• १२ साउन २०८१, शनिबार

‘विकासको पहिलो सर्त गुणस्तरीय स्वास्थ्य’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभालाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव हुने बताउँदै उहाँले भन्नुभयो, “प्रतिष्ठानले आम जनसमुदायलाई पु-याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक छ ।”

स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकका लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारका लागि प्रतिष्ठानले पु-याएको सेवा प्रशंसनीय रहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा सिर्जना हुनसक्ने स्वास्थ्यसम्बन्धी सङ्कट व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिने विश्वास लिएको छु ।”

प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तर रूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको पनि उहाँले सभामा जानकारी गराउनुभयो । २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालको रूपमा यो अस्पताल स्थापना भएको हो । अहिले अस्पताल पाँच सय शय्याको अस्पतालका रूपमा विकास हुनुका साथै चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान बनेको छ ।