• २८ चैत २०८२, शनिबार

जहरसिंहपौवा छिचोलेर हेलम्बुतिर

blog

सपना त रोप्नुपर्ने रहेछ जमिन नै नभए पनि । पानीको आसमा मात्र हैन मरुभूमिमा पनि बिउ त छरिराख्नुपर्ने रहेछ । वर्षा त अकस्मात् हुने रहेछ । विश्वासको ब्यिाडमा सम्भावनाको सलिला नित्य लहराउँछ । सुकेर पराल भइसकेका सपनाका जरा ढुङ्गामा भए पनि सार्दै जानुपर्ने रहेछ । आशाका जरा त पुनः बाँच्दा रहेछन् ।

बर्सौंअघि देखेकी थिएँ हेलम्बुमा बसेकी राजेश्वरीलाई । मस्तिष्कको क्यानभासमा राजेश्वरीको शृङ्गारिएको मुहार कोरेकी थिएँ । आज पनि देख्छु, उद्देश्यले भरिएका ती तेजस्वी आँखा । फेरि तुरुन्तै देख्छु, अनायासै फुस्किएका राजेश्वरीका केश । दन्कँदो चिता । जीवनप्रतिको अतिव अनुराग । मृत्युको आँधीहुरी । अट्टहास गरिरहेको दरबार । नारीभित्रकै डरलाग्दो जलन, छल र कपट । राजेश्वरीको विवशता । आफ्नाबाट पाएको धोका । जीवनको दर्दनाक अन्त्य । मृत्यु उत्सव । 

सरलता, त्याग र समर्पणको बलियो पहरा लिएर कान्तिपुरभन्दा पर हेलम्बुमा निर्वासित जीवन भोग्दै बसेकी राजेश्वरीको मन किन कसैले पढ्न सकेनन् ? हेलम्बुको एकान्तमा म आज पनि देख्छु प्रिय राजेश्वरीलाई । जीवनको कोमल फूल अक्करमा सारेर पनि लुछिइन् राजेश्वरी । कपटी, छलीको अगाडि मानवताको मदानी जति घुमाए पनि अन्ततः राजेश्वरीलाई जबरजस्ती बल्दो चितामा धकेलियो । देख्छु आज पनि दया, माया, प्रेम र करुणाले बोलिरहेकी राजेश्वरीलाई । हेलम्बुको भूमि चुम्ने वाञ्छा तीव्र थियो, लाग्थ्यो हेलम्बुमा भेट्छु कि राजेश्वरीको पदचाप ! तर सपनाको लहरो चुँडिएर बर्सौं वर्ष हराएँ कान्तिपुर नगरीमा । थाहै थिएन मलाई, एकदिन अचानक बलम्बुबाट पुग्ने छु हेलम्बुको भूगोल चुम्न । त्यसैले सपना त नित्य कोरल्नै पर्ने रहेछ । समयले बरु झुक्याउन सक्छ तर सपना त बर्सौंपछि पनि फुल्दो रहेछ । त्यसैले नमिल्क्याउनूस् सपना । सपना त रक्तबिज झैँ पुनः पुनः बाँचिरहने रहेछ । 

मनभरि विचारको नदी बगाएर जोरपाटीको ओरालोमा दगुरेका पाइला हतारमा छन् । बाटोमा भेट हुन्छ स्रष्टा पदयात्री वासुदेव ठकुरी । गङ्गा भेटवाल सरले हिजै भन्नुभएको थियो, “अनिता म्यामले गाडी जोरपाटीमा लाग्छ जो अगाडि पुग्छ ऊ नै अगाडि बस्न पाउने नियम छ है ! तपाईंलाई त टाढा नै प¥यो कसरी आउनुहुन्छ ?” तँ आँट म पु¥याउँछु भन्छ रे समय । मलाई विश्वास लाग्यो बर्सौंपछि सहज भएर आएको समयप्रति र भनेँ, “हुन्छ सर म समयभन्दा अगाडि पुगिसक्छु ।” जोरपाटी पुग्ने म तेस्रो भएकी छु । चालक सिटपछाडिको तेस्रो सिट सुरक्षित भयो । आरामदायी गाडी फराकिलो रहेछ । घुँडाले दुःख पाएन । मन हाँस्यो । श

सँगैका यात्री सोध्नुहुन्छ, “पठाओमा आउनुभयो म्याम ?” 

म पनि मक्ख पर्दै सुनाउँछु, “हैन सर गाडीमै आएँ ।”

नाडीको घडी हेर्दै सोध्नुहुन्छ, “कति बजे चढ्नुभयो त गाडी ?” 

