व्याकरणमा सर्वनामलाई नामिक वर्ग अन्तर्गतकै शब्द मानिन्छ । नामस्थानिक (नामको ठाउँ लिने) भएकाले पनि सर्वनामलाई यसो भनिएको हो । नामस्थानिक त विशेषण पनि हुन सक्छ तर त्यस स्थितिमा विशेषणले पनि नामकै काम गरेको हुनु आवश्यक छ । यसरी सर्वनाम नामको सन्दर्भक बनेर आउने भएकाले संवाद, अझ जुनसुकै सङ्कथनको शृङ्खला जोड्न अथवा कथन अवधारणाका अंशहरूलाई पूर्वापर रूपमा संयोजन गर्न यसको उपयोग गरिन्छ । अझ सर्वनाम मात्र होइन, यसबाट बनेका सार्वनामिक शब्दहरू (जुन विशेषण र व्रिmयायोगी बनेर वाक्यमा देखिन्छन्) ।
सर्वनाम : सबैको नाम
सर्वनाम अन्तर्गत नाम र तत्सम्बन्धी सबै शब्द अटाउँछन् । त्यसैले सर्वनामलाई सबैको नाम पनि भनिन्छ । यसलाई सट्टेनाम भनेर पनि चिनाइन्छ । किनभने नामको साटोमा यसको प्रयोग हुन्छ । जस्तै; क) राम खाटमा बस्यो । ख) उसले त्यसमा गलैँचा ओछ्याएको छ ।
पहिलो वाक्यमा भएका नाम र तत्सम्बन्धी खाट शब्दको साटोमा दोस्रो वाक्यमा क्रमशः उसले र त्यसमा आएका छन् । यिनले कथनको शृङ्खलालाई सोही शब्दको सन्दर्भक बनेर कार्य गरेको स्पष्ट देखाउँछन् । सबै सन्दर्भमा नामले काम चल्ने भए पनि भाषामा सर्वनामको विकास हुनुका पछाडि संवाद तथा सङ्कथनमा बारम्बार नामलाई पुनरावृत्ति गर्दा हुने असजिलोपन कम गर्न पनि सर्वनाम आवश्यक भएको बुझ्न सकिन्छ । सर्वनामलाई सन्दर्भ निर्देश गर्ने शब्द मानिन्छ । “म घर जान्छु” भनियो भने मबाट जनाइने वक्ता को हो त ? जसले यो वाक्य बोल्छ, त्यही हो । त्यस्तो वक्ता राम, श्याम, सीता, विमला जो पनि हुन सक्छ । “तिमी घर जान्छौ” भनियो भने सम्बोध्य व्यक्ति श्रोता रहेको बुझिन्छ । यस्तै ऊ, त्यो, यो, उनी, तिनी आदिले जसको विषयमा कुरा हुँदै छ, त्यसैलाई दर्साउँछन् । यसरी यस्ता शब्द जसका सन्दर्भमा आएका हुन्छन्, तिनले त्यसैलाई जनाएका हुन्छन् ।
एउटा विचारणीय कुरा के छ भने सर्वनामले नामको कार्य गर्छ तर नामले भने सर्वनामको जस्तै कार्य गरेको हुँदैन । यसको कार्य केही भिन्न खालको नै हुन्छ । नामको साटोमा सर्वनामको प्रयोग हुन्छ त भनिए पनि यसको अलग्गै महìव रहेको पनि टड्कारो देखिन्छ । वास्तवमा संवादमा म, हामी, तँ, तिमी, तपाईं आदि शब्दको प्रयोग नामको पूर्व उपस्थिति नहुँदा पनि भएको हुन्छ । त्यसैले सर्वनाम सबै नामको सन्दर्भक भए पनि यसको प्रयोग नामभन्दा अलग सन्दर्भमा आएको पनि स्पष्ट देखिन्छ । जस्तै; म दाल, चामल, तरकारी किनेर ल्याउँछु । तिमी पकाऊ । उसले सघाउँछ । हामी सँगै बसेर खाउँला ।
