• २८ चैत २०८२, शनिबार

विराटनगरमा गोल्डकप सुरु, झापा–आर्मी भिड्दै

blog

शशिधर पराजुली 
विराटनगर, चैत २८ गते ।
एतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ ।

आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।

वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि अवसर दिइएको छ ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरू चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, तीन विभागीय टोलसँगै भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमीको पनि सहभागिता रहनेछ ।

वैशाख ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ११ लाख रुपियाँ र उपविजेताले ५ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । करिब १ करोड ५ लाख रुपियाँ बजेट अनुमान गरिएको यस गोल्डकपले विराटनगरमा फुटबलको माहोल पुनः तताउने अपेक्षा गरिएको छ ।