भुवन कार्की
रुपन्देही, चैत २८ गते । रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा स्थापना भएको सैनामैना प्राकृतिक चिकित्सालय (सामुदायिक अस्पताल) मा विभिन्न प्राकृतिक पद्धतिबाट उपचार हुने गरेको छ। विशेषगरी जडीबुटीजन्य औषधि तथा थेरापीमार्फत यहाँ बिरामीको उपचार हुने गरेको हो।
वि.सं. २०७६ सालदेखि सेवा सुरु गरेको यो चिकित्सालय (अस्पताल) अहिले निकै लोकप्रिय बनेको छ। रुपन्देही मात्र नभई नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत यहाँ बिरामी आउने गरेका छन्। यस अस्पतालमा फुड थेरापी, अकुपञ्चर, कपिङ, माटो स्नान, डिलक्स हाइड्रो मसाज, पोटली मसाज, शिरोधारा, स्टीम बाथ, कटि बस्ती मसाज, हिप बाथ, प्लेन डिलक्स आर्म तथा फुट बाथलगायतका पद्धतिबाट उपचार हुने गरेको अस्पतालका अध्यक्ष चित्रबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार यहाँ बिरामीको उपचार पूर्ण रूपमा प्राकृतिक पद्धतिबाट गरिन्छ।
कुल सात बिघा क्षेत्रफलमा फैलिएको अस्पतालको पाँच बिघा क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी रोप्ने काम भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो। त्यसका लागि डीजीएम नामक गैरसरकारी संस्थासँग सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो। उक्त क्षेत्रमा ९ सय वनस्पति प्रजातिका बिरुवा रोप्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
अस्पतालका सचिव रामबहादुर कुँवरका अनुसार विस्तृत योजनाअनुसार दुई बिघा क्षेत्रमा भौतिक संरचना निर्माण भइरहेको छ।
हाल अस्पतालमा १८ जना बिरामीलाई प्राकृतिक पद्धतिबाट उपचार भइरहेको डा. अश्मी क्षेत्रले बताउनुभयो। नवलपरासीको गैँडाकोटबाट श्रीमान्को उपचारका लागि आउनुभएकी प्रिया रानाले अस्पतालको सेवा–सुविधा निकै राम्रो रहेको प्रतिक्रिया दिनुभयो। अन्य ठाउँमा उपचार गराउँदा निको नभएपछि यहाँ आएको र बिरामीमा सुधार देखिएको उहाँले बताउनुभयो। अस्पतालका चिकित्सक तथा कर्मचारीको व्यवहार पनि राम्रो रहेको उहाँको भनाइ छ। उपचाररत बिरामी दुर्पता पौडेलले पनि अस्पतालको उपचारबाट आफू सन्तुष्ट रहेको बताउनुभयो र स्वास्थ्यमा सुधार भइरहेकोमा खुसी व्यक्त गर्नुभयो।
वि.सं. २०६९ सालमा भोगाधिकार पाएको यस अस्पताललाई चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपियाँ बजेट उपलब्ध गराएको छ। पञ्चतत्वको प्रयोगबाट उपचार हुने यो अस्पताल समुदायमा लोकप्रिय बन्दै गएकाले राज्यले थप लगानी गरी सहयोग गर्नुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो। यस अस्पतालले जडीबुटी उत्पादन, प्रशोधन तथा बजारीकरण गर्ने लक्ष्य समेत लिएको उहाँले जानकारी दिनुभयो।