• ८ मंसिर २०८१, शनिबार

वैदिक र पौराणिक देवताका स्वभाव

blog

कमल रिजाल

वैदिक युग कहिलेदेखि सुरु भयो, यकिन जानकारी छैन । पौराणिक युगको अवस्था पनि त्यस्तै छ । कसैले केही भनेका छन्, कसैले केही तर वैदिक युगमा कर्मवादको प्रधान्यता थियो । पौराणिक युगमा त्यसको स्थान उपभोक्तावादले लिएको देखिन्छ । वैदिक युग र पौराणिक युगका देवताका स्वभाव र चरित्रले नै त्यसको पुष्टि गर्छ । वैदिक युगमा जुन देवता वीर, पराक्रमी र कर्तव्यनिष्ठ देखिन्छन्, पौराणिक युगमा तिनै देवता भीरू, डरपोक, लोभी, पापी र परमुखापेक्षी देखिएका छन् । उदाहरणका लागि वैदिक युगका प्रमुख देवता इन्द्र, अग्नि, वायु, सूर्य र अश्विनीकुमारलाई नै लिन सकिन्छ । 

वैदिक युगमा सर्वाधिक सम्मान पाउने देवतामा इन्द्र पर्छन् । ऋग्वेदमा ३०० भन्दा बढी सूक्त इन्द्रसित सम्बन्धित छन् । वैदिक ग्रन्थका अनुसार उनी महान् शक्तिशाली, अतुल पराक्रमी, धैय, साहस, बलवीर्य, परोपकार, दया, माया, मैत्री र करुणाका खानीका रूपमा देखिएका छन् । ऋग्वेदका अनुसार इन्द्र भनेका त्यस्ता देवता हुन्, जो एक्लैमा वज्र धारण गरी सम्पूर्ण शत्रुमाथि विजय पाउने सामथ्र्य राख्छन् । वृत्रासुरजस्ता दानव वध गर्ने पनि उनै हुन्, झन्डै १३ लाख वर्गकिलोमिटर क्षेत्रमा शत्रु (असुर)हरूले बनाएका ८०० भन्दा बढी पुर वा नगर विध्वंसक पनि उनै (ऋग्वेद २।२०।७) हुन् । त्यस्तै शम्बरासुरजस्ता तानासाह हटाउने पनि उनै हुन् (ऋग्वेद ६।२१।४), सुरवीरहरूका नायक पनि उनै हुन् । (ऋग्वेद १।११।१) । त्यसैगरी दुष्ट दलनकर्ता (३।३०।१७), शत्रु हन्ता (ऋग्वेद २।१२।४) र वीरमाथि विजय पाउने पनि उनै हुन् (ऋग्वेद १।१७८।३) । यसबाहेक अन्य वैदिक संहिता तथा ब्राह्मण र उपनिषद् ग्रन्थ पनि उनको पराक्रमको चर्चा उत्तिकै भएका छन् तर तिनै इन्द्र पौराणिक युगमा आइपुग्दा सत्तालिप्त, कामुक, डरपोक, परजीवी, परमुखापेक्षी हुन पुगेका छन् । कतै निर्दोष व्यक्तिको हत्या गर्न पुगेका देखिन्छन्, कतै परस्त्रीमाथि लोभिएर सहस्राक्ष बन्न पुगेका पाइन्छन् । कतै शत्रुहरूले सत्ता छिने भनेर रोइकराइ गर्दै हिँडेका देखिन्छन्, कतै प्राण बचाउन गिरिकन्दरामा लुक्दै हिँडेका पाइन्छन् । अप्सरालाई नचाएर मोजमस्ती गर्ने पनि हुन्, कुर्सी बचाउन सबै खाले जालझेल गर्न पछि नपर्ने पनि उनै हुन् । 

वेदमा इन्द्रपछिका अर्का चर्चित देवतामा अग्नि पर्छन् । ऋग्वेदको सुरुवात नै उनको स्तुतिबाट भएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी २५० भन्दा बढी सूक्त छन् । ‘सु’ उपसर्ग लागेको वच धातुबाट सूक्त बन्छ । यसको अर्थ हुन्छ– राम्रोसित गाइएको तर ‘बृहद्देवता’ले भने ऋषि वचनलाई सूक्त भनेको छ । यसको अर्थ हुन्छ– ऋषिद्वारा देवी–देवताका प्रशंसामा व्यक्त भएका वचन । सामान्यतया सूक्तहरू क्षुद्रसूक्त र महासूक्त गरी दुई किसिमका हुन्छन् । तीनवटासम्म मन्त्र रहेका सूक्तलाई क्षुद्र र सोभन्दा बढी मन्त्र भएका सूक्तलाई महासूक्त भनिन्छ तर ‘बृहद्देवता’मा सूक्तहरू चार किसिमका हुन्छन् भनिएको छ, जसमा देवता सूक्त, ऋषिसूक्त, अर्थसूक्त र छन्दसूक्त पर्छन् । यसअनुसार देवताको स्तुतिमा गाइएका जति सूक्त देवता सूक्तमा पर्छन् । ऋषिका स्तुतिपरक सूक्तहरू ऋषिसूक्त तथा प्रयोजन सिद्धिका लागि गाइएका सूक्तहरू अर्थसूक्त र एउटै किसिमका छन्द रहेका सूक्तहरू छन्दसूक्तमा पर्छन् । (कल्याण वेद–कथाङ्क पृष्ठ ४३८) यसबाहेक अन्य वैदिक संहिताहरूले पनि उनले राम्रै चर्चा पाएका छन् । 

