सुर्खेत समाचारदाता
सुर्खेत, चैत १३ गते । गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को जङ्गलमा अचेत अवस्थामा फेला परी मृत्यु भएको भनिएकी वीरेन्द्रनगर नगरपालिका–१ मा बस्ने १६ वर्षीय बालिका इनिशा विकको मृत्यु अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको छ । करिब १७ दिनसम्मको अनुसन्धानपछि सुर्खेत प्रहरीले सो अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको हो । गत फागुन २३ गते ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी इनिशा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेको र अस्पताल पु¥याउँदा मृत्यु भएको थियो । इनिशाको मृत्यु सामूहिक बलात्कारबाट भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले चार किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
१७ दिनको अनुसन्धानपछि बुधबार प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा शारीरिक सम्पर्कपछिको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको निष्कर्ष निकालेको छ । घटनामा जोडिएका सबै तथ्यका आधारमा तयार पारिएको अनुसन्धान प्रतिवेदनमा सामूहिक बलात्कार नभएको जिकिर गरिएको जनाइएको छ । इनिशाको शव पोस्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजङ्ग बुढथापाले १७ दिनको अनुसन्धानपछि उक्त घटनाको अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयलाई बुझाइएको जानकारी दिनुभयो । उहाँले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको स्पष्ट पार्नुभयो । अब सो मुद्दा सरकारी वकिल कार्यालयले हेर्ने छ । साथै घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्ट आउने क्रममै रहेको उहाँको भनाइ छ । आउन बाँकी रिपोर्ट अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पेस गर्न सकिने डिएसपी बुढथापाले बताउनुभयो ।
प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्तलाई जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जन्मकैदको माग गरिएको छ भने पक्राउ परेका अन्य तीन जनाविरुद्ध घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको बताएको छ । इनिशाका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै विरोध जनाएपछि घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) समेत खटिएको थियो साथै प्रहरीले इनिशाको मृत्युको कारण पत्ता लगाउन उच्च प्रविधिको प्रयोग गरेको थियो । परिवारजनले भने घटनाको १८ औँ दिन बिहीबारसम्म इनिशाको शव बुझेका छैनन् । इनिशाको शव प्रदेश अस्पताल सुर्खेतको शवगृहमा रहेको छ ।