२०३२ सालमा पहिलो कविता प्रकाशित भएदेखि म साहित्यिक यात्रामा निस्केको थिएँ । तीसको दशकभरि कविता, कथा र निबन्ध लेख्ने अभ्यासको यात्राक्रममा थिएँ । साहित्यिक क्षेत्रमा प्रवेश गर्दा मेरो कुनै योजना थिएन । मैले कुनै दिन लेखक बनौँला भन्ने सोचेको पनि थिइनँ । हिँड्दा हिँड्दै पुगिएझैँ म थाहै नपाई लेखक बन्दै गएछु । मेरो पहिलो सम्पादित कृति थियो–आजको कविता । यो २०३८ सालमा झापाको शनिश्चरेबाट निकालिएको थियो ।
नव कविका रूपमा मेरो पहिचान आफ्नो गाउँबाट जिल्ला हुँदै राजधानीसम्म पनि बिस्तारित हुँदै जान थालेको थियो । आजको जस्तो सञ्चार र प्रविधिको कुनै सङ्केत नभएको बेला ट्रेडल प्रेसमा महिनौँ लगाएर पुस्तक वा साहित्यिक पत्रिकाहरू छाप्नुपर्ने समयमा हाम्रा सबै गतिविधि सुस्त हुन्थे । हुलाकबाट पत्र पठाउने र जवाफ पर्खिने महिनौँको सुस्त गतिमा थियो हाम्रो लेखन यात्रा ।
देशमा जम्मा एउटा रेडियो नेपाल थियो राष्ट्रिय प्रसारण हुने । सम्पूर्ण देश बिहान ६ बजे धार्मिक कार्यक्रमको शङ्ख ध्वनिबाट ब्युँझिन्थ्यो र ७ बजेको राष्ट्रिय समाचार सुनेर हिँड्न थाल्थ्यो । दिउँसोतिर फर्माइस गीतहरूमा रमाउँथ्यो । राति ११ बजेतिर शास्त्रीय सङ्गीत सुन्दै मानिसहरू निदाउँथे । हप्ताको दुई दिन दाहाल यज्ञनिधिको साहित्य संसार हलो जोत्दै, भात पकाउँदै, घाँस काट्दै, बाटो हिँड्दै कविता र निबन्धहरूमा नाच्थ्यो । जम्मा एउटा मधुपर्क साहित्यिक मासिक थियो गोरखापत्र संस्थानबाट प्रकाशन हुने । त्यसले देशभरिको साहित्यिक दबाबलाई खप्नुपथ्र्यो । एक मात्र राष्ट्रिय दैनिक थियो गोरखापत्र । यो सरकारको मुखपत्र भएकाले यसमा सरकारका योजना, कार्यक्रम र सूचना मात्र हुन्थे । सरकारको आलोचना सुनिने कुनै प्रकारका विचार र समाचारले यसमा स्थान पाउँदैन थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रजातान्त्रिक चेत बोकेको मेरो मानसिकतामा जनमत सङ्ग्रहको परिणामपछि पनि कुनै विचलन आएको थिएन । बरु उमेर र अनुभव सँगसँगै त्यसमा अझ गहिरो अडान स्थापित हुँदै गइरहेको थियो । त्यस चेतलाई विद्रोहका रूपमा कवितामा उतार्दै गइरहेको बेला २०४० सालमा झापा चन्द्रगडीबाट तारा बरालको सम्पादनमा साप्ताहिक विचार नामको एक पत्रिका प्रकाशन हुन थाल्यो । केही नमुना अङ्कपछि नियमित प्रकाशन हुन थालेको त्यस पत्रिकामा शनिश्चरेबाट म पनि जोडिन पुगेँ ।
