• २३ असार २०८१, आइतबार

ताप्लेजुङको याङ्मा केन्द्रमा ६० जना मतदाता

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ५ गते ।
ताप्लेजुङमा आसन्न स्थानीय तह निर्वाचनमा याङ्मा मतदान केन्द्रमा जिल्लाकै थोरै मतदाता सहभागी हुने भएका छन् । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाको याङ्मास्थित याङ्मा आधारभूत विद्यालय मतदान केन्द्रमा ६० जना मात्र मतदाता सहभागी हुने भएका हुन् ।

याङ्मा जिल्लाकै दुर्गम तथा उच्च हिमाली बस्ती हो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा याङ्मा मतदान केन्द्रमा ३० जना पुरुष र ३० महिला गरी ६० जना मतदाता सहभागी हुने भएका जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जिल्लाका १२२ मतदान केन्द्रमध्ये सबैभन्दा न्यून मतदाता याङ्मा केन्द्रमा रहेका जानकारी दिनुभयो ।

निर्वाचन अधिकारी खनालले याङ्मापछि कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाकै वडा ६ लेलेपको ग्याब्लामा रहेका जिल्ला जानकारी दिनुभयो । उहाँका अनुसार ग्याब्लास्थित ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्रमा ७० जना मतदाता हुने छन् । यस्तै, सबैभन्दा बढी आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलमा मतदाता हुने भएका छन् । एकैठाउँ अर्थात् सो विद्यालयमा तीन वटा मतदान केन्द्र रहने र त्यहाँ दुई हजार ७१८ मतदाताले सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

हाङ्पाङपछि तीनवटै मतदान केन्द्र रहेको फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित जनता माध्यमिक विद्यालय मतदान स्थलमा दुई हजार ६८३ जना मतदाता रहनेछन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको कालिका माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पनि दुई हजार ५८७ मतदाताले सहभागिता जनाउने छन् । कालिका माविमा पनि तीनवटै मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान स्थलको सङ्ख्या भने ७३ छ ।

यता ताप्लेजुङमा स्थानीय तहको निर्वाचनमा ८९ हजार ६८० जना मतदाता सहभागी हुन पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार वैशाख २९ गते १८ वर्ष पूरा भई उक्त सङ्ख्यामा मतदाताले मतदान गर्न पाउने भएका हुन् । यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा यो सङ्ख्या १८ हजार ९०२ ले बढी हो । गएको स्थानीय तह निर्वाचनमा ७० हजार ७७८ मतदाता रहेका थिए ।

नौवटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा १७ हजार २०२ जना मतदाता रहेका छन् । त्यस्तै सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा छ हजार ९६७ मतदाता रहेका निर्वाचन कार्यालयको तथ्याङ्क रहेको छ । ताप्लेजुङमा यसपटक नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)सहित आठवटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउनेगरी दल दर्ता गराएका पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।