मैले पनि घडी हेरेँ ६:१५ भएको रहेछ । ६:३० मै आइपुग्ने उर्दी थियो शीतल गिरीदाइको । ७ बजे त कुनै पनि हालतमा गाडीले जोरपाटीको भूमि छोड्छ भन्दै हुनुहुन्थ्यो । मलाई समयसँग जिस्किन मन लागेन । समय त साँच्चै ईश्वर पो रहेछ । 

महाभारत सिरियलमा मैले सुनेकी छु, समयको आवाज । ‘मै समय हूँ मै साक्षी हूँ ...जो हुआ, जो हो रहा है...और जो होगा ...’ भनेर कथा सुरु गर्ने पात्र समय थियो । त्यो शक्तिशाली आवाज लिएर बिहानैदेखि आएका थिए हरिश भिमानी गुर्जुधारा र भन्दै थिए, ‘म नै समयको कथा वाचक हूँ । म नै समय हूँ समयमा उठ ।’ 

भिमानकी चेलीले भिमानीलाई निर्ढुक्क सँवादी छे । अहो कस्तो सुन्दर सोच बिआ चोपडाको । हरिश भिमानी मलाई सुनाउँछन् आफ्नो भूमिका, “म समय, कथाभित्रको पात्र होइन तर निकै शक्तिशाली पात्र हूँ । जे हुन्छ सबैको साक्षी म नै हूँ । समयको प्रतिनिधित्व गर्ने दार्शनिक कथावाचक हूँ । जसले महाभारतको सिङ्गो कथा दर्शकलाई सुनाएको थिएँ । म समय हूँ ।” महाभारतको त्यो अमर आवाज मेरो कानमा गुञ्जायमान हुँदै गयो ।  साँच्चै समय नै सम्पत्ति रहेछ । समयलाई चिन्न सक्ने मान्छेले शान्तिको स्वर्ग भेट्दो रहेछ । समृद्धिको संसार बनाउँदो रहेछ । त्यसैले मलाई समयरूपी हिरा फाल्न मन लाग्दैन । एक/एक मिनेटको कति महत्व छ । समय सूत्रलाई स्वीकारेपछि त सामूहिक यात्रामा अरूलाई बरु कुर्न सकिन्छ तर अरूलाई कुराउँदा पीडा हुन्छ । 

पाउलो कोयलोले पनि निद्रामा आएर भनेका थिए, “तँ जुन कुरा प्राप्त गर्न लागिपर्छेस्, त्यो कुरा तँसम्म ल्याइपु¥याउन सारा ब्रह्माण्डले सहयोग गर्छ ।” कोयलोको विचारमा सहमत हुँदै सबेरै उठेर आफ्नै हत्केलालाई नमन गरेकी थिएँ । हेलम्बु जाने इच्छा २०५८ सालदेखिको नै थियो । 

अझ २०७८ को मेलम्चीको बाढीले तहसनहस पारेको दृश्यले यो हृदय धरधर रोएको थियो । घरमा बसेर टिभीको भित्तामा त्यो विनाशकारी दृश्य हेर्नुभन्दा मैले अरू केही गर्न सकिनँ । ती डुबेका घर आँखामा आएर अझ पौडिन्छन् आतङ्क् । जीवनबाट जीवन चुँडाल्दै, घरबाट परिवार भत्काउँदै प्रतिशोधमा ताण्डव गर्दै गरेको प्रकृतिको विनाशकारी रूप आज पनि आँखाको बाटो भएर सचेत गर्छ । कसरी भुल्न सक्छु र त्यो समय ! बाढीको साक्षी पनि त समय नै छ ! किन कसरी आयो त्यत्रो बाढी, त्यो पनि समयले नै सुनाएको छ ।

बिहान ५ बजे त म बलम्बु प्रवेशद्वारको अगाडि ठिङ्ग उभिएकी थिएँ । मस्त निदाउनुभएको सुभाष सरलाई बाई भन्दै घरबाहिर पाइला चाल्न लाग्दा सोध्दै हुनुहुन्थ्यो, “सडकसम्म पु¥याउन म पनि जाऊँ त ?” 