वैचारिक अडानका साथ व्यावसायिक पत्रकारितामा प्रवेश गरेका तारा बरालको, सुरुका केही अङ्कदेखि नै प्रशासनसँग टक्कर पर्न थालिसकेको थियो । त्यसबेला म शनिश्चरे माविमा अस्थायी शिक्षकका रूपमा कार्यरत भएकाले खुलेर पत्रकारिता गर्न सम्भव थिएन । त्यसैले नामलाई गोप्य राखी संवाददाताका रूपमा काम गर्न थालेँ । उतिबेलाको पत्रकारितामा पारिश्रमिकबारे सोच्नु वा सोध्नु अनौठो मानिन्थ्यो । हदै भए संवाददाताले आफूले खोजेका विज्ञापनबाट पाएको कमिसनमा चित्त बुझाउनुपर्ने हुन्थ्यो । त्यसबेला जिल्लामा त्यस्तो विज्ञापन दिने उद्योग नै के हुन्थे र ! चाडपर्व र राजारानीको जन्मोत्सवका शुभकामनाहरू पत्रिकाका विशेष आम्दानीका स्रोत हुन्थे । म भूमिगत संवाददाता भएकाले मैले विज्ञापन सङ्कलन गर्ने कुरा हुँदैनथ्यो । त्यसैले मेरो पत्रकारिता आत्मसन्तुष्टिका लागि मात्र थियो ।
समाचारहरूमा नामको सट्टामा हाम्रा संवाददाता लेखिएको भएपछि सम्पादकबाहेक मलाई पत्रकार भनेर अरूले चिन्ने कुरै थिएन । रिपोर्टिङ गर्दा ज्यादाजसो गाउँमा पञ्च नेताहरूबाट हुने अनियमिततालाई प्रमुख विषय बनाउँथेँ । पत्रिकामा ती खबर आएपछि समाचार कसले बनायो भनेर भित्रभित्रै खोजबिन हुनु स्वाभाविक हुन्थ्यो । धेरैका आशङ्काहरूका माझमा म पनि हुन्थेँ तर कसैले पनि तैँ होस् भनेर औँलो चाहिँ ठड्याएनन् । यस्तो भूमिगत पत्रकारितामा कहिलेकाहीँचाहिँ बडा बेस्वाद हुन्थ्यो जब आफूले पठाएको समाचारले सक्दो चर्चा पाउँथ्यो र चोकचोकमा मानिसहरू संवाददाताको प्रशंसा गरिरहेका हुन्थे ।
त्यही वर्षको असारदेखि भवानी घिमिरेको नेतृत्वमा झापाली युवाहरूको एक समूहले भोक कविता आन्दोलनको नाममा काव्य अभियानको थालनी ग-यो । त्यसमा हीरा आकाश, केशव आचार्य, अमृतलाल श्रेष्ठ, लक्ष्मण ढकाल, प्रकाश बुढाथोकी, दुर्गा दाहाल, डिकमान विरही, देवेन्द्रकिशोर ढुङ्गाना र कृष्ण धरावासी थियौँ । यस आन्दोलनले झापामा अनौठो लहर लिएर आयो । शालीन भाषामा लेखिएका कविताहरूमा अत्यन्त तीखो विद्रोहको स्वर हुन्थ्यो । यसबाट प्रशासनका नजर हामीतिर फर्किन थालेका थिए । झापाका अधिकांश साप्ताहिकहरूले भोक कविताको ब्लग बनाई नियमित रूपमा हाम्रा कविताहरू पालैपालो छाप्न थाले । ती कविताहरूले पाठकलाई फरक प्रकारले आकर्षण गर्न थाल्यो । पत्रिकाको सम्पादकीयमा भन्न नसकिएका कैयौँ विचार विम्बात्मक रूपमा हाम्रा कविताले भनिरहेका हुन्थे । यस समूहमा सक्रिय कविहरू बाम, प्रजातन्त्रवादी र पञ्च सबै विचारका थिए । विभिन्न विचारका युवा कविहरू एकै मञ्चमा भएकाले सायद प्रशासनलाई पनि केही गरिहाल्न सजिलो भएन होला ।
हामी कविहरू अधिकांश प्रत्यक्ष वा भूमिगत पत्रकार थियौँ । हीरा आकाश एक साप्ताहिकका सहसम्पादक थिए । अमृतलाल श्रेष्ठ राससका जागिरे पत्रकार थिए । केशव आचार्य र लक्ष्मण ढकाल विश्वदीप मासिक र शनिबार साप्ताहिकका परिचयपत्रधारी थिए । म साप्ताहिक विचारको अदृश्य । यसरी हाम्रो साहित्यिक र पत्रकारिताको यात्रा समानान्तर थियो ।
