ढुङ्गा फो-यो
र, बाली लगायो
माटो थिएन,
पानी पटाउने प्रयास ग¥यो
आकाश जमिन जोड्ने कुरा गर्छ ऊ
न जोडिएको आकाश र जमिन कहाँ छ र ?
विश्वास त हो मनको
विश्वास मानिसको नै हो
जे भने पनि पत्याउने भएपछि ।
उसले ढुङ्गा छाडेर
हावामा बाली लगाउन थालेको छ ।
पानी चाहिँदैन उसलाई अब
शब्द र अक्षरमा नै
उसको बिरुवा हुर्कने विश्वास छ ।
हावा, आवश्यक भएन उसलाई
ढुङ्गामा रोपेको बिरुवा
न उम्रिँदै मरिसकेछ ।
उसले जोडेको आकाश र जमिनको कथा
खण्डहरमा परिणत भयो ।
मानिसको विश्वास हराएपछि
उसका शब्द र अक्षरमा
बाँचेको विश्वास
एक्लै कसरी बाँच्न सक्छ र ?
भनिन्छ, मानिसको मनबाट
विश्वास हराएपछि
ईश्वरको समेत मृत्यु हुन्छ ।
हामी साधारण मानिसको त के कुरा ?
जहाँ जे रोपे पनि,
बिनाविश्वास त्यो कसरी बाँच्न सक्थ्यो ?
बूनपा–१०, कपन, नारायणचोक