यस सङ्कथनमा कुनै नामको साटो सर्वनाम आएको छ भन्नु आवश्यक छैन । नामलाई उपस्थित नगराई म, तिमी, ऊ, हामी आदि सर्वनामको प्रयोग हुन सकेको पनि पाइन्छ । यस्तै एकालाप वा वर्णनात्मक सङ्कथन (कथा आदि) मा पनि कुनै पात्रलाई तृतीय पुरुषका रूपमा मात्र नभई प्रथम पुरुष वा द्वितीय पुरुषका रूपमा पनि प्रस्तुत गरिन्छ । यसलाई तृतीय पुरुष दृष्टिविन्दु वा तृतीय पुरुष शैली, द्वितीय पुरुष दृष्टिविन्दु वा द्वितीय पुरुष शैली वा प्रथम पुरुष दृष्टिविन्दु वा प्रथम पुरुष शैलीमा प्रस्तुत गरिने विकल्प प्राप्त हुन्छ ।
सर्वनाम : मानवीय र मानवेतर सन्दर्भ
वक्ता र श्रोताले मानवीय सन्दर्भ मात्र ओगट्छन्, मानवेतर (चेतन र अचेतन) सन्दर्भ लिँदैनन् । भलै मानवेतरलाई पनि मानवीकरण गरेर प्रस्तुत गरिनु अर्कै कुरा हो । संवादमा प्रथम र द्वितीय पुरुष सक्रिय हुन्छन् तर तृतीय पुरुष निष्क्रिय हुन्छ अर्थात् तृतीय पुरुष संवादमा सरिक हुँदैन । तृतीय पुरुषमा पनि यो, त्यो, ऊ, यिनी, तिनी, उनी, यहाँ, उहाँ जस्ता सर्वनाम उपयोगमा आउँछन् । तृतीय पुरुषको खोपामा समग्र कथ्य विषय समेटिने हुँदा यसको क्षेत्र विषयगत दृष्टिले असीमित हुन्छ । यसरी वक्ता र श्रोताको भूमिकामा रहने प्रथम पुरुष (म, हामी) र द्वितीय पुरुष (तँ, तिमी, तपाईं, हजुर) भन्दा विषयको भूमिकामा रहने तृतीय पुरुषले व्यापक क्षेत्र ओगटेको हुन्छ । यसको आशय हुन्छ, प्रथम र द्वितीय पुरुषबाहेक जे जति सर्वनाम छन् ती सबै तृतीय पुरुषकै सन्दर्भक बन्न पुग्छन् । यसमा वक्ता र श्रोताबाहेकका सबै विषय पर्ने हुँदा चेतन र अचेतन सबै सन्दर्भ समेटिएको देख्न सकिन्छ । त्यसैले तृतीय पुरुषका सर्वनामको भूमिका प्रथम पुरुष (म, हामी) र द्वितीय पुरुषकोभन्दा स्पष्टतः भिन्न हुन्छ । तृतीय पुरुषलाई अन्य पुरुष पनि भनिन्छ । तृतीय पुरुषले सम्पूर्ण चराचर जगत्लाई विषय बनाउने हुँदा यसमा सन्दर्भ अनुसार यो, त्यो, जो, जे, को, के जस्ता सर्वनाम अटाउँछन् । यसको इयत्ता प्रथम र द्वितीय पुरुषको जस्तो निश्चित सन्दर्भको देखिँदैन ।
आत्म बोधक सर्वनाम
संवाद वा सङ्कथनमा पुरुष वाचक सर्वनाम मात्र सन्दर्भ निर्देशक भएर आउने होइनन्, अन्य सर्वनामहरू पनि खास खास सन्दर्भमा आआफ्नो कार्य अनुसार सन्दर्भ निर्देशकका रूपमा देखिन्छन् । यिनमध्ये आत्मबोधक आफू सामान्य सर्वनामका रूपमा मात्र नभएर सर्वनामहरूको पनि सर्वनामका रूपमा देखा पर्छ । जस्तै; राम आफू पढ्छ, अरूलाई पनि पढाउँछ ।
