• २८ चैत २०८२, शनिबार

मालिकाका अधिकांश योजना कार्यान्वयन चरणमा

blog

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी,चैत २८ गते ।
म्याग्दीको मालिका गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएका योजना तथा कार्यक्रमको कार्यान्वयनमा तीव्रता आएको छ ।

गाउँ सभाबाट स्वीकृत १४० योजनामध्ये २१ वटा सम्पन्न भएका छन् भने ९४ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा पुगेका छन् । बाँकी योजना पनि सम्झौताको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो । 

उहाँका अनुसार ठेक्का मार्फत कार्यान्वयनमा लगिएका चार वटा योजना सम्झौता भएर काम अघि बढेका छन् । सम्झौता भई काम अघि बढेका योजनाहरूलाई समयमै सम्पन्न गर्न अनुगमन र प्राविधिक कर्मचारीलाई फिल्डमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । 

गाउँपालिकाले शुक्रबार आयोजना गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारितासम्बन्धी सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत ढकालले हाल सम्मको गाउँपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार चालुतर्फ १६ करोड ३१ लाख ९ हजार ४२२ रुपियाँ तथा पूँजीगत तर्फ एक करोड ४७ लाख ६८ हजार ७४० रुपियाँ खर्च भएको जानकारी गराउनुभयो । गाउँपालिकाको चालुतर्फ ३४ करोड ७३ लाख,६७ हजार ८४९ र पूँजीगत तर्फ १६ करोड १७ लाख ६९ हजार पाँच सय रुपियाँ बजेट विनियोजना भएको थियो ।

गाउँपालिकाले अहिले सम्म पचास लाख रुपियाँ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी गराउनुभएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायत पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । गाउँपालिकाबाट विनियोजन भएका योजना तथा कार्यक्रमहरूलाई समयमै सम्पन्न गर्न जनप्रतिनिधि र कर्मचारीहरू कार्यक्षेत्रमा सक्रिय भएर परिचालन हुन पालिका अध्यक्ष गर्बुजाले अनुरोध गर्नुभयो ।