२०४३ सालदेखि कृषि विकास बैङ्कको जागिरे भएँ । फेरि पनि मैले पत्रकारितामा भूमिगत नै हुनुपर्ने भयो । त्यही सिलसिलामा २०४४ सालदेखि मैले साप्ताहिक विचारमै मुक्तपातो शीर्षकको एक स्तम्भ लेख्न लागँेँ । यस पातोमा यसअघि राजेश ढुङ्गानाले लेख्ने गरेका थिए । जब मैले यो स्तम्भ थालेँ, लेखकको नाम अव्यय राखेँ । नाम गोप्य राख्नुपर्ने मेरो बाध्यता थियो तर यस गोप्यताले आफ्नो लेखनको जस वा अपजस लिन नपाउँदा भने कहिलेकाहीँ नरमाइलो लाग्थ्यो । हरेक हप्ता म जिल्ला वा केन्द्रका समसामयिक राजनीतिक विषयमा कडा टिप्पणी गर्थें जसका नियमित पाठक बन्दै गएका थिए । पछि त मानिसहरूका आँखा पहिला मुक्तपातोमै पर्न थालेका थिए । चोकचोकमा ती लेखहरूको चर्चा हुन्थ्यो र म चुपचाप सुन्दै अगि बढ्थेँ । मेरो लेखन तथा पत्रकारिता जीवनमा साप्ताहिक विचार र मुक्तपातोको अत्यन्त ठूलो योगदान छ । यसले मलाई लेखनमा निर्भीक र सहासी हुन प्रेरित ग¥यो । कालान्तरमा मैले आफ्ना निबन्ध र गद्य लेखनमा ठूलो शक्ति सञ्चित भएको अनुभव गरेँ । यो स्तम्भ नियमित रूपमा २०५० सालसम्म लेखेँ । मेरा लेखहरूका कारण बेलाबेला सम्पादक सीडीओ कार्यालयमा स्पष्टीकरण दिन धाइरहन्थे तर उनले यस स्तम्भलाई भने कहिल्यै रोकेनन् । यसले मेरो गद्य लेखनमा धेरै मद्दत ग¥यो, जसका कारण म विस्तारै निबन्धहरू लेख्न थालेँ र पहिलो कृति नै निबन्धसङ्ग्रह बालक हराएको सूचना (२०४८) प्रकाशित भयो ।
२०४७ सालमा बहुदलको घोषणा भएपछि पहिलोपल्ट मैले मुक्तपातोको स्वामित्व लिएँ । त्योभन्दा अघि पाठकहरूले त्यसको लेखक पनि सम्पादक तारा बराल नै हुन् सम्झेका हुन्थे । त्यो खुलासा भएपछि आफ्नै वरिपरिका मानिसहरू पनि चकित भएका थिए, जो यो स्तम्भका नियमित पाठक तथा प्रशंसक थिए । पत्रकारिता मेरो पेसा थिएन किनकि त्यसबाट मलाई कुनै आर्थिक उपलब्धि हुँदैन थियो । तर मलाई लाग्थ्यो म जागिरेभन्दा बढी पत्रकार नै हुँ । बहुदल आएपछि साप्ताहिक विचारले मलाई परिचयपत्र बनाइदियो । त्यसैको आधारमा सूचना विभागबाट रातो कार्ड पनि पाएँ । अब म दर्तावाल पत्रकार थिएँ ।
२०४८ सालमा आइपुग्दा म एकै सातामा दुई पुस्तकहरू बालक हराएको सूचना र विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरू प्रकाशित गरी निबन्धकार र समालोचक बन्न पुगेँ । प्रजातन्त्र प्राप्तिपछि लेख्नका लागि डराउनु नपर्ने भयो । अनि म खुला रूपले आफ्नै नाममा विभिन्न पत्रिकाहरूमा साप्ताहिक स्तम्भ लेखन गर्न थालेँ । खुला विषयमा लेखिने यस्ता स्तम्भहरूमा म कहिले समसामयिक राजनीतिक व्यङ्ग्य, कहिले साहित्यिक सन्दर्भ वा बहसहरूमाथि कलम चलाउँथेँ । साप्ताहिक विचारबाहेक झापाबाटै प्रकाशित हुने मनकामना साप्ताहिक, रहर मासिक, जनज्योति साप्ताहिक, शनिबार साप्ताहिक आदिमा नियमित लेखेँ ।
