३ लागू हुन पुगेको अवस्था रह्यो । यस ऐनले मुख्यतः देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालन गर्न पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षणका निम्ति धितोपत्रको निष्कासन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गर्न जोड दिएको अवस्था छ ।
साथै पुँजी बजारको विकासलाई नियमित तथा व्यवस्थित गर्नका लागि नेपाल धितोपत्र बोर्डको नामबाट बोर्डको स्थापना गरिएको अवस्था रहेको छ । यही बोर्डको माध्यमबाटै नेपालमा धितोपत्रसम्बन्धी कारोबारलाई नियमित र व्यवस्थित गरिँदै आएको पाइन्छ । जसको फलस्वरूप हाल नेपालमा ४२ लाखभन्दा बढी सेयरकर्ताले विभिन्न कम्पनीमा लगानी गरेको अवस्था छ । साथै सेयर बजारको तथ्याङ्कले यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्था देखाउँछ ।
तथापि केवल बीस, पच्चीस जना धितोपत्र कारोबारीको हातमा सबै सेयर बजारको साँचो रहेको कुरा बेलाबखत सुन्नमा आउँछ । जुन सेयर कारोबारको सुखद कुरा होइन । साथै धितोपत्रसम्बन्धी कारोबारमा करिब ४४ खर्ब बराबरको लगानी रहेको अवस्था एकातर्फ छ भने अर्कातर्फ पाँच सयभन्दा बढी संस्था यसमा आबद्ध रहेको र २२० लिमिटेड कम्पनी सेयर बजारका लागि लिस्टिङ भएको देखिन्छ । यसरी सेयर बजारमा उत्साह थपिँदै गएको अवस्था रहे पनि नेपालमा बेलाबखत सेयर कारोबारमा भित्री सूचनाको माध्यमबाट धितो बजारमा चलखेल हुने गरेको गुनासो उठ्ने गरेको छ ।
यसमा मुख्य गरेर कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाका क्रममा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानी त्यस्ता गतिविधिमा संलग्न कुनै पनि व्यक्तिलाई सजाय गर्न सक्ने व्यवस्था रहेको पाइन्छ ।
वास्तवमा भित्री सूचनासम्बन्धी कानुनी व्यवस्था अमेरिकाबाट सुरुवात हुन गएको हो । अमेरिकाको स्टक बजारमा सन् १९२९ मा आएको कुचलन अर्थात् स्टक बजार क्रस भएपश्चात् अमेरिकामा ठूलो आर्थिक मन्दी आएको थियो । यस्तो हुनुमा स्टक एक्सचेन्जमा आएको कुलचनलाई मुख्य मानियो । यसैले यस कार्यलाई व्यवस्थित गर्नका लागि अमेरिकी कङ्ग्रेसले सन् १९३४ मा धितोपत्र तथा विनियमसम्बन्धी कानुनी व्यवस्था गरेको थियो ।
यसै ऐनले स्टक एक्सचेन्ज बजारलाई नियमन गर्ने कार्यको प्रारम्भ ग¥यो । यस कानुनलाई धितोपत्र बजारको पहिलो दस्तावेजका रूपमा लिने गरिएको छ । यसैगरी सन् १९८४ मा भित्री सूचना ऐनको निर्माण गरी स्टक एक्सचेन्ज बजारमा हुने भित्री सूचनाको चुहावटलाई न्यूनीकरण तथा रोक्ने कार्यसमेत गरेको अवस्था छ । नेपालको कानुनी व्यवस्थामा भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने सङ्गठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारीलाई लिइएको अवस्था छ ।
हुन त धितोपत्र बजारलाई व्यवस्थित गर्नका लागि थुप्रै कानुनी व्यवस्था रहेको पाइन्छ । उदाहरणका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५, धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५, वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, क्रेडिट रेटिङ नियमावली, २०६८, धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७, सरकारी ऋणपत्र दोस्रो बजार व्यवस्थापन विनियमावली, २०६२, बुक विल्डिङ निर्देशिका, २०७७ लगायत अन्य धेरै कानुनी व्यवस्था रहेको अवस्था छ ।
