• १९ असार २०८१, बुधबार

स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा उम्मेदवारहरुलाई खर्च हद

blog

लक्की चौधरी

काठमाडौं, वैशाख २ गते । स्थानीय तह निर्वाचन २०७९ मा कुन उम्मेदवारले कति खर्च गर्न पाउने खर्च हद निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेको खर्च हदभित्रै रहेर उम्मेदवारले खर्च गर्नुपर्ने आयोगको भनाई छ । पछिल्लो समय निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धाले चुनावी खर्च बढ्ने विकृति मौलाएकोभन्दै आयोगले खर्च हद तोकेको जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडा सदस्यहरुले निर्वाचनमा खर्च गर्न पाउने रकमको हद तोकिदिएको छ । आयोगले तोकेको खर्च हदमा महानगरपालिकाको प्रमुख र उपप्रमुखले बढीमा ७ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यक सदस्यले बढीमा तीन लाख रुपियाँसम्म खर्च गर्न पाउनुहुनेछ ।

त्यस्तै, उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ५ लाख ५० हजार रुपियाँसम्म, वडा अध्यक्ष, वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा २ लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने खर्च हद आयोगले निर्धारण गरेको छ । त्यस्तै, आयोगका प्रवक्ता पौडेलकाअनुसार नगरपालिकाका प्रमुख र उपप्रमुखले बढीमा ४ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउनुहुनेछ । त्यस्तै, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा दुई लाख रुपियाँ खर्च गर्न पाउनुहुनेछ । 

सोहीअनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले बढीमा ३ लाख ५० हजार रुपियाँ, वडा अध्यक्ष र वडा सदस्य, महिला र दलित वा अल्पसंख्यकले बढीमा १ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने आयोगले खर्च हद तोकेको छ । 

त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले एकमुष्ट ५० हजार रुपियाँ खर्च गर्न पाउने, सदस्य, महिला र दलित वा अल्पसंख्यकले एकमुष्ट २५ हजार रुपियाँ खर्च गर्न पाउने व्यवस्था छ । सोहीअनुसार नगरपालिका गाउँ पालिकाका सदस्य (महिला, दलित र अल्पसंख्यक समुदायबाट) ले एकमुष्ट २५ हजार रुपियाँसम्म खर्च गर्न पाउने आयोगले खर्च हद कायम गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।  दल, उम्मेदवार वा भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुश, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइने छैन ।”