२०५० सालमा रेडियो नेपालले पहिलो पल्ट राजधानीबाहिर आफ्ना प्रतिनिधि राख्ने भएपछि भरत भुर्तेल र पुरुषोत्तम दाहालको पहलमा झापा संवाददाताका रूपमा प्रवेश पाएँ । छ महिनाका लागि करारमा नियुक्त भएपछि दुई हप्ताको रेडियो तालिम लिएर झापा फर्किएको थिएँ । छापा पत्रकारिताबाट म पहिलोपल्ट आकाशवाणीमा प्रविष्ट भएँ । रेडियोमा बोल्ने सबैभन्दा ठूलो मानिस हो भन्ने लाग्थ्यो सधैँ । गाउँमा रेडियोबाट बोल्नेलाई सीडीओभन्दा पनि ठूलो होलाझैँ मान्थे । थाहै नपाई म जिल्लामा ठूलो भइसकेको थिएँ । नभन्दै प्रहरी, प्रशासन, राजनीतिकर्मी, व्यापारी, समाजसेवी सबैको आकर्षणको केन्द्र भएको थिएँ । अचम्म त के थियो भने जिल्लामा हुने निकै ठूलाठूला सभाहरूमा रेडियो नेपालको प्रतिनिधिका रूपमा विशेष प्रकारले मञ्चमै आसनग्रहण गराउँथे ।
म संवाददाता भएर झापा पुगेको बेला निर्वाचन क्षेत्र नं. एकमा तत्कालीन सांसद द्रोणाचार्य क्षेत्रीको निधन भएकाले उपचुनावको गर्मागर्मी थियो । यता राजधानीमा पनि मदन भण्डारीको निधन भएपछि उपचुनाव हुँदै थियो । झापामा दुई वकिलहरू कृष्णप्रसाद सिटौला र लीला उदासीका बीच कडा टक्कर थियो । काठमाडौँमा कृष्णप्रसाद भट्टराई र विद्यादेवी भण्डारीका बीच पनि उस्तै कडा प्रतिस्पर्धा थियो । निर्वाचनका यिनै दुई समाचारले त्यसबेलाका सबै सञ्चारमाध्यमहरू अत्यन्त व्यस्त भएको बेला मैले झापाबाट चौबीसै घण्टा अपडेट हुनुपर्ने थियो । आफ्नो बैङ्क जागिरलाई जोगाउँदै यो रिपोर्टिङ गर्नु मेरा लागि निकै कडा चुनौती थियो । तर मैले यो चुनौतीलाई सहजै पार लगाएँ । मसँगै नियुक्ति लिएका अन्य एघार जनामध्ये यही चुनावका कारणले म विशेष चर्चामा थिएँ । समाचारका लागि चुनावको अपडेट टिपाउनुबाहेक परिक्रमा कार्यक्रमका लागि भरत भुर्तेललाई र घटना र विचारका लागि पुरुषोत्तम दाहाललाई विशेष घटना विश्लेषणको टेलिफोन रिपोर्टिङ पनि गर्नुपर्ने हुन्थ्यो ।
पत्रकारिता सुरु गरेको दस वर्षपछि पहिलोपल्ट मैले पारिश्रमिकका रूपमा मासिक पन्ध्र सय र पारवहन खर्च चार सय गरी जम्मा उन्नाइस सय प्राप्त गर्न थालेँ । २०५१ सालमा नेकपा एमालेको सरकार बन्यो । अघिल्ला करार नियुक्तिहरूलाई निरन्तरता नदिँदा एक वर्षको रेडियो पत्रकारिता यात्राबाट म बाहिरिएँ ।
