• १६ वैशाख २०८१, आइतबार

द्वन्द्वले टिकेको कथा ‘रङ्गेली’

blog

काठमाडौँ, चैत ३ गते । नेपालको मोरङको रङ्गेलीमा हुने अनेकन अपराधको कथा समेटिएको चलचित्र हो, ‘रङ्गेली’  । प्रेमकथा रुचाउने दर्शकलाई चलचित्र पक्कै मन नपर्न सक्छ तर काटमार र बन्दुकको आवाज रुचाउने अथवा भनौँ एक्सनप्रधान चलचित्र हेर्न रुचाउनेका लागि चलचित्र निकै  उपयुक्त बन्न सक्छ । 

चलचित्रको कथा मुख्य पात्र विजय (दयाहाङ राई) र उसको साथी तोताभाइ यादव (रूपेश झा) बाट सुरु हुन्छ । विजय अनाथ छन् । उनलाई आफ्नो परिवार को हो भन्ने केही अत्तोपत्तो हुँदैन । उनलाई एउटी महिलाले आफ्नै छोरा जस्तै गरी हुर्काएकी हुन्छिन् । त्यही घरमा हुन्छन् तोताभाइ । जुन महिला उनको हजुरआमा हुन् । बिरामी हजुरआमाको उपचार गर्न नसक्दा मृत्यु हुन्छ र त्यसपछि दुवै दुःखको जीवन जिउन बाध्य हुन्छन् । तोताभाइ सङ्घर्षबाट टाढा हुन खोजे पनि विजयको लहलहैमा उनी पनि बन्दुक समात्न बाध्य हुन्छन् ।  सानो सानो कामले पैसा कमाउन नसक्ने देखिएकोले दुवै लाग्छन् रङ्गेलीतिर । अभावको जीवन समाप्त गर्न दुवै रङ्गेलीमा हुने अपराधको राजा बन्न चाहन्छन् ।  

विजयले रङ्गेलीमा राज गर्न के कस्ता अपराधमा होमिन्छन् त ? उनी रङ्गेलीमा राज त गर्न खोज्छन् तर त्यसमा अनेकन बाधा अड्चन आउँछन् । त्यसलाई चिरेर भए पनि उनी रङ्गेलीको राजा बन्न सफल भने हुन्छन् । चलचित्रमा देखिएका अन्य पात्र भगवान दादा (अर्पण थापा), माने (प्रवीण खतिवडा) जुनकिरी (मिरुना मगर) ले नै विजयको जीवनमा अनेकन उतारचढाव ल्याउने काम गर्छन् । 

अभिनेता दयाहाङलाई सधँै एकै प्रकारका चरित्रमा देखिरहेको बेला यसमा भने फरक भूमिकामा पाउँदा दर्शकले अवश्य नै मन पराउने अनुमान गरिएको छ । त्यस्तै अर्पणलाई चलचित्रमा राजाको भूमिका सुहाएको छ । उनले आफ्नो चरित्रमा न्याय गरेका छन् । चलचित्रमा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको उनी शक्तिशाली मान्छे हुन खोजेका छन्  । उनले रङ्गेलीका बासिन्दालाई आफ्नो अधीनमा राखेका छन् । प्रशासनदेखि लिएर धेरै कुरामा उनको हस्तक्षेप हुन्छ । चलचित्रमा थापा ‘टिपिकल भिलियन’ का रूपमा देखिएका छन् ।

चलचित्रमा अभिनेतृ मिरुनालाई स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेकी पात्रका रूपमा देखाइएको छ । उनको भूमिकाले नै चलचित्रमा अन्योल ल्याउने काम गर्छ । कलाकार खतिवडाको भूमिका अन्य चलचित्रमा भन्दा फरक छ । उनी रङ्गेलीको वातावरणमा रङ्गीन हुन चाहने पुलिस अफिसरको चरित्रमा देखिएका छन् । उहाँलाई घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । रङ्गेलीमा तडकभडक भइरहेको बेलामा त्यो तडकभडकलाई नियन्त्रण गर्न पोस्टिङ भएर गएको पुलिसका रूपमा चलचित्रमा देख्न सकिने छ । पात्रलाई घुमाउने, कसलाई पिट्ने, कसलाई जोगाउने भन्ने निर्णय उनको विचारमा भर पर्छ । चलचित्रको अन्त्यमा अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयले यसको दोस्रो भागमा अभिनेता दयाहाङ  र उनको ‘क्ल्यास’ हुने अवस्था पैदा हुने देखिन्छ । दोस्रो भाग निर्माण घोषणाको यो नौलो प्रयोग पनि हो । जसले दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा देखिने पक्कापक्की गराउँछ ।