• २८ चैत २०८२, शनिबार

अखाद्य वस्तु फेला परेपछि डुम्रेमा निगरानी कडा

blog

डुम्रे बजारमा अनुगमन गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, चैत २८ गते ।
तनहुँको प्रमुख व्यापारिक केन्द्र डुम्रे बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेपछि स्थानीय प्रशासन र बन्दीपुर गाउँपालिकाले बजार अनुगमन र निगरानीलाई थप कडाइ गरेका छन् । चार जिल्ला (तनहुँ, गोरखा, लमजुङ र मनाङ)को मुख्य ट्रान्जिट रहेको डुम्रे बजारमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको पाइएपछि अनुगमनलाई ‘नियमित अभियान’ का रूपमा अघि बढाइएको हो ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन टोली संयोजक पञ्चमाया गुरुङले अनुगमन केवल औपचारिकता नभई सुधारका लागि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसपटक म्याद नाघेका सामाग्री जफत गरेर मात्र छाडेका छैनौँ, अब उप्रान्त यस्ता गल्ती दोहोरिएमा कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया सुरु गर्ने छौँ ।” उहाँका अनुसार, पत्रिकामा खानेकुरा बेर्ने पुरानो र हानिकारक प्रचलन हटाउन समेत व्यवसायीहरूलाई कडा निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा २९ हजार रुपियाँ बढीको अखाद्य सामग्री नष्ट गरिएको घटनापछि बजारमा अहिले व्यवसायीहरू सचेत बन्न थालेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका खाद्य निरीक्षण अधिकृत ज्योति आचार्यले अबका दिनमा बजारमा ‘सरप्राइज चेक’ (अचानक अनुगमन) बढाउने बताउनुभयो । “हाम्रो टोलीले पसलहरूमा दर्ता, सरसफाइ र खाद्य वस्तुको लेबल अनिवार्य चेक गरिरहेको छ,” आचार्यले भन्नुभयो ।

यसअघिको अनुगमनमा म्याद नाघेका बिस्कुट, जुस, चिसो पेय पदार्थ र अखाद्य सामग्री फेला परेपछि उपभोक्ताहरूले यस्तो कार्यलाई निरन्तरता दिन माग गरेका छन् । अहिले बजारमा सरसफाइमा विशेष ध्यान दिन र अखाद्य वस्तु हटाउन व्यवसायीहरूलाई निर्देशन दिइएको छ । अनुगमनमा वडा अध्यक्ष शिवकुमार श्रेष्ठ र सुरक्षा निकायको सक्रिय उपस्थिति थियो ।