• १७ असार २०८१, सोमबार

स्ट्रबेरी खेतीबाट किसान उत्साहित

blog

नवलपरासी, वैशाख ३ गते । पछिल्लो समयमा देवदह नगरपालिकाका युवा स्ट्रबेरी खेतीप्रति आकर्षित भएका छन् । नगरपालिकाको वडा नं. ३ सिसपुरमा दुई वर्षअघि देवदह ग्रिनएग्रो रिसर्च एन्ड रिसोर्स नामक कम्पनी खोलेर थालिएको स्ट्रबेरी खेतीले राम्रो आम्दानी दिन थालेको देखेपछि सामूहिक खेतीमा लागेका युवा उत्साहित भएका हुन् । 

कम्पनीका मुख्य लगानीकर्ता एवं संरक्षक हीरा केसीले नमुना खेतीका रूपमा गरिएको व्यावसायिक खेतीबाट राम्रो उत्पादन हुन थालेकाले आफूहरू निकै उत्साहित भएको बताउनुभयो । उहाँको फार्मबाट अमेरिकन प्रजातिको स्ट्रबेरीको उत्पादन भइरहेको छ । कम्पनीले दुई बिघा क्षेत्रफलमा पहिलो वर्ष १२ हजार बिरुवा लगाएर १५ हजार किलो स्ट्रबेरीको उत्पादन गरी बजार पठाइएको जनाएको छ ।  

अहिले उहाँको कम्पनीले स्ट्रबेरीको बीउ उत्पादन गरेर अन्य युवा समूहलाई पनि यस्तो खेतीमा लाग्न सहयोग गर्न थालेको कम्पनीका सचिव राजेन्द्र न्यौपानेले बताउनुभयो । सुरुमा कम्पनीले अमेरिकाबाट नै बीउ ल्याएर परीक्षणका रूपमा खेती थालेको थियो । 

अमेरिकन प्रजातिको स्ट्रबेरी यो क्षेत्रको तापक्रम तथा वातावरणमा उपयुक्त साबित भएको कम्पनीका कृषिविज्ञ भोजराज भट्टले बताउनुभयो । उहाँको अनुसार अमेरिकन प्रजातिको यो स्ट्रबेरी मङ्सिरमा लगाएर चार महिनापछि लिन सकिन्छ । बजारमा स्ट्रबेरी प्रतिकिलो सात सयदेखि आठ सय रुपियाँमा बिक्री हुँदै आएको छ । 

यसका साथै कम्पनीले बालुवामा उत्पादन हुने गरेको खरबुजाको खेती पनि सामान्य माटोमा नै उत्पादन गर्न थालेको छ । यसले पनि राम्रो उत्पादन दिएको कम्पनीको दाबी छ । कम्पनीले आधुनिक प्रविधि प्रयोग गरी टमाटर, काँक्रा, गोभीलगायतका तरकारीको पनि व्यावसायिक खेती गर्दै आएको छ ।