• ७ जेठ २०८१, सोमबार

संवत्को धर्म

blog

शीतल गिरी 

विक्रम संवत् प्राचीनकालदेखि हिमवतखण्ड नेपालमा चलनचल्तीमा आइरहेकाले यो संवत्ले नेपालको ऐतिहासिक धरातल जीवन्त छ । विक्रम संवत् नेपालको आदि र मौलिक संवत् हो । काल गणनाबेगर इतिहास जान्न पनि सकिन्न र भविष्यको कल्पना कोर्न पनि सकिन्न । त्यसैले सभ्य मानवसमाजका लागि काल गणना एउटा अत्यावश्यक वस्तु हो । काल गणनाको आधारमा इतिहासले भन्दैछ– बेलायती साम्राज्यको अधीनमा परेका राष्ट्र चीन, भारत, पाकिस्तान, श्रीलङ्कालगायत एसियाली देशले आफ्ना मौलिक संवत् बचाएर राख्न सकेनन् तर नेपालमा सार्वभौमसत्तालाई दखल गरेर कुनै विदेशीले आफ्नो साम्राज्य स्थापित गर्न नसकेकाले विक्रम संवत् यथावत् रूपमा सञ्चालित हुँदै आएको हो । त्यसैले विक्रम संवत् नेपालको सार्वभौमसत्ताको इतिहासमा आफैं एक प्रमाण हुन पुगेको छ । 

संसारमा काल गणनाको आधारमा सूर्यमानक र चन्द्रमानक दुबै पात्रो चलनचल्तीमा छन् । तीमध्ये कुनै एउटा पात्रोको आधारमा एउटा विशेष कालखण्डलाई प्रतिनिधित्व गर्ने प्रथालाई संवत् भन्ने गरिएको छ । विश्वमा प्रचलित संवत्हरूमध्ये अधिकांश संवत् कुनै धर्म, धार्मिक नेता, शासक वा जातिको नाममा प्रचलनमा ल्याइएका छन् । नेपालको प्रारम्भिक इतिहास अत्यन्तै अस्पष्ट र अनुमान तथा किंवदन्तीले भरिएका छन् । किराँत कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन ।  नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक आयामको देश हो । यहाँ भाषिक, धार्मिक तथा सांस्कृतिक सद्भाव र समन्वय छ, यही नै यहाँको मौलिकता हो । 

नेपालको परिचय बुद्ध, सगरमाथा र यहाँका अनेक सांस्कृतिक चाडपर्व नै हुन् । इतिहास एउटा ऐना हो, जसमा देश, समाज तथा महान व्यक्तिको जीवनगाथा सुरक्षित भएको हुन्छ । चैत मसान्तको दिन कोपिला लाग्ने सलहेस नामक फूलले विस्तारै आकार लिँदै नयाँ वर्षको बिहानीसँगै मालाको आकारमा फुलेर विक्रम संवत्को स्वागत गर्छ । यो प्राकृतिक चमत्कारको दर्शन गर्न नेपालका विभिन्न भागदेखि भारतबाट समेत असङ्ख्य नरनारी आउने गर्छन् । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्का ग्रह, नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । विक्रम संवत्ले वैदिककालदेखि प्रारम्भ हुँदै आएका महिना, बार र तिथिहरूको मान्यता गर्दै आएको छ । 

बिक्रम संवत् बारेमा अनेकौं विवाद पनि प्रस्तुत गर्ने कार्य भइरहेका छन् । विक्रम संवत् नेपालको आदि संवत् हो । विक्रम संवत् हिमवतखण्ड नेपालमा विभिन्न साना राज्य राष्ट्रिय एकीकरण हुनुभन्दा अघि र पछि प्रचलित हुँदै आएकाले नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनारायणको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर गौरवमय विक्रम संवत् उल्लेख गरेका थिए । 

विक्रम संवत्को चलनचल्ती नेपालमा मात्रै सीमित थिएन । नेपालबाहिर पनि यो संवत्को मान्यता थियो । विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई २३ वटा अभिलेख खोजी गरी लिच्छवीकालमा उल्लेखित संवत्लाई विक्रम संवत् ठह-याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्वी भागको इतिहासमा लेखेका छन्, “मानदेवको पालाको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् ‘विक्रम संवत्’ हो ।” यसैगरी नेपालका खोजकर्ता शङ्करमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् मानेका छन् । चाँगुनारायणलगायत लिच्छवि शासनकालका उल्लेखित संवत्हरू विक्रम संवत् नै मानिन्छन् । लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । 

जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा  ‘विक्रम राज वर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अङ्कित अभिलेखमा विक्रम संवत् १२९७ उल्लेख छ । गोरखाको रामेश्वर मन्दिरको रामशाहको अभिलेखमा विक्रम संवत् १६९३ उल्लेख छ । अछामको वरदादेवी मन्दिरमा विक्रम संवत् १७७९ पौष उल्लेख छ । राजा भूपतेन्द्र मल्लले विक्रम संवत् १७६३ उल्लेख गरेको भुवनलाल प्रधानले उल्लेख गर्नुभएको र जयप्रकाश मल्लले विक्रम संवत् १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरिदिएको इतिहासविद् नयराज पन्तले ‘इतिहास संशोधनको प्रमाण’ मा उल्लेख गर्नु भएको छ । विक्रम संवत् नेपालको राष्ट्रिय संवत्का रूपमा प्रचलित हुँदै आएकाले जंगबहादुरले मुलुकी ऐनलाई विक्रम संवत् १९१० मा संग्रह गरी यही संवत् उल्लेख गरेका थिए । 

कतिपय व्यक्तिले विक्रम संवत् भारतको उज्जयनीबाटै उठान भएको हो भनेर लेख्ने गर्छन् तर इतिहासशिरोमणि बाबुराम आचार्यले लेख्नु भएको छ, “जुन समय ई.पू. ५८ वर्षमा यो संवत् उठान भएको थियो, त्यो समयमा भारतको उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयनीमा खण्डहरको उत्खनन् हुँदा पनि त्यस समयमा विक्रमादित्य भएको चिह्न भेटिएको छैन ।” हो, चौथो शताब्दीतिर उज्जयनीको राजा भई सन् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्यालाई आफ्नो कब्जामा लिई राजधानी बनाएपछि तामाको सिक्कामा चन्द्रगुप्त द्वितीयले आफूलाई  ‘विक्रमादित्य’ अंकित गराएका थिए । 

नेपालका लिच्छवि राजासँग मगदका गुप्त राजा प्रभावित भएकोले चन्द्रगुप्त प्रथमले नेपालका लिच्छवि राजाकी कन्यासँग वैवाहिक सम्बन्ध जोडेकोले सन् ३३० तिर आफ्नो मुद्रामा ‘लिच्छवयः’ र ‘लिच्छवि दौहित्री’ अङ्कित गरेकोले नेपालका लिच्छवि राजाहरूको पराक्रमको प्रभावले चन्द्रगुप्त द्वितीयले ‘विक्रमादित्य’ को उपाधि अवलम्वन गरेको हुन सक्छ । इतिहासविद् दिनेशराज पन्तले विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णाङ्क ३९) उल्लेख गर्दै विक्रम संवत् १७२१ मा वीरमर्दन शाहको दरबारमा जोतिष काम गरी विर्ता वितलप रागिनासमा पाई बस्याका सदानन्द जोशी हुन् भन्नुभएको छ । इतिहासकार ज्ञानमणि नेपाल लेख्नुहुन्छ, “मध्यकालमा  बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । भक्तपुरमा नयाँवर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्काः जात्रा मनाइन्छ । तराईमा थारुहरू वैशाख सुरु हुने दिनदेखि सिरुवा जात्रा मनाउँछन् ।” अरुणकुमार पाण्डे लेख्नुहुन्छ, ‘सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रह, नक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणना पद्धति सुरु हुन्छ ।’

नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समेटेको छ । वैदिककालदेखि प्रचलित तिथि र बारहरूको अबलम्वन गर्दै आएको विक्रम संवत्मा तिथि थपघट भइरहने हुनाले शासनव्यवस्थामा धेरै अपठ्यारो भएकोले ज्योतिषहरूको सल्लाह र सुझावमा प्रशासकीय व्यवस्थामा सजिलोका लागि चन्द्रशमशेरले तिथि र बारमा कुनै तलमाथि नगरी विक्रम संवत् १९६१ वैशाख मेष सङ्क्रान्तिदेखि गतेमा लेख्ने चलन चलाएका हुन् । कहिले तिथि हराउने, कहिले एकै दिन दुइटा तिथि आइपर्ने हुनाले विक्रम संवत्लाई गतेबाट लेख्ने चलन चलाएपछि अरू संवत्को दाँजोमा विक्रम संवत् व्यावहारिक देखिएको हो । विक्रम संवत् १९६१ सालदेखि मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैका आधारमा महिनाका दिन निर्धारण गरिएका हुन् । त्यसैले विक्रम संवत् नेपालको गौरवमय पहिचान हो ।