यसमा आफू सर्वनामका रूपमा भए पनि कतिपय प्रयोगमा यो सर्वनामको पनि सर्वनाम बनेको हुन्छ । यो मानवीय सन्दर्भमा प्रथम, द्वितीय र तृतीय सबै पुरुषवाचक सर्वनामको सन्दर्भक हुन पुग्छ । जस्तै; म आफूलाई कसरी सम्झाऊँ ? तिमी आफूलाई असल ठान्छौ । उसले आफूलाई सुधारेको छ । कोही आफूलाई कमजोर सम्झँदैन । प्रत्येकले आआफ्नो जिम्मेवारी वहन गर्नु पर्छ । वास्तवमा प्रथम र द्वितीय पुरुषबाहेकका सबै सर्वनाम मुख्यतः तृतीय पुरुष सन्दर्भक नै हुन्छन् । यसरी आत्मबोधक सर्वनामको प्रयोग सन्दर्भको विस्तारलाई हेरेर यसलाई महासर्वनाम पनि भनिन्छ ।
सम्बन्ध बोधक सर्वनाम
एक त सबै सर्वनाम खास वाक्यमा नाम, विशेषण, क्रियाले व्यक्त गर्ने खास अवधारणाको गुम्फनका लागि आफैँ योजक जस्ता त हुन्छन् नै तर जो, जे, जुन र यसबाट व्युत्पादित सार्वनामिकहरूले उपवाक्यीय योजक भएर आएमा चाहिँ यिनलाई सम्बन्ध बोधक भनिन्छ । जस्तै;
जसलाई मैले साथी बनाएँ, ऊ भरपर्दो छ । जहाँ दाइ गए, त्यहाँ भाइ गएन । यसरी सम्बन्ध बोधक सर्वनाम र तत्सम्बन्धी सार्वनामिकहरू पनि आत्मबोधक सर्वनाम महासर्वनाम बने जस्तै कतिपय स्थितिमा महायोजक जस्ता देखिन जान्छन् । अनिश्चित स्थिति जनाउँदा भने योजकत्व त जनाउन सक्छन् तर त्यस स्थितिमा यिनीहरू सम्बन्ध बोधक जस्ता चाहिँ देखिँदैनन् । जस्तै; जो भए पनि हुन्छ । उसलाई जे खाए पनि पच्छ । रामलाई जुन दिए पनि हुन्छ । जति दिए पनि उसलाई पुग्दैन । जहाँबाट पनि देखिन्छ ।
नेपालीमा कतिपय अवस्थामा को, के, कुन सर्वनाम र तत्सम्बन्धी सार्वनामिकहरू प्रश्नवाचक सन्दर्भमा मात्र नभई सम्बन्धबोधक बनेर पनि प्रयोग भएका देखिन्छन् । जस्तै;
उसले के भन्यो, त्यो मलाई थाहा भएन । (तुलनीय : उसले जे भन्यो, त्यो मलाई थाहा भएन ।)
तिमीलाई कुन चाहिन्छ, त्यो लेऊ । (तुलनीय : तिमीलाई जुन चाहिन्छ, त्यो लेऊ ।)
घरमा को छ, उसलाई सोध । (तुलनीय : घरमा जो छ, उसलाई सोध ।)
उसले कस्तो चाह्यो, त्यस्तो ल्यायो । (तुलनीय : उसले जस्तो चाह्यो, त्यस्तो ल्यायो ।)
ऊ कसरी काम गर्छ, त्यसरी म गर्न सक्दिनँ । (तुलनीय : ऊ जसरी काम गर्छ, त्यसरी म गर्न सक्दिनँ ।)
सर्वनाम : संरचनात्मक वर्गमा
