• ९ मंसिर २०८१, आइतबार

क्रियाशील शब्दशिल्पी

blog

सहर यसका गल्ली र सडकहरू उत्तिकै साँगुरो छ । कस्सिएर हिँड्नेका लागि कहीँबाट कहीँ पुग्न पनि आधा घण्टा लाग्दैन । विमानस्थल त्यहीँ छ र पशुपतिनाथ पनि त्यहीँ छन् । तर पनि यस्तो लाग्छ– काठमाडौँ टाढाटाढासम्म फैलिएको छ र साह्रै विस्तृत छ । किनभने काठमाडौँको दूरीलाई समयले नाप्दैन, थकाइले नाप्छ । यहाँ जो पनि  आउँछ, त्यो थाक्छ । थकाइ यस सहरको स्थायी रोग हो । 

यही सहरमा जीवनको सात दशक बिताउनुभएका किशोर नेपाल थाक्नुभएको छैन, स्थायी रोगबाट टाढै हुनुहुन्छ, उहाँकै सहरमा । आफ्नै निबन्ध (यो काठमाडौँ, हामो काठमाडौँ)मा भनेजस्तो । निरन्तर क्रियाशील किशोर नेपालको अलग चिनारी । यही क्रियाशीलताभित्र अटाएका छन् साहित्य, पत्रकारिता, साहित्यिक पत्रकारिता । ७२ वर्षको उमेरको सँघार टेक्दै गरेका उहाँ, उहाँकै कार्यालयको सँघार टेकेर उभिएको छु यतिखेर किशोर नेपाललाई गरिने सम्बोधनमा स्पष्ट हुन । उहाँ साहित्यकार कि पत्रकार ? निरन्तर यी दुवै क्षेत्रमा सिर्जनशील बनेर बिताएका ५६ वर्षहरूमा यस्ता प्रश्नको उत्तर दिन उहाँ अघि सर्नुहुन्न, सायद आफ्नै योगदान र सिर्जनाका बारेमा आफैँले के भन्ने लाग्दो पनि होला । समष्टिमा उहाँ दुवै हो । दुवैमा उत्तिकै पोख्त ।

उहाँको व्यक्तित्व र योगदानले पनि यसै भन्छ । शब्दमै जीवन बिताउने शब्दशिल्पी भनेर सम्बोधन गर्न मन लाग्छ एकमुष्ठ रूपमा । चिन्ताका क्षणहरू नामक निबन्ध सङ्ग्रह पढ्नेहरूका लागि उहाँ सशक्त निबन्धकार हो, अर्कै प्रस्तर पढ्नेहरूका लागि उहाँ सफल कथाकार हो । आफैँलाई चित्त नबुझ्ने कथा पाठकसमक्ष पस्केर त्यसको तुक नदेख्ने उहाँले पछिल्ला समय कथा लेखनमा त्यति जाँगर चलाउनुभएन । उपन्यास र अनुवादका कृतिका कुरा त छँदैछन् । पत्रकारितामा बढी समय दिन थालेपछि साहित्यकार किशोर नेपाल केही समय साहित्यबाट हराएजस्तै हुनुभयो । केही समय मात्र हो, त्यसपछिका समयमा उहाँका मेरो समय, शक्तिको अवतरणलगायत निबन्धका कृतिहरू प्रकाशित भए ।

यसै मेसोमा जोड्नुपर्ने हुन्छ पाताल र सहरको कथा उपन्यासलाई पनि । लघु उपन्यास रङ्ग मण्डल पनि प्रकाशमा आइसकेको हो पहिले नै । एउटा लेखक नलेखी कसरी बस्न सक्छ र ? उहाँ पनि बस्नुभएन प्रकाशनमा केही सुस्ताएको चाहिँ पक्कै हो । मेरो समय यसैको साक्षी हो । साहित्यका विविध विधामा कलम चलाए पनि उहाँको लेखन निबन्धमै चुलिएको छ । निबन्धकै बारेमा उहाँका धारणाहरू बढी सार्वजनिक भएका छन्, निबन्धमै उहाँ बढी खुलस्त हुनुभएको पनि छ । साढे तीन दशकअघिको भेट सम्झँदै छु म, बत्तीसपुतलीस्थित उहाँकै निवासमा । त्यतिखेरको संवाद पनि निबन्धमै केन्द्रित थियो– नेपाली गद्य साहित्यमा आफ्नो कीर्ति स्थापना गर्ने अभीष्ट राखेरभन्दा मैले आफ्ना पारिवारिक चिन्ताका समस्या मन र मस्तिष्कको स्वच्छताका लागि निबन्धहरू लेखेँ । 