हाँस्दै भनेकी थिएँ, “हिमालतिर हिँडेको मान्छेले हिम्मतको दरो लौरो बोकेकी छु । पर्दैन आरामले सुत्नू ।”

नजिकै छ राजमार्ग । एउटा दुइटा कुकुर मौनता ओडेर मसँगै हिँड्दै छन् । छिमेकी स्वारस्वार पार्दै घरआँगन बडार्दै छन् । कोही घरअगाडिको गोलाकार मण्डलमा पूजा गर्दैछन् । कोही प्रातःकालीन यात्रामा हतारिएका छन् । 

कलेजका विद्यार्थी पनि फाट्टफुट्ट देखिन्छन् । उभिएकी छु, थलीसम्मै पुग्ने पाँचपोखरी यातायातको आसमा तर चाहिएको बेला त एउटै पनि आएन । छक्क लाग्छ संयोग हो कि मेरो मनको भ्रम, जुन दिन जुन गाडी चाहिँदैन त्यो दिन लाम लागेर आउँछ तर आज छैन । धुलिखेल जाने महानगर आयो । मनले तुरुन्त फैसला ग¥यो, “चाबहिलसम्म यसैमा जा त्यहाँबाट अर्को गाडी चढ्लिस् । समयमा त पुग्छेस्, अझ कति कुर्नू ।” निमेषभरको निर्णय सही साबित भयो, जोरपाटी आइपुग्दा पनि पाँचपोखरी यातायात आइपुगेन । 

स्रष्टा पदयात्राको १०४ औँ शृङ्खलामा सहभागी हुँदै छु । हाम्रा पाइला दगुर्ने छन् सिन्धुपाल्चोकका सुन्दर ठाउँमा, हेलम्बु, घोप्टे घ्याङ, मेलम्ची ध्याङ, आमायाङ्ग्री हिमालसम्मको गन्तव्यमा । ३२ जना छौँ रिजर्भ गाडीमा । ठिक ७ बजेर ५ मिनेट जाँदा जोरपाटीबाट यात्रा अगाडि बढ्यो । ८ बजे त जहरसिंहपौवा छिचोलिसकेछ ।  वीणा नेमकुल र म एउटै सिटमा बसेका छौँ । हँसिली साथी पाएर दङ्गिएकी छु । कस्तो अचम्म जुन कुराले म हर्षित भएकी छु, वीणा सोही कुराले दुःखी । सिट फराकिलो हुँदा मेरा गोडा सुरक्षित भए तर वीणाका गोडाले तल भुइँ छोएनन् । गोडा झुन्डियो, परेन फसाद ! लामो समयसम्म त्यसरी गोडा झुन्ड्याउँदा कष्ट हुने रहेछ कठै ! झ्यालमा बस्ने रहर हरेक यात्रामा जागृत हुन्छ तर साथीको पीडा बुझ्यो मनले ।

गाडी सरर गुडेको छ । गाडीभित्र साहित्यिक विमर्श पनि चल्दो छ । समीक्षाका कुरा । लेखन प्रकाशन । वितरण । पठनका कुरा हुँदैछन् । आजको व्यस्त समयमा कस्तो किताब पढ्नेभन्दा पनि कसको किताब पढ्ने मुख्य कुरा हुन्छ । बसभित्रका विचार मिश्रित छन् । भावना सामूहिक छन्...साहित्यकारहरू नेपाली भाषामा साहित्य लेख्छन् तर कुरा गर्नु पर्दा विदेशी कृतिको मात्र खुलेर चर्चा गर्छन् । नेपाली पुस्तकभन्दा बाहिरकै लेखक र पुस्तक उत्कृष्ट भएको तर्कले त होला बाहिरकै पुस्तकले मोहित पारेको ।  विदेशी लेखक र कृतिको स्तरसँग नेपाली पुस्तक दाँज्ने संस्कार पनि रहेछ । समावेशी साहित्यको बहस आजको माग हो तर लेखनमा, लेखक र कृतिमा लागु हुँदैन ? नयाँ लेखकहरूलाई स्थापित लेखकहरूसँग दाँजेर मूल्याङ्कन गर्ने आँखा पनि तेजिला छन् । 

विविधतामा विश्वास गर्नेहरू पनि वास्तवमा वाद, सिद्धान्त, वर्ग, धर्म, जातजाति, समुदाय र क्षेत्रमै सीमित हुन खोज्छन् । कतै गराइ र बोलाइमा तालमेल नमिलेको त हैन ? बहुलता र विविधताको बहस मञ्चमा सुनाउनलाई मात्र हो त ! साहित्यकार, लेखकहरू नै साहित्य लेखनभित्रको विविधता र बहुलतालाई किन स्विकार्न सक्दैनन् ? व्यवहारमा ल्याउन किन असमर्थ हुँदै छन् । 