रेडियोमा एक वर्ष काम गरेको परिणामबाट मैले जुन सामाजिक सम्बोधन पाएँ, जुन प्रचारप्रसार पाएँ त्यसबाट मेरो राष्ट्रव्यापी पहिचान बन्न अत्यन्त सहज भएछ । पहाड, मधेश, हिमाल, तराई सबैतिर एकैसाथ सुनिने जम्मा यही त एउटा सञ्चारमाध्यम थियो । त्यसपछि मलाई साहित्यकार कृष्ण धरावासी बनेर चिनिन अरू समकालीन साथीहरूलाई भन्दा कता हो कता सजिलो हुँदै गयो । यसको सबैभन्दा ताजा उदाहरण बनेको थियो दाहाल यज्ञनिधिले साहित्य संसार कार्यक्रममा पढेको मेरो निबन्ध नारीभित्र त्यस्तो के छ हजुर ! त्यो निबन्ध रेडियोमा लगातार आठ पल्ट प्रसारण भयो । देश विदेश सबैतिर अत्यन्तै लोकप्रिय भएको त्यस निबन्धको प्रसारणपछि नै म खासमा निबन्धकारमा स्थापित भएँ । २०५३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले छापेको यही पुस्तकलाई उत्तमशान्ति पुरस्कार पनि प्राप्त भएको थियो ।
रेडियो संवाददाताका रूपमा मेरो विशेष पहिचानपछि केन्द्रका पत्रिकाहरूको आँखामा म पर्दै गएँ । गोरखापत्र, नेपाल समाचारपत्र, कान्तिपुर, स्पेसटाइम आदिहरूमा कतै नियमित तथा कतै विशेष विचारलेखकका रूपमा प्रकाशित हुन थाले । यसबाट ममा कुनै पनि समसामयिक सन्दर्भमाथि विश्लेषण गर्ने अभ्यास बढ्न थाल्यो । कविता लेख्न मन पराउने म अब लेख, निबन्ध, समालोचना, कथा, उपन्यासतिर उक्लिन थालेको थिएँ ।
माओवादी जनयुद्ध सुरु भएपछि जिल्लाका कैयौँ पत्रपत्रिकाहरू औपचारिक मात्र हुन थाले । तिनमा छापिने विषयहरू पनि पञ्चायत कालमा प्रशासनको डरले चाउरिएका जस्तै हुन थाले । सम्पादकहरूले हरेक स्तम्भको सिरानमा यहाँ प्रकाशित विचारमा लेखक आफैँ जवाफदेही रहनेछन् भन्ने छाप्थे । म आफ्नो लेखनमा विचार राख्न अलिक कठोर नै हुन्थेँ तर कहिल्यै पनि कसैले त्यसबारेमा कुनै गुनासो वा धम्की दिएनन् । वास्तवमा सम्पादकहरू आवश्यकताभन्दा बढी डराएका हुन्थे ।
२०५९ साल असोजमा झापाकै पहिलो एफएमका रूपमा विर्तामोडमा कञ्चनजङ्घा एफएम सुरु भयो । प्रबन्ध निर्देशक चन्द्र भण्डारी रहेको त्यसमा प्रतिष्ठित समाजसेवी, व्यापारी र बुद्धिजीवीहरूको सहभागिता थियो । म पनि यसैमा आबद्ध भएँ । हप्ताको दुई पल्ट प्रसारण गर्ने गरी हाम्रो साहित्य नामको कार्यक्रम सुरु गरेँ । यसमा सहयोगी थिइन् लीला अनमोल । यो कार्यक्रम लगातार पाँच वर्ष चलाएँ ।
२०६२ सालमा राधा उपन्यासले मदन पुरस्कार पाएपछि मेरो जागिर मुख्य कार्यालय काठमाडौँमा सरुवा भयो । लीला अनमोललाई त्यो कार्यक्रम जिम्मा लगाएर राजधानी पसेँ । काठमाडौँ आएपछि भरत भुर्तेलले सञ्चालन गरिरहेको क्यापिटल एफ एममा सम्लग्न भएर पुस्तक संसार कार्यक्रम सुरु गरेँ । यसमा सहयोगीका रूपमा थिइन् तुलसा पाठक । यो कार्यक्रम पनि दुई वर्ष चलाई तुलसालाई नै जिम्मा लगाएँ ।
