साहित्य र पत्रकारिता : अभिव्यक्ति रथका दुई पाङ्ग्रा
मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो ।