• १७ वैशाख २०८१, सोमबार

सामाजिक सद्भावको पर्व फागु

blog

काठमाडौँ, चैत ११ गते । संस्कृतिविद् गोविन्द टण्डन आजको दिन होली नभएर फागु खेल्ने दिन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पञ्चाङ्गमा पनि फागु अथवा फागुपूर्णिमा भनेर लेखेको हुन्छ । त्यसैले हामीले यसलाई होली भन्दा पनि फागु भन्ने गरेका छौँ ।” 

फागुपूर्णिमा भनेको हाम्रो संस्कृतिभित्रको अभिन्न अङ्ग, संस्कार र मनोरञ्जनको साधनका रूपमा देखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पहिले होलीमा सबै परिवारका सदस्य र साथीभाइ जम्मा हुने, खेल्ने, रमाउने र मिठो मिठो खाने चलन मुलुकभरि नै थियो । अहिले धेरै कुरा परिवर्तित भइसक्यो । एक त फागु खेल्ने युवा जमात नै देशमा छैनन्, धेरै जसो बिदेसिए । बुढापाकाको पुस्ता विस्तारै कम हुँदै गएपछि परम्परागत रूपमा होली खेलिने चलन हराउँदै गएको छ । 

फागु पर्व सामाजिक मिलाप र सद्भावको पर्व हो । सत्यको जित र असत्यको हार भएको सन्दर्भमा यो पर्वको सुरुवात भएको हो । ऐतिहासिक पौराणिक सन्दर्भ नबुझ्दा चाडपर्व विकृति र विसङ्गतितिर धकेलिँदै गएकोसमेत उहाँको धारणा छ । कलाकारिताको रङ्गीन संसारमा रमाइरहेका कलाकारलाई फागु पर्वले अझ बढी छुने गरेको छ । गायक युवराज चौलागाईं सबैभन्दा मनपर्ने पर्व फागु भएको बताउनुहुन्छ । फागु खेल्ने नाममा आँखा र छालालाई हानि पु¥याउने रङ खेल्ने प्रचलनले परम्परागत तरिकाले मनाउने फागु पर्वलाई छायामा पारिरहेको उहाँले बताउनुभयो । 


कलाकार प्रवीण खतिवडा फागु मजाले खेल्ने तर सावधानी अपनाएर खेल्नु राम्रो भएको सुझाव दिनुहुन्छ । खतिवडाले फागु रङ र पानीको उत्सवलाई पछिल्ला दिनमा विकृतितर्फ उन्मुख बनाउन खोजिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । फागु पर्वका राम्रा पक्ष धेरै भए पनि जबरजस्ती लोला हान्ने, रङ दल्ने जस्ता क्रियाकलापले यो पर्वलाई विकृत बनाउँदै लगेको छ तर केही वर्षदेखि आफ्नो काममा हिँडेका, कामकाजी मानिसलाई जबरजस्ती फोहोर पानी छ्याप्ने, रङ दलिदिने जस्ता घटनामा केही मात्रामा भने कमी आएको छ । 

हास्य कलाकार मनोज गजुरेलको फागु पर्वप्रतिको बुझाइ एकअर्कामा रङ साटासाट गरेर खेलिने होली निकै रमाइलो हुने गथ्र्याे । मित्रतालाई प्रगाढ बनाउने, रङका माध्यमबाट परिवार र आफन्तसँग माया साटासाट गर्ने, सद्भाव कायम गर्ने पर्वका रूपमा होलीलाई लिँदा राम्रो हुने तर्क उहाँको छ । कलाकार दिव्य देवले यस पटकको फागु रमाइलो गरेर मनाउने योजना सुनाउनुभयो । होलीले मनोरञ्जनका साथसाथै प्रेमको आभास पनि दिन्छ । एकअर्कालाई रङको वर्षा गर्दै दुःख भुलेर सबैसँग रमाइलो गर्न पाइन्छ । धेरै समय भेट नभएका साथीभाइ, इष्टमित्र कुटुम्बसँग भेट हुन्छ । यो पर्वले सद्भाव र माया आदानप्रदान गर्ने अवसर दिलाउने गर्दछ ।