मुख्य कार्यालयबाट नियमित रूपमा प्रकाशित हुन्थ्यो समष्टि साहित्यिक द्वैमासिक । मलाई त्यही पत्रिकाकोे सम्पादन गर्ने जिम्मेदारी थियो । यो पत्रिकाको चार वर्ष कार्यकारी सम्पादक भएर २०६७ सालमा जागिरबाट स्वेच्छिक अवकास लिई पूर्णकालीन लेखनमा गएँ । त्यसपछि पनि पत्रकारिताको तलतलले छोडेको रहेनछ । २०७५ भदौदेखि २०७७ भदौसम्म ठाकुर बेलबासेको अनुरोधमा दुई वर्ष लीलाबोध कार्यक्रम सञ्चालन गरेँ । यसबाट करिब एक सय चौबीसवटा कार्यक्रम प्रसारण भए । ती सबैलाई पछि मैले आफ्नै युटयुब च्यानलमा अपलोड गरेको छु । पत्रकारिता यात्राको यहीबीचमा शरणार्थी, आधाबाटो, झोला, राधालगायत उनन्तीसवटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । सिर्जनाबाहेक विभिन्न प्रकारका अन्य एक्काइसवटा कृतिहरूको सम्पादन गरेँछु ।
रेडियो नेपालमा पारिश्रमिक पाउने गरी नियुक्ति पाएको एक वर्षको सेवाबाहेक पत्रकारितालाई मैले कहिल्यै पनि विशेष आयमूलक बनाइनँ । बैङ्कमा अलग्गै स्थायी जागिर भएकाले पनि मलाई त्यसको खाँचो परेन होला । तर सामान्यतया पछिल्लो कालमा पत्रपत्रिकामा लेखहरू लेखेबापत लेखकस्व भने पाउने गरेँ । त्यसबाट मलाई निकै आर्थिक टेवा पुगेको थियो । मूलतः साहित्यकार भनेर चिनिए पनि साहित्य नपढ्नेहरूले पत्रकार नै भनेर चिन्थे र आज पनि चिन्ने गर्छन् ।
पत्रकारिता भनेको स्वस्थ मानिसमा बगिरहेको रगत जत्तिकै महìवपूर्ण हुन्छ तात्कालिक समाज र राज्यका लागि । समग्र देश नै आफ्ना आँखा र कान रेडियो र अखबारमा ओच्छ्याएर बसेको हुन्छ हरेक क्षण । पत्रकारिता नहुनु भनेको चेतनाका समग्र ढोकाहरू बन्द हुनु हो । निरङ्कुशता र तानाशाहीको साम्राज्य स्थापित हुनु हो । अत्याचारको आकाशमा कोलाहलको मौनता स्थापित हुनु हो ।
प्रजातन्त्र, मानव अधिकार र सामाजिक न्यायको आकाशमा हरेक बिहान झुल्किने घाम भनेकै पत्रकारिता हो । यो हरेक कमजोरहरूको जिब्रो हो । हरेक सूचनाको संवाहक हो । यो सबै काल र युगमा हरेक सत्ताको प्रतिपक्ष हो । त्यसैले जनताको आवाज हो ।
वल्लो बारुदको थुप्रोमाथि उभिएर पल्लो युद्धमोर्चाको दृश्य खिचिरहने, सातपत्रमुनि दबाइएको रहस्यको बाकस खोतलेर निकाल्ने, षड्यन्त्रका डरलाग्दा वाटर गेट काण्डहरूलाई खुलासा गर्ने, यो मानवचेतनाको सूर्य हो ।
म ती छायाकार, संवाददाता र सम्पादकहरूलाई नमन गर्छु, जसले अत्यन्त थोरै पारिश्रमिकमा हरेक क्षण आफ्नो प्राणलाई सङ्कटमा हालेर जुधिरहेका हुन्छन् । सुरुमा रहरले लागे होलान् अब यो उनको प्रतिष्ठा र लत बनेको छ ।
मैले त सुविधाको पत्रकारिता गरेको थिएँ, जीविकाकै लागि पत्रकारिता गर्नेहरूको अवकाश जीवन देखेर मलाई आज पनि विरक्त लाग्छ ।