वैदिक ग्रन्थमा उल्लेख भएअनुसार पृथ्वीस्थानीय, अन्तरिक्षस्थानीय र द्युस्थानीय गरी देवता तीन किसिमका हुन्छन् । यिनमा अग्नि पृथ्वीस्थानीय देवतामा पर्छन् भने वायु अन्तरिक्षस्थानीय र सूर्य द्युस्थानीय देवता मानिएका छन् तर यी रूपमा मात्र हुन्, सारमा ती सबैको प्रतिनिधित्व अग्निले नै गरेका छन् । वायु र सूर्यभित्र विद्यमान ऊर्जाका स्रोत अग्नि नै मानिन्छन् । एउटै अग्नि आधिभौतिक रूपले द्यावाभूमि सर्वत्र विद्यमान छन् भने आधिदैविक र आध्यात्मिक रूपले चराचर जगत्लाई गतिशील राख्दै आएका छन् । जीवनको उत्पत्ति पनि अग्निबाटै भएको छ, धारण र पालन पनि अग्निबाटै भएको छ । जीवन बनाउने पनि उनै, बचाउने पनि उनै, खान दिने पनि उनै, खाएको पचाउने पनि उनै । न उनी निष्क्रिय हुन सक्छन् न उनका गतिविधि नै निरर्थक । उनकै कारण संसारले निरन्तरता पाएको छ । पछिका निरन्तरतामा पनि उनकै भूमिका रहनेछ तर तिनै अग्नि पौराणिक युगमा आइपुग्दा दिग्पालको भूमिकामा सीमित हुन पुगेका मात्र छैनन्, यदाकदा त्यसैलाई बचाउन पनि हम्मेहम्मे पर्ने गरेको छ । अश्विनीकुमार पनि वैदिक देवता हुन् । वेदमा इन्द्र र अग्निपछिका अर्का चर्चित देवता 

उनीहरू नै हुन् । ऋग्वेदमा मात्रै उनीहरू सम्बन्धित ६१ वटा सूक्त छन् । यसबाहेक यजुर्वेद, सामवेद र अथर्ववेदमा पनि उनीहरूले राम्रै स्थान पाएका छन् । वैदिक ग्रन्थका अनुसार उनीहरू ज्ञानी, ध्यानी, पराक्रमी मात्र छैनन् दया, माया, मैत्री, करुणा, परोपकार आदि दैवी गुणका खानीसमेत मानिन्छन् । आँखा नहुनेलाई आँखा दान गर्न पनि उनीहरू नै पुगेका छन्, अन्न र वस्त्रको आवश्यकता पूर्तिमा पनि उनीहरू नै अघि सरेका छन् । पति, पत्नी, पानी, नानी, जवानी, खानी आदि जहाँ जसलाई जे आवश्यकता पर्छ, तिनलाई पूरा गरी समाजसेवाको अनुपम नमुना पेस गरेका छन् । देवताका समेत चिकित्सक  मानिएका अश्विनीकुमार आदिम चिकित्सक मात्र होइनन्, वैज्ञानिक पनि हुन् । 

भगवान् शिवपछि सफल शिर प्रत्यारोपणकर्ता कुनै छन् भने उनीहरू नै छन् तर तिनै अश्विनीकुमार पौराणिक युगमा आइपुग्दा आफ्नो भागसमेत बचाउन नसक्ने अवस्थामा पुगेका छन् । पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार उनीहरूका जन्म सूर्यपत्नी सङ्ज्ञाको गर्भबाट भएको थियो, जो त्यतिबेला घोडीको रूप धारण गरी उत्तरकुरु (उज्वेकिस्तान)को घाँसे मैदानमा चर्न गएकी थिइन् । सूर्यपुत्र भए पनि घोडीको गर्भबाट जन्मेकाले देवताको पङ्क्तिमा स्थान नपाएपछि उनीहरू भृगुपुत्र च्यवनका शरणमा पुगेका थिए । च्यवनको सहयोग पाएर मात्रै अन्यथा उनीहरूले न देवताका पङ्क्तिमा स्थान पाउँथे न यज्ञ भागकै अधिकारी बन्न सक्थे । 