जीवनमा समय सूत्र बनाएर पढ्दा त अरूको पुस्तक पनि पढ्न भ्याइन्छ होला नि ! सगरमाथा आकाशमा ठडिएको त अवश्य हैन । सगरमाथाको जमिन छ । जमिर छ । सगरमाथाको टुप्पो धर्तीमै छ । धर्ती छोडेर हिमाल उठ्दैन तर सगरमाथा ठानेर बसेको सोचले धर्ती भुल्दै छ । सबै औँला बराबर नहुँदानहुँदै पनि प्रत्येक औँला आफैँमा पूर्ण छन् । सबैको आआफ्नो सौन्दर्य छ । मूल्याङ्कनका आँखाहरू सीमित र सङ्कुचित हुनु कति डरलाग्दो छ । सिद्धान्त भाषणको कुरा हैन व्यवहारको कुरा हो । अरूको पुस्तक नै नपढी समीक्षा गर्ने बानी दुःखलाग्दो हो । विदेशी लेखकहरूको कृति नेपाली भूमि र माटोमा बसेर लेख्दै गरेका लेखकहरूको कृतिसँग एउटै तराजुमा राखेर जोख्न कसरी मिल्छ ? हिमाल, पहाड र तराई मिलेर नै साहित्यको सुन्दर भूमि निर्माण हुन्छ तर विडम्बना हिमाल नै नदेखी, पहाड नै नचढी तराई नै नझरी कसरी बुझिन्छ र भूगोल ? अरूलाई पढ्दै नपढी झुर किताब भनेर हामी कसरी भन्न सक्छौँ ! स्थापित लेखकहरूको कृति पढ्दाको गौरव र आनन्द भिन्न त होला तर पूर्ण नै हुन्छ भन्ने निश्चित छ र !

विदेशी लेखहरूको कृति पढ्दाको स्वाद नेपाली कृति पढ्दा कहाँ आउँछ र ! मलाई अचम्म पनि लाग्छ, विवेकशील मान्छेले दहीको स्वाद दुधमा किन खोज्छ ? हरेकको स्वाद पृथक् हुन्छ । भूगोल, परिवेश, समाज र संस्कार अनुसार नै लेखनमा विविधता आउँछ । समानता र समताको समीक्षा गर्नेहरू नै किन गम्भीर हुँदैनन् । 

साहित्य जगत्मा एउटा जल्दोबल्दो बहस छ, पठनसंस्कृति मेटिँदैछ । साहित्यमा नयाँ विषयहरू समावेश हुँदैछन् । आजको साहित्यले विविधता, बहुलता, सीमान्तकृत समुदाय, प्रकृति, प्रविधिका क्षेत्रलाई समेट्नुपर्ने बहस चलिरहँदा वास्तवमा कुन कुन क्षेत्रमा लागु हुन्छ यो बहुलता र विविधता ? मेरो मनमा यही प्रश्नको अजिङ्गर आएर मडारिन्छ  । 

नजिकै हुनुहुन्छ धवल व्यक्तित्वका धनी वेदमणि घिमिरे सर । उहाँको विचारले केही मात्रामा मेरो प्रश्नको उत्तरलाई समन गर्दैछ । अनुहारमा उज्यालो पोखिएको छ । सफा, शालीन र भद्र । ओठहरू खुल्नै नपर्ने, दाँत नै देखिनु नपर्ने मस्तक नै हिरा झैँ टल्किएका । आँखा सन्तुष्टिमा मुसकुराइरहेका । निकै शान्त र शालीन । सुरक्षित अभिभावक पाएको आभास भएको तर डर पनि लाग्दैछ, उहाँ अल्पभाषी मलाई बोलिरहनुपर्ने । हाँसिरहनुपर्ने ।पछिल्लो सिटमा हुनुहुन्छ सावित्री श्रेष्ठ र गङ्गा भेटवाल । गङ्गा सर त ठाउँको ठाउँ चुट्किला सुनाउन माहिर । एउटा निकै दार्शनिक चुट्किला पनि सुनाउनुभयो । जुन चुट्किला प्रेम रावतजी आत्म जागृतिका लागि बारम्बार सुनाउनुहुन्छ । आफूलाई नचिन्नु जस्तो दुर्भाग्य केही छैन भन्ने भावमा । चुट्किलाको पनि समीक्षा गर्दै हिँडेका छौँ । नाङ्ले बजार, छाप (मेलम्ची नपा), इन्द्रावती, बाहुनपाटी, ढकाल खहरे, फट्केश्वर मेलम्ची बजार ठिक ९ बजे पुगियो । यो भूगोलमा मेरो पहिलो यात्रा हो । पहिलो पटक देखिकी प्रियसी झैँ लाग्दै छ, सम्पूर्ण भूगोल । आँखा झ्यालबाहिरै मोहित छन् । ढुङ्गा बोकेको खोला देखिन्छ । मेलम्चीको बाढी पुनः नृत्य गर्न थाल्छ... ।