• २७ चैत २०८२, शुक्रबार

तथ्यमा आधारित नीति र सुशासनले मात्रै स्वास्थ्य प्रणाली बलियो बनाउँछ : सचिव देवकोटा

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा

काठमाडौँ, चैत २७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा आयोजित ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै सचिव देवकोटाले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताउनुभएको हो।

यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’ प्रति ऐक्यबद्धता जनाउँदै उहाँले पाँच वटा मुख्य आधारहरू अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले अनुमानका भरमा नभई विश्वसनीय तथ्याङ्क र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरुदण्ड भएको स्पष्ट पार्नुभयो । 

विश्वव्यापी रूपमा देखापरेका सङ्क्रामक रोग, नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीहरूलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अहिले झनै बढेको उहाँको तर्क छ । 

उच्च कार्यक्षमता भएको स्वास्थ्य प्रणालीका लागि सुशासनलाई जग मान्दै उहाँले यसमा पारदर्शिता, जवाफदेहिता र विधिको शासन हुनुपर्ने बताउनुभयो । 

स्वास्थ्य सेवा प्रवाहलाई कुशल, उत्तरदायी, समतामूलक र समयसापेक्ष बनाउनुपर्नेमा उहाँको जोड छ । सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबिच खाडललाई कम गर्न अनुसन्धानका निष्कर्षलाई व्यवहारमा उतार्ने प्रक्रियालाई तिव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।