• ९ मंसिर २०८१, आइतबार

आमसञ्चार र साहित्य

blog

तत्काल विशाल समुदायसम्म पुग्ने माध्यम नै आमसञ्चार हो । त्यसैले भन्नैपर्ने हुन्छ, सबै सञ्चारमाध्यम आमसञ्चार होइनन् । साहित्यिक रचना स्वयंमा सञ्चारमाध्यम हो । कुनै समयको साहित्यिक हवाईपत्र प्रकाशनदेखि मधुपर्क, गरिमा, समकालीन साहित्य, कविता, अभिव्यक्ति, रचना, भानु, मिर्मिरे, समष्टि, समकालीन साहित्य, सयपत्री, रूपान्तरण, थायभु, नवप्रज्ञापन, कलाश्री, शिवपुरी सन्देश, जुही जस्ता साहित्यिक पत्रिका पनि आमसञ्चार होइनन् ।

आधुनिक अवधारणाअनुसार भन्ने हो भने राजनीतिक आग्रहसाथ प्रकाशित अधिकांश नेपाली साप्ताहिक पनि आमसञ्चार होइनन् । जनसाधारणसम्म सूचना प्रवाह गर्नुभन्दा बढी तिनको उद्देश्य केवल ‘हस्तिहाडको बुर्जामाथि विराजमान प्रभुको उपासना गर्नु र प्रसाद झार्नु’ हो । अलिअघिसम्म टेलिभिजन, रेडियो, एफएम, केही राष्ट्रिय दैनिक, केही साप्ताहिक, केही पाक्षिक, थोरै मासिक खास अर्थमा आमसञ्चार मानिन्थे । आज यीभन्दा  पनि अगाडि टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल र युटुब आमसञ्चारका रूपमा देखा परेका छन् ।

आधुनिक युगमा आमसञ्चार मानिसका लागि पलपलको आवश्यकता हो । यसको निरन्तर दबाबबाट राजनीतिक सत्ता नै विघटन भएका अनेक उदाहरण छन् । तर यस्तो प्रभावशाली माध्यमले साहित्यलाई गम्भीरतापूर्वक सम्प्रेषण गर्नुपर्ने सामग्रीका रूपमा लिएको छैन । यसले गर्दा हाम्रा यी माध्यममा साहित्यले उचित स्थान पाएको छैन । जति पाएको छ, त्यहाँ कीरालाई हीरा र हीरालाई कीरा बनाइएको छ । अधिकांश आमसञ्चारमा साहित्यको मर्मसँग अपरिचित मानिसहरू साहित्यिक सामग्री सम्प्रेषण गरिरहेका हुन्छन् । यसले गर्दा ‘लिलिपुट मानवहरू’ले विशाल मानवको छवि बनाएका अनेक उदाहरण छन् । सम्बन्धित सञ्चारकर्मीसँग ‘सुसम्बन्ध’ राख्न सक्ने कमजोर स्रष्टाले पनि आमसञ्चारमा ठूलो ठाउँ पाउँछ । जति सिर्जनशील भए पनि सञ्चारकर्मीसँग टाढा रहने स्रष्टाको नामनिसान देख्नै दुर्लभ हुन्छ । यसले गर्दा आम पाठकबीच साहित्यको छवि धमिलिन्छ । कस्मेटिक साहित्यको जताततै प्रकाशन र प्रसारण भएपछि मौलिक साहित्य ओझेल पर्छ । अर्कातिर प्रकाशन वा प्रसारणका लागि स्तरीय साहित्य छान्न नसक्नु वा प्रकाशक, प्रबन्ध निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका श्रीमान्, श्रीमती, प्रेमी, प्रेमिका र आफन्तको सस्तो प्रलापलाई साहित्यका रूपमा छाप्नुको पीडा आमसञ्चारका साहित्य सम्पादकहरू ‘आजभोलि स्तरीय साहित्य लेखिएकै छैन’ भनेर व्यक्त गर्छन् । 

