• २४ असार २०८१, सोमबार

तरलता समस्या : विदेशी मुद्रा सञ्चितिसम्म असर

blog

भेषराज बेल्बासे

काठमाडौँ, वैशाख २ गते ।  पछिल्लो समय तरलता समस्या चुलिँदै जाँदा बैङ्कहरूमा निक्षेप सङ्कलन र कर्जा प्रवाहको वृद्धिदरमा समेत सङ्कुचन आएको छ । बैङ्किङ प्रणालीमा तरलताको असर देखिँदा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन र कर्जा प्रवाहमा मात्रै नभई निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदरमा पनि असर देखिन थालेको छ । बैङ्क तथा वित्तीय संस्थाबाट फागुनमा निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पनि ४.६० प्रतिशतले घटेको छ । २०७८ असार मसान्तसम्म १३९९ अर्ब तीन करोड रुपियाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई २०७८ फागुन मसान्तमा ११७१ अर्ब कायम हुने देखिएको छ । उक्त सञ्चिति करिब ६.७ महिनाको मात्र वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहने देखिन्छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको १२.८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो वृद्धि १७.४० प्रतिशत रहेको थियो ।

चालू आर्थिक वर्ष २०७८÷७९ को चैतको अन्तिम सातामा वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको छ भने सोही अवधिमा बैङ्कहरूको कर्जा प्रवाह पनि दुई अर्ब रुपियाँमा सीमित भएको छ ।

नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार चैत तेस्रो साता अर्थात् चैत १८ देखि २५ गतेसम्म वाणिज्य बैङ्कहरूमा तीन अर्ब रुपियाँ मात्र निक्षेप थपिएको थियो भने कर्जा प्रवाह दुई अर्ब रुपियाँ भएको थियो ।चैत पहिलो सातमा बैङ्कहरूको निक्षेप तथा कर्जा दुवै घटेको थियो । पहिलो सातामा निक्षेप पाँच अर्ब तथा कर्जा लगानीमा चार अर्बले गिरावट आएको थियो । दोस्रो साता बैङ्कहरूमा दुई अर्ब निक्षेप थपिएको थियो भने दुई अर्ब नै थप कर्जा प्रवाह गरेका थिए । त्यस्तै तेस्रो सातामा एक अर्ब निक्षेप उठाएर छ अर्ब कर्जा प्रवाह गरेका थिए ।

चालू आर्थिक वर्षको चैत २५ गतेसम्म बैङ्कहरूले ४३ खर्ब ३४ अर्ब निक्षेप सङ्कलन गरेर ४१ खर्ब ७७ अर्ब कर्जा विस्तार गरेको एसोसिएसनले जनाएको छ । गत फागुन मसान्तसम्ममा बैङ्कहरूले ४३ खर्ब ३३ अर्ब निक्षेप उठाएर ४१ खर्ब ७२ अर्ब कर्जा विस्तार गरेका थिए । पछिल्लो केही महिनादेखि बैङ्कहरूको निक्षेप सङ्कलनमा कमी आउन थालेपछि कर्जा लगानीमा नियन्त्रण गर्दै आएका कारण कर्जा प्रवाह पनि घट्दो क्रममा रहेको छ ।