कानुनी व्यवस्थाको प्रभावकारितालगायत अन्य विविध कारणले गर्दा नेपालमा धितोपत्रसम्बन्धी कारोबारको विकास र विस्तार दिनानुदिन वृद्धि भइरहेको देखिन्छ । मुख्य गरेर देशमा आएको लोकतान्त्रिक शासन प्रणाली, खुला अर्थतन्त्र तथा विश्वव्यापीकरणको प्रभावबाट नै यसको विकासमा जीवन्तता आएको पाइन्छ । साथै नेपालको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने, अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महìव दिँदै उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्ने, आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता, जवाफदेही र प्रतिस्पर्धा कायम गर्न नियमनको व्यवस्था गर्दै सर्वाङ्गीण राष्ट्रिय विकासमा प्रोत्साहन र परिचालन गर्ने कुरा उल्लेख गरेको छ ।
यसका अतिरिक्त प्राप्त आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्नेजस्ता कुरामा जोड दिएको अवस्था पनि छ । यसैले आर्थिक गतिविधिको कार्यलाई नियमित, व्यवस्थित तथा पारदर्शी ढङ्गबाट सञ्चालन गर्नुपर्ने दायित्व रहेको देखिन्छ । धितोपत्र बजारले प्रविधिमा फड्को मार्दै गर्दा लगानीकर्ताले घरमा बसी कारोबार गर्न पाएको अवस्थामा वृद्धि हँुदै आएको छ । जसको कारणले गर्दा कोभिड–१९ को चरम् प्रतिकूल अवस्थामा समेत धितोपत्र बजारमा कारोबार सुचारु रहेकाले लगानीकर्ताले ज्यादै उत्साहका साथ धितोपत्र कारोबारमा लगानी गरेको देखियो । त्यस्तो प्रतिकूल समयमा समेत लगानीकर्ताले धितोपत्र बजारलाई गरेको विश्वासले गर्दा कारोबारमा ऐतिहासिक रेकर्ड स्थापना हुन पुगेको थियो तर धितोपत्र बजार जोखिममुक्त नरहेको हुँदा यस बजारमा लगानी गर्ने लगानीकर्ताले जोखिमको आकलन गरेर मात्र लगानी गर्नुपर्ने अवस्था रहन्छ ।
यसैगरी बजारको सर्वमान्य सिद्धान्तअनुसार धितोपत्र बजार सधैँ बढिरहने मात्र नभई समय क्रममा घटबढ भइरहने बजारका रूपमा धितोपत्रको कारोबार रहने गर्छ । यसैले धितोपत्र बजारमा हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुन्छ । लगानी गर्नुपूर्व उक्त कम्पनीको वित्तीय अवस्था र विविध परिसूचकबारे बढीभन्दा बढी जानकारी प्राप्त गरी आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता मूल्याङ्कन गरेर मात्र लगानीसम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।
देशको आर्थिक विकासका लागि आवश्यक पुँजी परिचालन गर्न पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति धितोपत्रको निष्कासन, खरिद, बिक्रीलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न लगानीकर्ताको सुरक्षालाई व्यवस्थित गर्न आवश्यक छ । साथै नेपाल धितोपत्र बोर्डलाई जवाफदेही, अनुशासित तथा कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारण लगानीकर्ताले पाउनुपर्ने सेवा छिटो, छरितो तथा पारदर्शी हैसियतबाट प्राप्त हुन सकोस् भन्ने अभिप्राय नियमनकारी निकायमा हुन आवश्यक देखिन्छ ।
साथै भित्री व्यापार, असामान्य व्यापार, हेरफेर र सट्टा व्यापार तथा नेप्से एवं धितोपत्र बोर्डमा प्रत्यक्ष तथा निगरानी प्रणालीको विकास र विस्तार गर्नुपर्ने देखिन्छ । यस्तो कार्यले गर्दा सेयर बजारमा हुने अस्वाभाविक कारोबारलगायतका सेयर कारोबारसम्बन्धी अन्य अनियमिततालाई नियन्त्रण गर्न सकिने अवस्था रहन्छ । यसैगरी राष्ट्र बैङ्कले हाल कायम गरेको सेयर कारोबारमा व्यवस्था गरेको मार्जिनल लेन्डिङसम्बन्धी प्रावधान अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गर्दा बढी प्रभावकारी हुने देखिन्छ ।