जनार्जन खत्री
सर्लाही, कात्तिक ४ गते । सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला परेकी छन् ।
धनकौल गाउँपालिका–५, हरकठवा बस्ने दिनकर साहकी ११ वर्षीया छोरी सोनीकुमारी साह असोज ३० गते दिउँसोदेखि खोलाले बगाएर बेपत्ता भएकी थिइन् । सोनीकुमारीलाई नुहाउन गएका बेला धनकौल गाउँपालिका–३, बाट मनुष्मारा खोलाले बगाएको थियो ।
बालिकालाई बगाएको स्थानबाट १० किलोमिटर दक्षिण रामनगर गाउँपालिका–७, पछियारी टोल नजिक मनुष्मारा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खोलाले बगाएर बेपत्ता बालिकालाई खोजी गर्न असोज ३१ गते र कात्तिक १ गते सशस्त्र प्रहरी बल नेपालको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोलीसमेत आएको थियो ।
दुई दिनसम्म खोजी गर्दा पनि बालिकाको अवस्था पत्ता नलागेपछि सशस्त्रको गोताखोर टोली कात्तिक १ गते साँझ बर्दिवास फर्किएको थियो । मङ्गलबार बिहान खोलाको पानीमा घोप्टो परिरहेको अवस्थामा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सोनीकुमारीका दाई चन्दन साहले शव फेला परेको स्थानमा आएर मृतकको सनाखत गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । डिएसपी
राईका अनुसार मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।