वायु पनि वैदिक देवता नै हुन् । वेदमा अश्विनीकुमारपछि बढी चर्चा पाउनेमा उनी नै देखिएका छन् । वेदले उनलाई मरुद्गणको सङ्ज्ञा दिएको छ । ऋग्वेदमा मात्रै उनीसम्बन्धी ४६ वटा सूक्त छन् । यसबाहेक अन्य वैदिक संहितामा पनि उनको राम्रै चर्चा भएको पाइन्छ । वैदिक सूक्तहरूले उनलाई वायवीय ऊर्जाको स्रोत मानेर अति तेजस्वी र शक्तिशालीका रूपमा सम्मान गरेका छन् । वायु, पवन, अनिल आदि विभिन्न नामले पुकारिने यी देवता जीवनको मूलाधार मात्र होइनन्, द्यावाभूमि सर्वत्र एकैसाथ विचरण गर्न सक्ने प्राकृतिक शक्ति पनि हुन् (ऋग्वेद १।८६।८) । वैदिक ग्रन्थमा उनी कतै रुद्रपुत्र (ऋग्वेद १।८५।१), कतै पृथ्वीपुत्र (ऋग्वेद १।८५।३), कतै द्यावाभूमिपुत्र (यजुर्वेद २७।२४)का रूपमा चिनिएका छन् ।

 त्यस्तै परोपकारी, सङ्कटनाशक, सर्वकर्ता, सर्वद्रष्टाजस्ता दैवी गुणका बेजोड नमुना मानिएका वायुदेव कतै सारा संसारको मूलाधार (ऋग्वेद १।८७।१), कतै प्राणदाता (ऋग्वेद १।८५।११), कतै मङ्गलकारी शक्ति (ऋग्वेद १।८७।१), कतै विद्युत् समान दिप्ति र गतियुक्त (ऋग्वेद १।८८।१) र कतै अद्भूत शक्ति र सामथ्र्यशाली (ऋग्वेद १।८८।२) आदिका रूपमा समेत देखिएका छन् तर उनीसमेत पौराणिक युगमा आइपुग्दा एउटा दिग्पालमा सीमित हुन पुगेका मात्र छैनन्, त्यसलाई समेत बचाउन नसकेर यदाकदा रोइकराइ गर्दै हिँडेका देखिन्छन् । 

सूर्य पनि वैदिक देवता नै हुन् । वायुपछि बढी चर्चा पाउने देवतामा उनै पर्छन् । ऋग्वेदमा उनी सम्बन्धित ३५ वटा सूक्त छन् । यसबाहेक यजु, साम र अथर्व अन्य संहितामा पनि राम्रै चर्चा पाएका छन् । शुक्लयजुर्वेदको स्रोतसमेत उनै मानिएका छन् । वैदिक ग्रन्थका अनुसार सूर्य भनेका त्यस्ता देवता हुन्, जसका कारण प्राकृतिक शक्ति सन्तुलित भई सांसारिक गतिविधि व्यवस्थित हुँदै आएका छन् । दिक्, काल र निमित्तको व्यवस्थापनमा समेत मूल भूमिका निर्वाह गर्दै आएका सूर्य संसारको उत्पत्ति, पालक र प्रलयको समेत आधार मानिएका छन् । ऋग्वेदले उनलाई संसारको आत्मा मात्र मानेको छैन, समग्र विश्व ब्रह्माण्डका कणकणमा विद्यमान सर्वव्यापी परमात्मा तìवका रूपमा उभ्याउने प्रयाससमेत गरेको छ । (ऋग्वेद १।११५।१) तर उनीसमेत पौराणिक युगमा आइपुग्दा सौरमण्डलको एउटा ग्रहमा सीमित हुन पुगेका छन् । 

यी केही उदाहरण हुन् । प्रायः सबै वैदिक देवताका अवस्था त्यस्तै देखिन्छ । तिनै देवता वेदमा जति पराक्रमी र शक्तिशाली देखिन्छन्, पौराणिक ग्रन्थमा त्यति नै स्वार्थी, डरपोक र परमुखापेक्षी हुन पुगेका देखिन्छन् । यसको मूल कारण हो– कर्मवादलाई लत्याएर उपभोक्तावादलाई पछ्याउनु । कर्मवादले कर्मयोगी बनाउँछ । भोगवादले लोभानी र पापानीलाई जन्माउँछ । जहाँ उपभोगको कुरा आउँछ, त्यहाँ लोभ हुन्छ, जहाँ लोभको कुरा आउँछ त्यहाँ काम र क्रोधले स्थान पाउँछ । अनि जहाँ काम र क्रोधले स्थान पाउँछ, त्यहाँ हुने भनेको दुःख र हैरानी नै हो । वैदिक युग कर्मप्रधान थियो, सबै कर्ममा विश्वास गर्थे । फलतः देवता पराक्रमी र परोपकारी देखिए । पौराणिक युग भोगप्रधान हुन पुग्यो, जसले गर्दा देवता पनि त्यस्तै भूमिकामा देखिन पुगे । 


Author

कमल रिजाल