किशोर नेपालको किशोर अवस्था नै हो उहाँको जीवनको उकाली ओराली  । पाँच वर्षको उमेरमा बाबु गुमाएपछि आइपरेका आर्थिक समस्या, साहित्य लेखन र पत्रकारिताको थालनी किशोरवयकै सेरोफेरोमा भए । कविता लेखेर थालिएको साहित्य यात्रामा पहिलो पारिश्रमिक दस रुपियाँ खल्तीमा हालेर गजक्क परेका दिनदेखि आजसम्मको दिनमा थचक्क बसेको पनि सायदै होला । दौडादौडको जीवन, रहरलाग्दो, आरिसै लाग्ने सक्रिय जीवन बाँच्नुभएको छ उहाँले । छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता, अनलाइन पत्रकारिता सर्वत्र काम गरेको अनुभव सँगालेको उहाँले १८ वर्षको उमेरमै पत्रकारिताको थालनी दिनमानको संवाददाता भएर गर्नुभयो । १५ वर्षसम्म त्यसैमा संलग्न हुनुभयो । गोरखापत्र, नागरिक, कान्तिपुर, नयाँसडक, ब्रोडसिट कमै होलान् उहाँले नेतृत्व नलिएको । देशान्तर साप्ताहिकको इतिहास र उहाँको योगदान कसले बिर्सन सक्ला र ? स्तम्भकारका रूपमा पनि त्यत्तिकै क्रियाशील । युवा उमेरमा गोरखापत्रमा हाम्रा गाउँघर लेखेर अघि बढेको विगत कान्तिपुर गाथासम्म आइपुग्दा धेरै पढिने र लोकप्रिय स्तम्भकारको चिनारी बनिसकेको छ उहाँको । 

साहित्यमा पत्रकारिताको फ्युजन गरेर लेख्न सक्ने साहित्यकारको चिनारी, पत्रकारितामा पनि साहित्यिक मिठास दिन सक्ने छवि बनेको छ । साहित्यबाट अलि टाढिएर पत्रकारितासँग नजिकिएको जस्तो देखिए पनि साहित्यसँगको साइनो उस्तै छ ।  

म पत्रकारितामा पनि साहित्य लेख्छु । लेखन निरन्तर छ, छापिन मात्र कम भएको हो । तपाईं नढाँटी भन्नुस् त साहित्य पहिलेजस्तो छ त अहिले ? पछिल्ला समय मलाई त्यति जाँगर पनि चलेको छैन । लेखन बलजफ्ती लेखेर हुँदैन । अद्भुत बनाउँछु भनेर कुँदी कुँदी कहिल्यै लेखिनँ आफूलाई लागेको र देखेको, अनुभूत गरेका कुरा सर्सती लेखेको हुँ । चिन्ताका क्षणहरूकै सन्दर्भमा मेरा पाठक, समीक्षकजस्तै म पनि सन्तुष्ट छु ।

कविता लेखेर (२०२४ को लुम्बिनी सन्देश) साहित्यमा आउनुभयो, कविता लेख्न कम गर्नुभएको हो ? 

