• २८ चैत २०८२, शनिबार

समय सकस र छेपारो (कविता)

blog

म त्यही काँध हुँ–

जो तपाईं दुःखको खाडलमा खसेको बेला

भ¥याङ बनाएर उक्लिनुभएको थियो– माथि

म त्यही आँखा हुँ–

जसको दृष्टिले पार्नुभएको थियो

आफ्ना सपनाहरू आलोकित 

म त्यही एक्लो रुख हुँ–

जसले प्रतिकूलताको चर्को घाममा

बगाएको थियो शीतल हावाको नदी ।

म त्यही बाटो हुँ–

जसले तपाईं दिशाहीनताको जङ्गलभित्र हराइरहेको बेला

बिछ्याएको थिएँ आफ्नै छाती

र त्यहीँ टेकेर पुग्नुभएको थियो तपाईं

आफ्नो गन्तव्य ।


तर आज अलिक पृथक् हुलियामा उपस्थित भएको छु 

मेरा पाखुरीको अविचलित पहाडमा

खस्न थालेको छ प्रतिकूलताको भग्न पहिरो

बेरोजगारीको खर्पनमा– 

बोकी हिँड्नु परेको छ केही मुठा दुःख र गरिबी

बग्न थालेको छ मेरो समयको खोला– उल्टो

परिस्थितिको बाटो घुमिफिरी

आफ्नै विवशताको आँगन टेक्न आइपुगेको छ

बदलिएको समयको प्रतिछाया देखेर मेरो अनुहारमा

तपाईं बारम्बार इन्कार गरिरहनुभएको छ

मलाई चिन्न ।

 

म त्यही औँला त हुँ–

जसले हालेको भोटको चोर औँला समाएर

तपाईं पुग्नुभएको थियो– सत्ताको धुरी ।


धेरैपछि–

तपाईंको जिन्दगीको रङ देखेर

मलाई बेस्सरी छेपारोको याद आइरहेछ ।