भाषाको सत्ता

भनिन्छ, भाषामाथि वर्चस्व राख्नेसँग एउटा सत्ता पनि निहित हुन्छ । फ्रान्सेली भाषामा यससम्बन्धी एउटा रोचक अध्ययन भएको छ । फ्रान्समा राज्यक्रान्तिअघि साहित्यकार नै ‘भाषाको प्रभु’ थियो । सन् १७८९ मा भएको फ्रान्सेली राज्यक्रान्तिसँगै भाषामाथि साहित्यकारको जमिनदारी अन्त्य भयो । भाषालाई अर्कै उद्देश्यका लागि प्रयोग गर्ने बेग्ले वर्गको उदय भयो । सय वर्षबीच यस्ता अन्य वर्ग, उपवर्ग देखापरे जो साहित्यबाटै पूरै पृथक् थिए तर बदलिँदो समाज तिनीहरूप्रति नै बढी आकर्षित थियो । पत्रकार, राजनीति विश्लेषक, समसामयिक टिप्पणीकार तिनीहरूमध्ये केही थिए । यसै प्रसङ्गमा फ्रान्सेली चिन्तक रोलाँ बार्थले साहित्यकारका लागि ‘अथर’ र अन्य लेखकलाई ‘राइटर’ शब्द प्रयोग गरेका थिए ।

फ्रान्सेली भाषामा भएको यो अध्ययन हाम्रो सन्दर्भमा पनि ठ्याक्कै मिल्दो देखिन्छ । प्रजातन्त्र पुनस्र्थापनापछि यहाँ पनि आमसञ्चारको दू्रत विकास भयो भने भाषामाथि साहित्यकारको एकलौटी जमिनदारीको अन्त्य । त्यसअघि यहाँ पनि साहित्यकार नै देशका प्रमुख पत्रकारका रूपमा स्थापित थिए । आमसञ्चारले यहाँ पनि साहित्यलाई भन्दा बढी समाज विज्ञान, राजनीति विश्लेषण, मनोरञ्जनलाई बढी महìव दियो । साहित्यलाई उचित स्थान दिइएन । दिइए पनि महत्त्वपूर्ण ठानिएन । यसले गर्दा भाषाको सबैभन्दा शक्तिशाली माध्यम आम पाठकबाट टाढा भयो । विगतमा ‘शारदा’ वा ‘रूपरेखा’मा प्रकाशित रचनाबारे भएका चर्चा–परिचर्चा अब एकादेशका कथा भइसके । साहित्यिक पत्रिकामा प्रकाशित रचनाबारे सम्बन्धित लेखक नै अनभिज्ञ हुने स्थिति छ भने आम पाठकको हालत के होला ?

फ्रान्समा मौखिक सम्प्रेषणको माध्यम मुद्रित भाषाले विस्थापित गरेपछि अखबारमा लेखिरहेका त्यहाँका ठूला साहित्यकार एमिल जोला, भिक्टर ह्युगो, बाल्जाकलगायतले भाषालाई नै पेसा बनाएका थिए । जोलाहरू पत्रकार थिएनन् । पत्रपत्रिकामा उनीहरू साहित्य नै लेख्थे । त्यतिखेर विकल्पको अभावमा साहित्यको ठूलो उपभोक्ता वर्ग थियो । साहित्यकारहरू मिथकीय नायक थिए । भारतमा रवीन्द्रनाथ टैगोर पूरै देशका गुरुदेव थिए । शरतचन्द्र चट्टोपाध्याय सिनेमाका नायकजस्तै कति किशोरी र युवतीका सपनाका राजकुमार थिए । नेपालमै पनि भानुभक्त आचार्य, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा वा बालकृष्ण समको कत्रो शान थियो ! शासकहरू लेखकसँग भित्रभित्र थरहरी हुन्थे ।

आज हेर्नुस्, समाजमा साहित्यकार बेग्लै ग्रहको प्राणीजस्तो छ । यता पत्रकारलाई रिझाउन तस्कर, प्रशासक, ठूला उद्योपतिदेखि मन्त्री, प्रधानमन्त्रीसम्म लागिपरेका देखिन्छन् । साहित्यकारको सामाजिक मानमर्दन कतिसम्म छ भने पत्रकारिता पेसा अपनाएको कुनै साहित्यकार जनसाधारणसामु आफ्नो परिचय साहित्यकारका रूपमा होइन, पत्रकारकै रूपमा दिन चाहन्छ । पत्रकारितामा धाक, रवाफ, शान सबै छ । तुलनामा साहित्यमा त्यस्तो केही छैन । साहित्यिक पृष्ठभूमि भएका नाम चलेका पत्रकारहरू कुनै दिन आफू साहित्यकार थिएँ भन्न पनि हिचकिचाउँछन् किनभने तिनलाई समाजमा धाक जमाउनुछ । साहित्यकारको परिचयमा सामाजिक धाक जमाउन सम्भव छैन । माक्र्सवादी आलोचक टेरी एगलटनले साहित्यकारको सामाजिक पतनबारे रमाइलो विश्लेषण गरेका छन् । उनका अनुसार साहित्यकारको सामाजिक पतनको मुख्य कारण खुलाबजार अर्थनीतिसँगै फस्टाएका नयाँ पेसाको आकर्षणसँग प्रतिस्पर्धा गर्न नसक्नु हो । स्तम्भकारका रूपमा खगेन्द्र सङ्ग्रौलालाई छाप्न सबैजसो आमसञ्चारले प्रयास गर्छन् । तर कथाकार खगेन्द्र सङ्ग्रौलालाई त्यही रूपमा स्विकारिँदैन । साहित्यकारको सामाजिक पतनको यो जति ज्वलन्त उदाहरण अरू के होला ?