बत्तीसपुतलीस्थित उहाँकै कार्यालयमा छौँ हामी । त्यही थलोले दिन्छ उहाँको क्रियाशीलताको उदाहरण । पत्रकारितामा क्रियाशील भए पनि साहित्यमा अलि सुस्ताएको हो कि भन्ने चासो हो मेरो । कविता लेख्छु भनेर लेख्ने हो भने त्यो कवितै हुँदैन । कविता त स्फुरण हुनुपर्छ अनि पो लेखिन्छ कविता । कविता फुटकर रूपमा प्रकाशमा आइरहेका छन् । सङ्ग्रह निकाल्नेचाहिँ जाँगर छैन ।  पुख्र्यौली थलो नुवाकोट भए पनि काठमाडौँको खिचापोखरीमा बस्थ्यो उहाँको परिवार, त्यतिबेलाको समयमा जान्नेबुझ्नेले छोरै जन्मन्छ भनेर लख काटेपछि उहाँलाई जन्माउनकै लागि उहाँकी आमालाई ओलिनकाठमा चढाएर झिल्टुङ, नुवाकोट लगेको केही समयमा उहाँको जन्म भयो विसं २००९ मा । 

अहिले साहित्य साहित्यजस्तो छैन, पत्रकारिता पत्रकारिताजस्तो लाग्दैन उहाँलाई र पनि जोडिनुभएको छ उहाँ यी दुवै क्षेत्रमा । यी दुवै क्षेत्रले दिएको नाम र दाम नै जीवनको मूल काम बनेको छ । झुत्रे भनेर सुरुवाती दिनमा लेख्ने किशोर नेपाल टिपटप भएर हिँडेर कलमका माध्यमबाट चिनिएको पनि धेरै भइसक्यो । बाबुको निधनपछि आइपरेका घरायसी समस्या र आर्थिक उपार्जनका लागि किशोरावस्थामै जीवन धान्ने पेसा बन्न पुग्यो पत्रकारिता । बालक पत्रिकामा पहिलो कविता  छापिएपछि पाएको दस रुपियाँ खल्तीमा बोकेर साढे दुई रुपियाँको नयाँ कमिज सिलाएको आफ्नै विगत सम्झिँदा पनि रोमाञ्चित बनिदिनुहुन्छ उहाँ । समय सधैँ एकनास कहाँ रहन्छ र ? पत्रकारिता र साहित्यले चुलिएको व्यक्तित्व प्रधानमन्त्रीको प्रेस सल्लाहकार, गोरखापत्रको महाप्रबन्धक, नेपाल टेलिभिजको अध्यक्ष, पत्रकार महासङ्घको सभापति भएर पनि  बिते । 

साहित्यबाट थालिएको यात्रामा पत्रकारिता मिसिन पुगेपछि किशोर नेपालको पहिचान पत्रकारितामा बढी चुलिँदै गयो । कुनै बखत चिन्ताका क्षणहरू, अर्कै प्रस्तरजस्ता निबन्ध र कथाका कृतिबाट यी दुवै विधामा नाम कमाउने उहाँ साहित्यकारभन्दा पत्रकारका रूपमा बढी क्रियाशील बन्नुभयो ।  

साहित्य र पत्रकारितामा पहिलेजस्तो चार्म खेख्नुहुन्न । “पत्रकारितालाई व्यावसायिकको नाममा असरल्ल पारिएको छ, मिसन त हुनुप-यो नि । १२३ वर्षको गोरखापत्रले व्यावसायिक बन्न अझै सकेको छैन, शब्द मात्र क्वाइन गरियो, यथार्थमा हाम्रो पत्रकारिता व्यावसायिक बन्न सकेको छैन ।” थकाइलाई स्थायी रोग बनाएको यही सहरको कथाव्यथामा चासो राख्ने उहाँ भन्नुहुन्छ– म पनि थाकिसकेँ । पहिलेजस्तो चाँडै उठ्न सक्तिनँ, राति ढिलोसम्म बसेर काम गर्न सक्दिनँ । यो त उहाँले भन्ने कुरा हो, हामीले देखेको र चिनेको किशोर नेपाल क्रियाशील व्यक्तित्व जसको जीवन शब्द साधनामै बित्यो, अहिले पनि शब्द साधनामा रमाइरहनुभएको छ । शब्दसँग खेल्न रुचाउने उहाँ लेखनलाई रोमान्स ठान्नुहुन्छ र पाठकलाई रोमाञ्चित पार्नुहुन्छ र त किशोर नेपालको अलग र सम्मानित चिनारी बनेको छ साहित्यमा, पत्रकारितामा ।