• ६ जेठ २०८१, आइतबार

पोखरामा नव वर्ष महोत्सव सुरु

blog

रमेश पौडेल 

पोखरा, वैशाख १ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिनाभित्रमा  पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दाबी गर्नुभएको छ ।  पश्चिमाञ्चल होटल सङ्घको आयोजनामा पोखरामा बुधबारदेखि सुरु १७औँ फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै मन्त्री आलेले विमानस्थलको ९३ प्रतशित निर्माण  सम्पन्न भइसकेको जानकारी दिनुभयो । विमानस्थलको समस्याका रूपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएको पनि बताउनुभयो ।

 त्यस्तै पोखराको ल्यान्डफिल्ड साइट नयाँ स्थानमा व्यवस्था गर्न पोखरा महानगरलाई आग्रह गर्नुभयो । मन्त्री आलेले लेकसाइडस्थित रत्नमन्दिर र हिमागृह क्षेत्र वैशाखदेखि नै सर्वसाधरणका लागि खुला गरिने योजना रहेको जानकारी पनि दिनुभयो । यसबाट पर्यटन व्यवसाय थप आकर्षित हुने उहाँको भनाइ छ । कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय क्रमशः उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 उहाँले पोखराको पर्यटन बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो । उहाँले आगामी बजेटमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, गण्डकी प्रदेशका सांसद राजीव पहारी, दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलगायतले कोभिड–१९ का कारण प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार विषेश प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो । नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजित महोत्सव वैशाख १ गते सम्म चल्नेछ । 

महोत्सवमा नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको वयवसायीले बताएका छन् । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।