नाफाघाटाको युग 

पुँजीवादी अर्थ व्यवस्थाले मानिसलाई खन्चुवा, उपभोगी, महìवाकाङ्क्षी र आत्मकेन्द्रित बनाइदिएको छ । आज हेर्नुस्, सहरका हरेक डबलीमा, कौसी कौसीमा, भान्छामा, सवारीसाधन छेक्नेगरी सडकमा, गल्ली र गोरेटोमा, खेतमा, भिरपाखामा, रुखमा, जलमा, थलमा यत्रतत्र मूलतः किशोरी र युवतीहरू टिकटक बनाउन नाचिरहेका भेटिन्छन् । कुनै युवती ‘धान गोड्ने बेला भो गैरीखेतैमा’ भन्ने गीतमा नृत्य गर्दा किन आफ्नै अङ्गतिर सङ्केत गर्छिन् ? युट्युबमा किन हरेकजसो सामग्रीमा यौनप्रेरित शीर्षक राखिन्छ ? किन त्यहाँ शीर्षक एउटा हुन्छ र सामग्री अर्कै हुन्छ ? किन आजका महिला लेखकहरू लेखन साधना छाडेर टिकटकको कृत्रिमतामा रमाइरहेका छन् ? यी सबको जवाफ हामीले पुँजीवादी युगकै अन्तर्यमा खोज्नुपर्ने हुन्छ ।

पुँजीवादी अर्थ व्यवस्थासँगै विकसित आमसञ्चारको प्रकृति हेर्दा लाग्छ, राजनीतिका विभिन्न पाटा समाचारका बिट बनेजस्तै चाँडै नै यहाँ किशोरी र युवतीको सौन्दर्य विशेषज्ञ पत्रकारहरूको उदय हुनेछ । त्यसमा पनि युवतीका आँखाको मादकता, मुस्कानको आकर्षण, छालाको चमक, ओठ, हिप र छातीको कमनीयताबारे विशेषज्ञ पत्रकारहरू हुनेछन् । अमेरिका, युरोप हुँदै भारतसम्म भित्रिसकेको पत्रकारको यो वर्ग नेपालमा पनि चाँडै नै देखापर्ने छन् । ‘नवनायिकाको पिठ्युँमा मैथुनरत घोडा’ वा ‘सिसीभित्र यौनकला’ प्रवृत्तिका शीर्षक त्यसकै ग्रान्ड रिहर्सल हो ।

अन्त्यमा

भेनेज्वेलाकी अभिनेत्री एलिसिया क्याकाडो भन्छिन्, ‘ग्लामर अस्थायी हो, चेतना सधैँका लागि ।’ सिर्जना चेतना हो । त्यसका चुनौतीहरू अनेक छन् । आर्टिफिसियल इन्टिेलिजेन्सको युगमा च्याटजीपीटीजस्ता च्याटबोटले कविता, कथा र निबन्धसमेत लेखिदिन थालेको छ । तर जसरी रोबोटमा प्राण हुँदैन, त्यसैगरी त्यस्ता रचनामा हृदयको झङ्कार हुँदैन । साहित्यमा शान, धाक र रवाफ छैन तर आत्मा र चेतना छ । स्रष्टाको काम सिर्जना गरेर सभ्यता निर्माण गर्ने हो, नाफाघाटा हेर्ने होइन । नाफाघाटा हेर्ने भए उसले सिर्जना छाडेर तस्करी सुरु गर्नुपर्ने हुन्छ ।