उल्लिखित दृष्टिले सर्वनाम नाम, विशेषण जस्तो धारणा जनाउने शब्द होइन । यसले वाक्यमा आएको नाम वा खास कथनको सन्दर्भ दर्साउने वा कथन सिलसिलालाई गुम्फन गर्ने काम मात्र गरेको हुन्छ । त्यसैले यसलाई नाम, विशेषण आदि जस्तो धारणा जनाउने वर्गमा नराखी संरचनात्मक वर्गमा राखिन्छ । यस्ता संरचनात्मक वर्गका शब्दहरूमा नामिक वर्ग अन्तर्गत पर्ने सर्वनाम मात्र होइन, अव्यय वर्ग अन्तर्गत पर्ने संयोजक, नामयोगी, निपात, विस्मयादि बोधक पनि पर्दछन् । यस्ता शब्दले सङ्कथनमा अभिव्यक्त अर्थ वा अवधारणाको तालमेल तथा जोडबल मिलाउन सहयोग गरेको देखिन्छ ।
सार्वनामिक शब्दहरू
सर्वनाम मात्र नभई यसलाई आधार तìव मानेर बनेका सर्वनाम वा विशेषण तथा क्रियायोगी शब्दहरू (जस्तै; मेरो, हाम्रो, तिम्रो, त्यसको, यसको, आफ्नो...), व्युत्पादित शब्दहरू (जस्तै; कोही, केही, कुनै, जोसुकै, जेसुकै, जुनसुकै, यस्तो, यत्रो, त्यस्तो, त्यत्रो, जस्तो, जस्तै, जत्रो, कस्तो, कत्रो, यति, त्यति, उति, कति, जति, यहाँ, यता, यसो, यसरी, अहिले, त्यहाँ, त्यता, त्यसो, त्यसरी, तब, तहिले, उहाँ, उसो, उसरी, उहिले, कहाँ, कता, कसरी, कसो, कहिले, जहाँ, जता, जसरी, जसो, जब, जहिले) ले पनि सन्दर्भ निर्देशकै कार्य गरेका वा त्यस्तो भूमिका लिएका हुन्छन् ।
सर्वनाम : वाक्यान्तरिक र अन्तरवाक्यीय
वाक्यान्तरिक भएर आउने सर्वनाम तथा सार्वनामिकहरू खास वाक्यभित्रकै अन्य शब्दको सन्दर्भक बनेका हुन्छन् भने अन्तरवाक्यीय सन्दर्भमा आउने यस्ता शब्दहरूले भने खास नाम वा नामिक शब्दको मात्र नभई खास कथन अंश वा अनुच्छेदको सन्दर्भकको काम गरेको हुन्छ । जस्तै; नेपालका कुना कन्दरा घुमियो । यसका उकाली ओराली, हिम शिखर, खोँच, खोला, नदी, ताल, फाँट, मैदान जताततै पुग्दा एक किसिमको रमाइलो अनुभव हुन्थ्यो । नयाँ ठाउँमा पहिलो पटक घुम्दा हुने रोमाञ्चले आफूलाई अझ तिखारिने अवसर मिल्थ्यो । कति ठाउँमा त सधैँ त्यहीँ बसौँ बसौँ लाग्थ्यो । हिम शिखरको चमक, खोलाको छङछङ, नदीको लहरभित्र लयबद्ध भइन्थ्यो । यस्तो सुन्दर देशमा हुर्केर बढेर पनि हामी कतै मरुभूमितिर हराउन थालेका त होइनौँ ? आफैँलाई सोध्न मन लाग्छ ।
उल्लिखित कथनमा प्रयुक्त यसका, जताततै, आफू, कति, त्यहीँ, जस्तो, यस्तो, हामी, कतै, आफैँ जस्ता शब्दले यसमा अभिव्यक्त अवधारणालाई कतै वाक्यान्तरिक र कतै अन्तरवाक्यीय स्थितिमा आएका सर्वनाम तथा सार्वनामिकहरूले सघाएको देख्न सकिन्छ ।
मधुपर्क